संघीय र प्रदेश निर्वाचनको जोड घटाऊ सुरु

द्वारा प्रकाशित गरिएको हो |
May 30th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । स्थानीय तहको निर्वाचन लगभग लगभग सकिएको छ । गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग लगभग आइसकेको छ । बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी रहेको छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी रहेको छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक दलको अवस्थाको मूल्यांकन भइरहेको छ । करिब एक वर्षअघि मुलुकको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजन र सात महिनाअघि नेकपा (एमाले)बाट नेकपा(एकीकृत समाजवादी ) को विभाजन भएपछि बनेको पाँच दलीय गठबन्धन सरकार स्थानीय तहको निर्वाचनमा पनि सहकार्यका साथ गएको तथा संसद्को ठूलो दल नेकपा(एमाले)ले एक्लै निर्वाचन जित्ने दाबीका साथ सम्पन्न निर्वाचन परिणामले कांग्रेस धेरै पालिका जित्ने पहिलो दल बनेको छ ।
नेपालको संघीय र प्रादेशिक संसद्को समयावधि पनि आगामी मंसिरभित्र संघीय संसद र प्रदेश संसदको निर्वाचन हुने भएकाले पनि प्राप्त स्थानीय निर्वाचनको जोड घटाउको चर्चा सुरू भएको छ । यस निर्वाचनमा राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट काठमाडौँ महानगर, धरान, जनकपुर, धनगढी उपमहा नगरपालिका लगायत कतिपय ठूला नगरमा स्वतन्त्र उम्मेदवारले मेयरमा जितेकाले पनि निर्वाचन परिणामलाई रोचक बनाइदिएको छ । स्थानीय तह निर्वाचनमा मतदाताले युवा र अघिल्लो निर्वाचनमा जित्नेहरूको कामको मुल्यांकन गरी जिताएको देखिन्छ । नेपालको सबैभन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्र नारायण साहलाई विजयी गराएका छन् ।
यो मतदाताले स्थापित गर्न खोजेको युवा नेतृत्व मात्र नभएर देशका ठूला राजनीतिक दलका विगतका महानगरका नेतृत्वले दिन नसकेका परिणामको नतिजा हो भन्न सकिन्छ । काठमाडौं महा नगरपालिकासँगै जोडिएको ललितपुर महानगरपालिकामा भने मतदाताले ६५ वर्षीय चिरिबाबु महर्जनलाई पुनः निर्वाचित गरेका छन् । राजधानी बाहिर धरान र धनगढी उपमहानगरपालिकामा पनि मतदाताले परम्परागत दल बाहिरबाटै युवा नेतृत्वको चयन गरेका छन् । धरानमा हर्कराज राई साङपाङ र धनगढीमा गोपाल हमाललाई जिताएका छन् । जनकपुरमा कांग्रेसका विद्रोही मनोज कुमार साहले चुनाव जितेका छन् । सत्ता गठबन्धनका जसपाका उम्मेदवारले नराम्रो गरि हारेका छन् । यसरी सम्पन्न स्थानीय निर्वाचनमा मतदाताले दलभन्दा पनि कामलाई प्राथमिकता दिएको देखिन्छ ।
हालसम्म प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ । कांग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । कांग्रेसबाट १३ हजार ७३७ जनप्रतिनिधि निर्वाचित भएका छन् । यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
वि.सं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए ।
गत २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट १४० नगर प्रमुख, ११० नगर उपप्रमुख, १८८ अध्यक्ष, १९० उपाध्यक्ष, दुई हजार ६६१ वडाध्यक्ष, दुई हजार ६०० महिला सदस्य, दुई हजार ५४७ दलित महिला र वडा सदस्य पाँच हजार ३०१ निर्वाचित भएका छन् ।
यसैगरि एमालेबाट ८२ नगर प्रमुख, ११३ नगर उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका
छन् । कूल निर्वाचित जनप्रतिनिधिका आधारमा माओवादी केन्द्र तेस्रो स्थानमा छ । माओवादीबाट नगर प्रमुखमा २५, नगर उपप्रमुखमा ३३, पालिका अध्यक्षमा ९६, उपाध्यक्षमा ९५, वडाध्यक्षमा एक हजार ५३, महिला सदस्यमा ९६३, दलित महिला सदस्य ९७३ र वडा सदस्यमा एक हजार ८०६ निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी(जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रबाट चार हजार ३४८ निर्वाचित भएको आयोगले जनाएको छ ।
यस्तै ६ महानगरका नगर प्रमुख र नगर उपप्रमुख, ११ उपमहानगरका नगर प्रमुख र नगर उपप्रमुख, २७६ नगरपालिकाका नगर प्रमुख र नगर उपप्रमुख, ४६० गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ वडा सदस्य गरी कूल ३५ हजार २२१ पदका लागि निर्वाचन भएको थियो । निर्वाचनमा करिब एक लाख ४५ हजारले उम्मेदवारी दिएका थिए । स्थानिय निर्वाचन सम्पन्न भएसँगै राजनीतिक दलहरूले आगामी मंसिरमा हुने संघीय र प्रदेश संसदको चुनावको लेखाजोखा गर्न थालेका छन। स्थानीय तहको निर्वाचनमा दलहरूले प्राप्त गरेको मतका आधारमा कुन पार्टीले, कुन क्षेत्रमा जित्छ अनुमान गर्ने र आफनो पार्टीको स्थिति बलियो बनाउन दलका नेताहरूले कसरत गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार