प्रधानमन्त्री देउवालार्ई शेखर समुहको पाँच बुँदे सुझाव

द्वारा प्रकाशित गरिएको हो |
July 18th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला गुटको बत्तीसपुतलीको अनुपम फुडलैण्डमा बैठकले पाँच बुँदे निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनकै सभापति बन्न खोजेको गुटका नेताहरूले निष्कर्ष निकालेका छन् । पार्टी उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापासमेत सहभागी बैठकले यस्तो निष्कर्ष निकालेको बताइएको छ । गुटको बैठकपछि बोल्दै डा. गोविन्द पोखरेलले सञ्चारकर्मीलाई निर्णयबारे जानकारी गराएका थिए ।
डा.पोखरेलका अनुसार कोइराला गुटले सरकारले जनतालाई राहत दिन नसकेको र जनजीविकाका सवाललाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको छ ।
दोस्रोमा, विगतमा प्रतिबद्धता जनाएअनुसार राजश्व अनुसन्धान विभाग लगायतका निकायहरूलाई प्रधानमन्त्री मातहतमा नराख्ने विषयलाई सरकारले कार्यान्वयन नगरेको गुटको गुनासो रहेको छ ।
पार्टीको यो गुटलाई देशव्यापी रूपमा परिचालन गरिने पोखरेले बताए । यद्यपि, समानान्तर संरचना नबनाउने उनको भनाइ छ । तपाईँहरूले आफ्नो गुटको भागबन्डा खोज्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा पोखरेलले अस्वीकार गरेका थिए ।
डा.पोखरेलले भने–कहिले पनि भागबन्डा मागेका थिएनौँ । तर, हाम्रो गुटमा ४० प्रतिशत मान्छे टिपेर ल्याएको होइन । तल्लो तहदेखि निर्वाचित भएर आएका छन् । त्यसैले उनीहरूको मतको पनि सम्मान गर्नुपर्छ भन्ने धारणा हो ।
सरकारले आर्थिक सुशासनको खिल्ली उडाएको आरोप पनि कोइराला गुटले लगाएको छ । यस्तै परराष्ट्र नीति बनाउँदा विपक्षी दलहरूलाई पनि विश्वासमा लिन सुझाव दिइएको छ ।
बैठकले देउवाले कांग्रेस सभापति भएको आभास गराउन नसकेको निष्कर्ष निकालेको थियो । ‘उहाँ गठबन्धनको सभापति भएर हिँड्नुभएको छ । कांग्रेसको सभापति भन्ने अनुभूति दिलाउन सक्नुभएको छैन,’ पोखरेलले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार