मुलुक निर्वाचन प्रक्रियामा होमियो

द्वारा प्रकाशित गरिएको हो |
August 8th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । सरकारले आगामी २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मिति तोकेको छ । निर्वाचन आयोगले पनि गत साउन २२ गतेदेखि दल दर्ता प्रकृया सुरुआत गरेको छ । राजनीतिक दलहरूलाई पनि आम निर्वाचन लाग्न थालेको छ । राजनीतिक दलभित्र सम्भावित उम्मेदवारहरूले आफुलाई टिकट दिन दाबी गर्न थालेका छन् । उता गठबन्धन दलहरू भित्र सिटको भागबन्डा मिलाउन नेपाली कांग्रेसका तीन जना, नेकपा (माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टीका र राष्ट्रिय जनमोर्चाका दुई–दुई जनाका गरि ११ सदस्यीय कार्यदल बनेको छ । यो समितिले गठबन्धन दलबीचमा सिट संख्या टुंगो लगाई क्षेत्र छुटयाउने छ । अहिले कांग्रेसले ९५, माओवादी केन्द्रले ४०, नेकपा(एस) ले १५, जसपाले १५ र राजमोले पाँच सिट माग गर्दै आएका छन् । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ सिट रहेको छ । यसमा कार्यदलमा छलफल गरि टुंगो लगाइने छ । लगभग सहमति हुने स्थिति छ । नेकपा(एमाले) विरूद्व सत्ता गठबन्धन दलले मोर्चाबन्दी गरेर जाने भएका छन् । यसले एमालेलाई आफ्नो बचस्व जोगाउन निकै मुस्किल पर्ने देखिन्छ ।
निर्वाचन आयोगले प्रतिनिधिदसभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरेको छ । यस अनुसार दल दर्ता गर्ने क्रम सुरू भएको छ ।
निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति लगायत विवरण खुलाउनुपर्ने बताइएको छ । यसैगरी दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको संगठनात्मक स्वरुप केन्द्रीयस्तर र प्रदेशस्तरको छ–छैन, त्यसको जानकारी खुलाउनुपर्ने आयोगले जनाएको छ ।
दल दर्ताका लागि प्रतिनिधि सभा सदस्यका लागि अनुसूची–१२ बमोजिम र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सात वटा प्रदेशका लागि छुट्टाछुट्टै अनुसूची–१२ बमोजिमको निवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगद्वारा साउन २२ गते जारी सूचनामा उल्लेख गरिएको छ । दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, आर्थिक वर्ष २०७७÷७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन लगायतका आवश्यक कागजात पेस गर्नुपर्नेछ र दलको प्रमुख पदाधिकारीले दस्तखत गरी पेस गर्नुपर्ने भनिएको
छ । यसैगरी उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने गरी पदाधिकारी तोकिएको केन्द्रीय समितिको निर्णयसहित तोकिएको ढाँचामा पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सहितको दस्तखत नमूना पेस गर्नुपर्नेछ ।
दल दर्ताका लागि संविधानबमोजिम राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधानबमोजिम कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने र दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने आयोगले जनाएको छ । अहिले निर्वाचन आयोगमा १२० भन्दा बढी दल दर्ता भएका छन् त्यसमध्ये स्थानीय तहमा ८० वटा दलले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार