प्रेस युनियनमा पदाधिकारी हेरफेर

द्वारा प्रकाशित गरिएको हो |
May 30th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाल प्रेस युनियनलाई बद्री सिग्देल समूह निजी कम्पनीमा परिणत गरेको भन्दै असन्तुष्ट पक्षले आगामी २०७९ जेठ २८ र २९ गते छुट्टै अधिवेशनको तयारी गरेकोछ ।
अधिवेशन काठमाडौंमा गर्ने गरी असन्तुष्ट पक्ष युद्धस्तरमा जुटेको छ । सिग्देल पक्षले तोकिएको मितिमा अधिवेशन गर्न बारम्बार असक्षम भएको भन्दै युनियनभित्रै विद्रोहको आगो सल्केको छ ।
असन्तुष्ट पक्षलाई यूनियनकै संस्थापक पत्रकारहरू हरि अधिकारी, रमेश तुफान, तारा दाहाललगायत ठूलो समूहको खुला समर्थन रहेको छ । असन्तुष्टहरुको भेलामा युनियनका पूर्व महासचिव रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अजय बाबु शिवाकोटीलेसमेत सम्वोधन गरेका थिए ।
युनियनको स्थापना दिवसका अवसरमा असन्तुष्ट पक्षले बद्री सिग्देल समूहको काउण्टरमा बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित विशेष भेलाले आयोजना गरेपछि यूनियन फुटतर्फ उन्मुख देखिएको बताइएको छ । संस्थापन पक्षले यसअघि महाधिवेशन गर्ने भनेर तोकेको २०७९ जेठ १३ र १४ गतेको अवसर पारेर असन्तुष्ट पक्षले विशेष भेला आयोजना गरेको थियो ।
उक्त समूहले महाधिवेशनको मिति तय गर्दै युनियनकै उपमहासचिव सलोजा दाहालको संयोजकत्वमा महाधिवेशन आयोजक समितिसमेत गठन गरेको जनाएको छ । भेलाको उद्घाटन सत्रमा युनियनका संस्थापकहरु, युनियनका पूर्वअध्यक्षहरु, वरिष्ठ पत्रकार तथा विभिन्न शाखाका अध्यक्षहरुसमेत संलग्न थिए । विशेष भेलाले तत्कालका लागि युनियनको अधिवेशनको मिति र स्थान तय गर्ने र नौ वर्षदेखि हुन नसकेको नेपाल प्रेस युनियनको महाअधिवेशनका लागि आवश्यक समितिहरु गठन गर्ने एजेण्डा पास गरेको छ । महाधिवेशन तयारीका लागि विभिन्न समितिहरुसमेत गठन गरिएको छ ।
आयोजक समितिमा युनियनका वर्तमान केन्द्रीय पदाधिकारी र सदस्यहरु नै सम्मिलित रहेका छन् । केन्द्रीय सचिव खिला कार्कीको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति बनेको छ ।
अर्का केन्द्रीय सदस्य रमेश वाग्लेको संयोजकत्वमा सांगठनिक तयारी समिति गठन गरिएको छ । यस्तै युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलको संयोजकत्वमा आर्थिक तयारी समिति बनेको छ ।
पाँच बर्ष अघि नै २०७४ सालको भदौमा सम्पन्न हुनुपर्ने यूनियन महाधिवेशन छैटौंपटकसम्म स्थगित गर्दै सारिएको छ । युनियन अध्यक्ष सिग्देलले दुई वर्षदेखि केन्द्रीय समितिको बैठकसमेत राख्न सकेका छैनन। सिक्देल असक्षम भएको भन्दै युनियन भित्रैबाट विद्रोह सुरू भएको छ । यसअघि सिग्देल नेतृत्वको युनियनले आगामी २०७९ भदौ २१ र २२ मा हेटौंडामा महाधिवेशन गर्ने निर्णय लिएको थियो ।
विशेष भेलामा अध्यक्ष वद्री सिग्देल पक्षलाई आमन्त्रण गरिएको थिएन । सिग्देल समूहलाई नै बाइपास गरेर युनियनको अर्को पक्षले समानान्तर रूपमा भेला आयोजना गरेका कारण विभाजनको डिलमा उभिएको सहजै अनुमान गर्न सकिन्छ । युनियनको अधिवेशनबाट २०७१ सालमा बद्री सिग्देललाई प्रचण्ड बहुमतसहित अध्यक्षमा निर्वाचित गरिएको थियो । त्यसयता सिग्देलले निसंकोच तीन कार्यकाल गुजारी सकेका छन् ।
बद्री सिग्देलबाट अधिवेशनको पटक–पटक मिति तोक्ने र सार्ने अनि आफ्नो पदावधि लम्ब्याउँदै संस्था कब्जा जमाउने काम हुँदै आएको आरोप लागेको छ । अहिले युनियनको सदस्य हुँ भन्न पनि लजाउनु पर्ने परिस्थिति छ । त्यसैले संस्थाको गरिमा, मर्यादा र प्राण बचाउन युनियनका सदस्यहरूले बैध विद्रोह गर्न थालेका छन् । संस्थालाई सिक्देल समुहले गुटगत गिरोहमा परिणत गरेर स्वार्थ लुट्ने काम मात्र गर्याे । नेतृत्व पङ्ति लोकतन्त्रको मूल्य र मान्यता अनुरुप हिंड्न नसक्दा आज युनियनकै वैधानिकता संकटमा फसेको छ ।
पोखरामा २०७१ भदौ २१ देखि २३ गते सम्म सम्पन्न नेपाल प्रेस युनियनको आठौं महाधिवेशनले बद्री सिग्देललाई तीन बर्षका लागि भनेर अध्यक्ष चयन गरेको थियो । आवधिक निर्वाचनमार्फत नेतृत्व हस्तान्तरण, संस्थाको लोकतान्त्रिकरण र विधि–पद्धति अनुरुप संस्था सञ्चालन गर्नुको सट्टा कब्जा गर्ने बदनियत राखेर युनियनलाई घाटमा पुर्याइएको छ ।
विधान अनुरुप चलेको भए २०७४ सालमै युनियनको नवौं महाधिवेशन सम्पन्न भई नेतृत्व हस्तान्तरण हुनुपर्दथ्यो । अन्तिम पल्टका लागि भनेर २०७९ जेठ १३ र १४ गते यूनियनको महाधिवेशन तोकिएको थियो । यो मितिमा पनि उनले महाधिवेशन गर्न सकेनन् । अझै पनि सिग्देल सर्वसम्मत दिए अध्यक्ष खाने ध्याउन्नमा लागेका छन् । युनियनका अध्यक्ष पदेन अध्यक्ष जस्तो हुन पुगेका छन् । कसैगरी आफू नभए आफ्नो सञ्जालका मान्छे ल्याएर भए पनि अझै आजीवन रजगज गर्ने दाउ सिक्देलको रहेको छ ।
तत्कालीन अवस्थामा प्रजातन्त्रवादी पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापना भएको नेपाल प्रेस युनियनलाई अहिले आएर अस्तित्व बचाउन मुस्किल भएको छ । यसबीचमा नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल इन्जिनियरिङ एशोसिएशन लगायत अरु पेशागत संघ–संगठनको तीनपल्ट नेतृत्व चयन गरिसकेका छन । तर युनियन भने आठ बर्षसम्म एउटै व्यक्तिको कब्जाबाट बाहिर निस्कन सकेको छैन भन्दै नेपाली कांग्रेस बाहिरबाट समेत चिन्ता र चासो व्यक्त हुन थालेको छ ।
वैधानिकताको कुरा मात्र नभै युनियनको वर्तमान अवस्थाका कारण संस्थाको लोकतान्त्रिकीकरण, नयाँ नेतृत्व र वृत्ति विकासको विषयलाई लिएर माउ पार्टी कांग्रेसमाथि समेत प्रश्न गर्न थालिएको छ । यसैबीच युनियनभित्र नेतृत्वका लागि पत्रकारिता पेशामा आवद्ध ‘नयाँ’ नेतृत्वको खोजी भइरहेको छ ।
विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिको ‘घुसपैठ’का कारण संस्थाको जीवन नै संकटापन्न अवस्थामा पुगेपछि अवैध गिरोह एवम् सञ्जाल तितरवितर पार्न यस्तो खोजी शुरु भएको युनियन सम्बद्व नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार