भारतीय विदेशमन्त्रीद्वारा प्रचण्डको अपमान

द्वारा प्रकाशित गरिएको हो |
July 18th, 2022
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तीन दिने भारत भ्रमण उदेश्यमा असफल भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ब्रेकफाष्ट भेटघाट गर्ने प्रचार गरिएपनि मोदीले भेट दिएनन् । सन् १९५० को सन्धी पुनरावलोकन वा खारेजको कुरा उठाएपछि प्रचण्डलाई मोदीले भेटन नचाएको चर्चा छ । प्रवुद्व व्यक्ति समुहको प्रतिवेदन समेत बुझ्न नचाहेका मोदीले सन १९५० को सन्धी खारेज गर्छन भनेर प्रचण्डले विश्वास गर्नु नवौं आश्चर्य भएको छ । भारतलाई खुशी पार्न र कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले मिचेको जमिनबारे मौन रहेका प्रचण्डको भारत किन रहेछ भन्ने प्रष्ट नै छ । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा दिल्ली गएका प्रचण्डले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले, विदेश सचिव एस. जयशंकर, प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल लगायतलाई भेटेका छन् । तर प्रधानमन्त्री मोदीलाई भेटन पाएनन र पनि भारतको भ्रमणबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आवश्यकताभन्दा बढी प्रफुल्लित देखिएका छन् । उनी भ्रमणबाट अति उत्साहित भएका छन् । तीन दिनको भारत बसाइमा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भेट नदिएको लज्जा लुकाउन बनावटी खुशी देखाएर आफ्नो लाज ढाकेका छन् ।
प्रचण्डले भारत भ्रमणका क्रममा काठमाडौंबाट जहाज चढेदेखि फर्किएर जहाजबाट ओर्लिसम्मका एक–एक प्रसंग रिठ्ठो नबिराइ सुनाएका थिए । कुन होटलमा खाएँ, कुन होटलमा सुतेँ भन्नेसम्म बताएका छन् । प्रचण्ड भ्रमण आफैंले सोचेभन्दा पनि फलदायी भएको बताएका छन् तर, के फल प्राप्त गरे, कति फल वा कोसेली ल्याए त्यो भने देखाउन सकेका छैनन् । प्रचण्डले भारतले दिएको सम्मानको बखान गरेका छन् ।
प्रचण्डलाई दिल्लीको एयरपोर्टबाट होटलमा जाने बेलामा भाजपा र सरकारको तर्फबाट जुन सम्मान र सुरक्षाको व्यवस्था गरियो, पहिले प्रधानमन्त्री भएर जाँदाभन्दा अहिले फरक विभेद नगरि सम्मान गरेको प्रचण्डको अनुभव रहेको छ ।
भारतीय जनता पार्टीको कार्यालयमा जाँदा अझ भव्य सम्मान भएको थियो ।
‘बडो भव्य स्वागत थियो त्यो । त्यहाँको सजावट हामीले सामान्य सोच्नेभन्दा बढी नै थियो । प्रधानमन्त्री मोदी, भाजपा अध्यक्ष जेपी नड्डा र मेरो फोटो राखिएका थिए । चारैतिर व्यानरहरु सजाइएको थियो ।’ प्रचण्डले भारत भ्रमणको बखान गर्दै भनेका छन् ।
प्रचण्डले भारतीय विदेश मन्त्री एस.जयशंकरले भेटबारे ट्विट गरेको विषयलाई ठूलो उपलब्धीका रूपमा चर्चा गरेका छन् । ‘उहाँले मेरो भ्रमणबारे एकपल्ट होइन दुईपल्ट ट्विट गर्नुभएको छ,’ प्रचण्डले गर्व गर्दै पत्रकारहरूलाई सुनाएका थिए । तर विदेश मन्त्री जयशंकरले मनिङवाकमा लगाउने कपडा, हाप सर्ट लगाएर प्रचण्डलाई भेट दिएर अपमान गरेको कुटनैतिक क्षेत्रमा चर्चा छ ।
प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग डेढ–दुई घन्टा वान टु वान कुराकानी गरेका थिए । डोभालसँगको भेटमा आफूले नेपाललाई भारतले बेच्ने तेल अलिकति सस्तो गरिदिन आग्रह गरेको प्रचण्डले गर्वसाथ बताएका छन । तर अहिले अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको छ । आइओसीले नेपाल आयाल निगमलाई जुलाई १६ तारेखमा मूल्य घटाएर दररेट पठाएको छ । मेरो प्रस्तावकै कारण आइओसीले इन्धन सस्तोमा पठाएको भनेर प्रचण्डले जसलिन खोजेका छन् ।
प्रचण्डले एयरर्पाेट भने– ‘मेरो भ्रमणका उपलब्धीहरु बिस्तारै देखिँदै जानेछन्, आजै तेलको मूल्य अलिकति सस्तो भएर आएको छ,’ प्रचण्डले डोभलसँग गरेको आग्रहकै कारण भारतले तेलको मूल्य घटाएर पठाएको घुमाउरो दावी प्रचण्डले गरेर नेपाली जनतालाई उल्लु पार्न खोजेका छन् ।
प्रचण्डले भाजपा र आरएसएस बीचको सम्वन्ध र अन्तर आफूले बुझ्ने अवसर पाएको बताएका छन् । साथै, चिनियाँ कम्युनिष्ट पार्टीलाई उछिन्दै भाजपा विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल बनेको पनि भ्रमणबाट थाहा पाएको बताएका छन् । प्रचण्डले भनेका थिए– ‘हामीले ९ करोड सदस्य रहेको चिनीयाँ कम्युनिष्ट पार्टीलाई विश्वको ठूलो पार्टी मान्दै आएका थियौं । तर भाजपाले १७ करोड सदस्य बनाइसकेको रहेछ ’।
प्रचण्डले यसपालीको भ्रमणमा भारतीय मिडियाले पनि आफ्नो भ्रमणलाई उत्साहबर्द्धक तरिकाले कभर गरेको दावी गरेका छन् । तर, नेपालमा चाहिँ एउटा भारतीय अखबारले ‘गिडगिडाए प्रचण्ड’ भन्ने डेढ वर्ष अगाडिको पुरानो समाचारको हेडलाइनमा प्रकाशित गरेको समाचार भाइरल भइरहेको छ ।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न नपाएको प्रसंग निकै लाचार तरिकाले सुनाएका छन् । प्रचण्डले मोदीलाई भेट्न भनेर होटलबाट हिँडिसकेपछि भेट्न सम्भव नरहेको खबर पाएको बताएका छन् । उनले भने– ‘किन सम्भव भएन भन्ने मलाई जानकारी छैन, तपाईंहरु जस्तो म पनि त्यस्तै ।’
प्रचण्डको भ्रमणको उपलब्धी के ?
भारतीय प्रधानमन्त्रीलाई भेट्न नपाउँदा पनि प्रचण्डले आफ्नो भ्रमण सोचेभन्दा फलदायी र उपलब्धीपूर्ण बनेको दावी गरेका छन् । उनको भारत भ्रमण के हिसाबले फलदायी भयो ? त्यो फल उनले देखाउन पनि सकेनन,लिखित उपलब्धि पनि केहि आएन। त्यो फल उनको पार्टीले मात्र पाउने हो कि सिंगो देशले पाउने ?
देशले फल पाउने गरी प्रचण्डले यो भ्रमणबाट कुनै उपलब्धी हासिल गरेको जस्तो देखिँदैन । पार्टी र व्यक्तिगतरुपमा फल पाउने हुन् भने बारेमा चाहिँ आगामी दिनहरुमा संकेत देखिन सक्छ । जे होस यो भ्रमणले कांग्रेस र माओवादी केन्द्रलाई चुनावैसम्म गठबन्धन दरिलो पारेर
लानेछ ।
प्रचण्डको भारत भ्रमण नेपालको आगामी राजनीतिक दिशाबारे सेटिङ मिलाउनका लागि तय भएको चर्चा छ । आगामी चुनावपछि प्रचण्ड र डा.आरजु राणा बीच आधा–आधा कार्यकाल प्रधानमन्त्री र शेरबहादुर देउवा राष्ट्रपति बन्ने गरी भारतले सेटिङ मिलाउन खोज्दै छ । यद्यपि, यो अपुष्ट नै हो । डा.आरजु पनि भारतमै भएको बेला प्रचण्ड त्यहाँ पुग्नु एउटा संयोग मात्रै हुन सक्छ । प्रचण्डले डा.आरजु उपचारका लागि त्यहाँ बसेको बेला आफूले ‘कर्टसी’ का लागि मात्रै उनसँग भेटेको प्रष्टीकरण दिएका छन् ।
भ्रमणबाट प्रचण्डले के उपलब्धी हासिल गरे वा गरेनन् भन्नेमा देशको ठूलो चिन्ता होइन । तर, नेपालको एउटा भुतपूर्व प्रधानमन्त्री र सत्तारुढ दलको अध्यक्षले छिमेकी देश जाँदा त्यहाँको प्रधानमन्त्री मोदीलाई भेट्नसमेत नपाउनु चाहिँ राष्ट्रिय लज्जाको विषय हो । यसले देशको हैसियत उदांगो बनाइदिएको छ । भारतबाट एउटा सहसचिव नेपाल आउँदा पनि राष्ट्रपति निवास शीतलनिवासदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्मका सबै द्वार एकैपटक खुल्ने गरेका छन् । भारतीय नवनियुक्त राजदुत नवीन श्रीवास्तवले नेपालका सबै सचिव, सांसद, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई पन्ध्र दिन बीचमा भेटि सकेका छन् । तर भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माले भारतीय विदेश मन्त्रीलाई भेट्न खोजेको पाँच चार महिना भएपनि भेट्न सकेका छैनन् । नेपालका नेताहरु भारतका सचिव, सहसचिव वा अमुक नेता आए भने लाइन लागेर उसलाई भेट्न होटल पुग्छन् ।
तर, नेपालको एउटा शीर्ष नेताले तीन दिन भारतमा बसेर पनि प्रधानमन्त्री मोदीलाई भेट्न नपाइ फर्किनु परेको छ र भन्दैछन्, गज्जबको सम्मान पाएँ मैले, भ्रमणबाट सन्तुष्ट छु । गजब छ नेपालमा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार