यस्तो पनि हुनथाल्यो हाम्रो नेपालमा

द्वारा प्रकाशित गरिएको हो |
May 30th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

रोल्पा । छसस । नेपालगञ्ज उपमहा नगरपालिका २ घरवारीटोलका २० वर्षीय सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्यु भएको छ । यस घटनाका दोषीलाई कारवाही गर्न निष्पक्ष छानबिन गरी न्याय दिलाउन पीडितका दाजुले माग गरेका छन् ।
मोबाइल चोरीको सामान्य मुद्दामा १० हजार धरौटी रकम जम्मा गर्न नसकेको कारण थुनामा रहेका सुन्दर हरिजनको रोल्पा कारागारमा गत जेठ ५ गते भुण्डिएर आत्महत्या गरेको भन्दै कारागार प्रशासनले विजय बिक्रम शाहको मृत्यु भएको भन्दै शव बुझ्न फोन गरी बोलाएको मृतकका दाजु राजकुमार हरिजनले बताएका छन् ।
सामान्य धरौटी बुझाउन नसक्दा कारागार चलान भएका आफ्ना भाइको मृत्यु भयो भन्दै शव लैजान राजकुमारलाई मोटरसाइकलमा रोल्पा लिवाङ ल्याइएको थियो । रोल्पा कारागार पुगेर हेर्दा भाइको शव देखे । तर, शवको मुचुल्का कागजमा भने मृतकको नाम विजय विक्रम शाहको उल्लेख थियो । उनले भाइको नाम सुन्दर हरिजन हो भनेपछि जिल्ला प्रहरी कार्यालय रोल्पा र कारागार शाखा रोल्पामा खैलाबैला मच्चिएको थियो ।
कारागारबाट मृतक सुन्दर हरिजनको सरसामान भनेर पठाइएको सामानले पनि राजकुमारका परिवार आश्चर्यचकित भएका छन् । भाइको सामान भनेर पठाइएको छ । यी सामान भाइका हुँदै होइनन् । उनले भने–हाम्रो यस्तो सामान पठाउने हैसियत नै छैन । राजकुमार हरिजनले भाइ सुन्दर हरिजनलाई बाँके कारागार प्रशासनले नै जबरजस्ती विजयविक्रम शाहको अपराधको कैद भुक्तान गर्न नेपालगन्जबाट रोल्पा पठाएर हत्या गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
राजकुमारले गत जेठ ७ गते आइतबार कारागार शाखा रोल्पाले शव बुझाउदा भाइको शरीर भरी कुटपिटको निल डाम रहेकोले घटना आत्महत्या नभई कर्तव्य ज्यान मुद्दा भएकोले निष्पक्ष रुपमा छानविन गरी दोषीमाथी कडा कारवाही गर्न माग गरेका छन । उनले न्याय नपाउदासम्म शवको अन्तिम संस्कार नगर्ने अडान लिएका छन् । मृतक हरिजनको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शव गृहमा राखिएको छ ।
रोल्पा कारागारमा मृत्यु भएका २० वर्षीय सुन्दर हरिजनलाई २ पटक चोरीको मुद्दामा जिल्ला अदालत बाँकेले २०७५ असोज २३ गते र २०७६ माघ २१ गते गरेको फैसला बमोजिम नेपालगञ्ज कारागारमा कैद भुक्तान गरिरहेका थिए । कैद भुक्तानकै क्रममा बाँके कारागार प्रशासनले स्थान अभावको कारण जनाउदै सुन्दर हरिजनलाई नेपालगञ्जबाट २०७७ मंसीर ८ गते कारागार स्थान्तरण गरी रोल्पा कारागारमा लगिएकाले हरिजनको हत्या वा आत्महत्या भन्ने विषयमा सरकारले कारागार विभागका निर्देशकको नेतृत्वमा एक उच्च स्तरिय समिति गठन गरेको जनाएको छ ।
घटना अनुसार सुर्खेत वराहताल गाउँपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयवक्रिम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको भन्दै रोल्पा कारागार प्रशासनले भुण्डिएर आत्महत्या गरेका ब्यक्तिको आफन्तलाई शव बुझाउन खोज्दा शाह परिवारले आफ्नो मान्छे नभएको बताएपछि घटनाको रहस्य खुलेको थियो ।
कारागारको विवरणमा उल्लेख भएको व्यक्ति र कैद भुक्तान गर्ने क्रममा रहस्यमय मृत्यु भएका व्यक्ति अर्कै अर्थात् फरक–फरक व्याक्ति भएको मृत्यु घटना बाहिर आएपछि नेपालका कारागारहरूको अवस्था कस्तो रहेछ भन्ने कुरालाई झल्काएको छ । सुन्दर हरिजनको कैद भुक्तान भई उनी छुटनुपर्ने ठाउँमा कारागार प्रशासनको मिलेमतोमा सुर्खेतका हातहतियार तथा खरखजना मुद्दाका कैदी विजय बिक्रम शाहलाई रिहाई गरि पठाइएको रहस्य खुलेको छ ।
मृतक सुन्दर हरिजनलाई विजय विक्रम शाहको कैद भुक्तानको लागि रोल्पा कारागार पठाईएको आशंका गर्दै हरिजनका दाइ राजकुमारले आशंका गरेका छन् । सुन्दर हरिजन मोवाईल चोरीको अपराधमा कैद भुक्तान गर्दै थिए भने शाहमाथि हातहतियार र खरखजनाको मुद्दामा कैद परेका थिए । यहाँ कारागार प्रशासन, कारागार सुरक्षा हेर्ने प्रहरी, भित्रि प्रशासन हेने, चौकीदार, भाइ चौकीदार, नाइके, भाइ नाइके समेतको मिलेमतोमा यो घटना भएको सर्वत्र आशंका गरिएको छ । कारागार प्रशासनकै मिलेमतोमा सुन्दर हरिजन छुटनुपर्नेमा सोझा हरिजनको नाममा विजय विक्रम शाह छुटेर गएका छन् । यस्तो घटना कारागार प्रशासनको मिलेमतो विना हुनै सक्दैन । रोल्पा कारागारको यस्तो गम्भीर लापरवाही र नियोजित घटनाको छानविन गर्न नेपाल सरकारले एक छानविन समिति बनाएको छ । हेरौ सो समितिले कस्तो छानविन गरि दोषीलाई के कस्तो कारवाहीको सिफारिस गर्छ ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार