फेरी कांग्रेस, एमाले नै मुख्य पार्टी

द्वारा प्रकाशित गरिएको हो |
May 30th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । २०७४ को स्थानीय निर्वाचनमा नेकपा(एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा(माओवादी केन्द्र) तेस्रो पार्टी भएको
थियो । तर अहिले नेपाली कांग्रेसले ३३० वटा पालिका जितेर पहिलो,एमालेले २०५ वटा पालिका जितेर दोस्रो, माओवादी केन्द्रले १२१ वटा पालिका जितेर तेस्रो, जनता समाजवादी पार्टीले ३० वटा पालिका जितेर चौथो, नेकपा(एकीकृत समाजवादी)ले २० वटा पालिका जितेर पाँचौ, लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिका जितेर छैठौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४, नेपाल उन्मुक्ति पार्टीले ४, राष्ट्रिय जनमोर्चाले ४ पालिका जितेर सातौं, जनमत पार्टीले २ वटा पालिका जितेर आठौं, नेपाल मजदुर किसान पार्टीले १ वटा, विवेकशील साझा पार्टीले १, जनता प्रगतिशील पार्टीले १, तमलोपाले १ पालिका जितेर नवौं र स्वतन्त्र १३ जनाले १३ वटा पालिका जितेका छन् ।
७५३ वटा पालिकाका निर्वाचित जनप्रतिनिधिहरूमा कांग्रेसले ३९, एमालेले ३४, माओवादी केन्द्रले १४, जसपाले ४, एकीकृत समाजवादीले ३, लोसपाले २, स्वतन्त्रले १ र अन्य पार्टीका ३ प्रतिशतले स्थानीय तह जितेका छन् ।
कांग्रेसको चुनाव चिन्ह रुखबाट निर्वाचित पालिकाको संख्या एमालेको भन्दा १२५ ले बढी छ । ‘बढी’लाई एमालेले ‘घटी’ भनि रहेको छैन । एमालेले मात्र एउटा प्रश्न गरिरहेको छ– कांग्रेसको खातामा आएको त्यो ‘पूँजी’ उसको आफ्नै हो वा त्यसमा अरुको अंश पनि छ ? भन्ने प्रश्न गरिरहेको छ । माओवादी केन्द्रले भन्दा एमालेले ८४ पालिका र एकीकृत समाजवादीले भन्दा एमालेले १८५ पालिका बढी जितेको छ ।
जहाँको प्रतिस्पर्धामा ‘रुख वा हसिया–हतौडा वा कलम वा छाता÷साइकल’ मध्ये एउटा मात्र अरुसँगको प्रतिस्पर्धामा छ, त्यो गठबन्धन होला । या ति मध्ये दुई वा दुई भन्दा बढी चिन्ह गायब भई कुनै एउटा मात्र ‘सूर्य’सँग प्रतिस्पर्धा गरेको भए त्यो पनि गठबन्धन होला ।
अहिले कांग्रेसका नेताहरुले के भनिरहेका छन् भने त्यो भन्दा जब्बर तथ्य निर्वाचन आयोगको ‘तथ्यांक’ हो । तथ्यांकले देखाउँछ– ७५३ मध्ये ३११ स्थानीय तहमा कांग्रेस सहितको पाँच दलीय गठबन्धन भएको छ, ३०७ स्थानमा कांग्रेस सहितको दुई वा तीन दलीय गठबन्धन देखिन्छ । एमाले, कांग्रेस र माओवादी केन्द्र एक्ला एक्लै प्रतिस्पर्धा गरेको स्थान १३५ मात्र देखिन्छ ।
यो निर्वाचनमा एमाले ‘अघि कि पछि’ भन्ने मुद्दाको छिनोफानो गर्न यो पक्षलाई ख्याल गर्नु पर्छ ? यदी गठबन्धनलाई एउटा दल मान्ने हो भने गठबन्धनले जित्यो । एमाले दोस्रो
भयो । गठबन्धन भित्रका दलहरु बीच के कसरी अंशबण्डा भएको छ, त्यो ती दलहरुको आन्तरिक विषय हो । यो कोणबाट विश्लेषण गर्ने हो भने यहाँ एमाले सीटको गणितमा दोस्रो तर सोलोडोलो एउटा शक्ति हो । यो तथ्य स्वीकार्न साथीहरुमा आनाकानी किन ? यदी कांग्रेस आफुलाई ‘पहिलो’ भन्न चाहन्छ भने उसले आफुले ‘सहयोगी’बाट लिएको ’सापटी’ कति हो छुट्याउन परेन ? सावाँ, सापटी, व्याज सबै एक्लै कांग्रेसको मात्रै कमाइ हो भन्न मिल्छ र ?
यदी लोकप्रिय मतको हिसावमा जाने हो भने जसरी हिसाब गरे पनि एमाले पहिले दल हो भन्न साथीहरुलाई किन आँट नआएको ? पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षले प्राप्त गरेको मतलाई सोझो हिसाव गर्ने हो भने मेयर÷अध्यक्षहरुको कुल १ करोड १२ लाख ८ हजार १९५ मतको ३४ प्रतिशत (३८०९६९८) एमालेको छ । कांग्रेसको ३३.३ प्रतिशत र माओवादी केन्द्रको ११.९ प्रतिशत छ । उपमेयर÷उपाध्यक्षको कूल १ करोड, ४ लाख ६० हजार ८५३ मत मध्ये ३५.१ प्रतिशत (३६६८२५५) एमालेको पक्षमा छ । गठबन्धन गरिएको सबै पदमा सबै नउठेको भन्ने तर्कमा जाने हो र दुवै पदमा खसेको सदर मतको औसत र दलहरुले पाएको मतको औसत निकाल्ने हो भने पनि कूल १ करोड ८ लाख ३४ हजार ५२४ मतको ३५ प्रतिशत
(३७३८९७७) एमाले र ३० प्रतिशत नेकांको देखिन्छ ।
नेकपा (एमाले)बाट चोइटिएको नेकपा ’एकीकृत समाजवादी’ को जम्मा मत ४ प्रतिशत छ । ’एस’को ४ प्रतिशत पनि सबै उसको होइन, कांग्रेस र माओवादी केन्द्र गठबन्धनबाट पाएको हो भन्ने अनुमान गर्न मिल्ला नी ! त्यस्तै कांग्रेसले पनि ‘एस’को एकतिहाइ पायो होला । कुल मतमा एस’को एकतिहाइ अर्थात् १.३३ प्रतिशत कटाउँदा कांग्रेसको ३२ प्रतिशत मात्र रहन्छ । अझ माओवादी केन्द्रबाट पाएको लाभको अनुमानित ३ प्रतिशत कटाउँदा कांग्रेस २९ प्रतिशतमा झरने ?!
आधार के लाई मान्ने ? के को आधारमा नम्बर १ भन्ने ? के लाई हार वा जीत भन्ने ? सिधा जोडे पनि, छड्के जोडे पनि लोकप्रिय मतको हिसाबले एमाले पहिलो त देखियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार