सुरक्षा रणनीति बनाउँदै निर्वाचन आयोग

द्वारा प्रकाशित गरिएको हो |
August 22nd, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि सेवानिवृत्त सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा रणनीति बनाउन सरकारलाई सुझाव दिएको बताएका छन् । गत आइतबार निर्वाचन आयोग, नेपालले आयोजना गरेको सम्पादकहरूसँगको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले सेवानिवृत्त भएका सुरक्षाकर्मीहरूलाई जुन पदबाट सेवानिवृत्त भएका हुन् सो सरहको तलब सुविधा दिएर राखे तालिमप्राप्त जनशक्ति प्राप्त हुने र राज्यको खर्च पनि कम लाग्ने बताएका छन । उनको सुझाव मननयोग्य रहेको छ। म्यादी प्रहरी भन्दा पुर्व सुरक्षाकर्मी परिचालन गरि गरिने निर्वाचन सुरक्षा प्रभावकारी हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रिय सेवा दल र स्थानीय तहमा खटाइएका म्यादी प्रहरीहरूलाई प्राथमिकतामा राखेर अघि बढे सरकारको सुरक्षासम्बन्धी विभिन्न शीर्षकमा हुने खर्च कम हुने पनि सुझाव सरकारलाई दिएका छन् । उनले सरकारलाई आयोगले यससम्बन्धी पूर्ण जानकारी गराइसकेको पनि बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले इलेक्ट्रिक भोटिङ सिस्टम र अनलाइन भोटिङ सिस्टम लागू गर्ने हो भने अब बन्ने कानुनमा अब आउने निर्वाचन ईभीएममार्फत गरिनेछ भन्ने दफा राखेर जानुको विकल्प नरहेको जिकिर गरेका छन् । उनले आयोगले यसबारेमा विभिन्न दलहरूसँग बैठक बसेर छलफल गरे पनि निस्कर्ष ननिस्किएको भन्दै बाध्यकारी कानुनको विकल्प नरहेको बताएका छन् ।
थपलियाले अध्ययनअनुसार एउटा ईभीएमले ४ वटा निर्वाचन धान्नुपर्ने देखाएको भन्दै एउटामा मात्रै प्रयोग हुने गरेर ईभीएमको प्रयोग गर्दा खर्च धान्न नसकिने बताउदै विदेशमा बस्ने नागरिकलाई मतदानको अधिकार दिने हो भने ईभीएममा जाने कि इभोटिङमा जाने भन्ने बहस चलिरहेको बताएका छन् । उनले राष्ट्रपति, उपराष्ट्रपतिको चुनावमा भए पनि इलेक्ट्रिक भोटिङ सिस्टमको प्रयोग गर्न आयोगले तयारी गरिरहेको जानकारी दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचनका लागि करिब ८ करोड मतपत्र छाप्नुपर्ने बताउदै उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र छाप्न सकिने बताए । उनले उम्मेदवारी दिँदा उम्मेदवारले सम्भावित खर्च र त्यसको स्रोत बारेमा विवरण पेस गर्नुपर्ने बताएका छन् । उनले गठबन्धन भन्ने शब्द संविधान र कानुनमा कतै व्यवस्था नरहेको बताएका छन् । थपलियाले अहिले दलहरूले दफा ४८ अनुसार एकल र दफा ४९ अनुसार मिलेर दल दर्ता गर्न पाउने बताएका छन् ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचनमा १ करोड ८० लाख मतदाता हुने अनुमान गरेको र त्यस मध्येबाट १ करोड ३० लाख मतदान हुने प्रारम्भिक अनुमान रहेको बताएका छन् । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि १० अर्ब अनुमानित खर्च हुने प्रक्षेपण गरेको छ । त्यस्तै निर्वाचनमा १० हजार ८ सय ५२ मतदान स्थल र २२ हजार ५ सय अस्थायी मतदान केन्द्र बाहेकका मतदान केन्द्र रहने पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार