गठबन्धनले महिला उम्मेदवार घटे

द्वारा प्रकाशित गरिएको हो |
May 9th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । यही २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि देशभरिका ७५३ पालिकामा विभिन्न पदका लागि १ लाख ४५ हजार ८३ जनाको उम्मेदवारी दिएको निर्वाचन आयोग नेपालले जानकारी दिएको छ । त्यसमध्ये महिलाको संख्या ५५ हजार ७ सय १५ मात्र रहेको छ । यो अघिल्लो निर्वाचनको तुलनामा झण्डै दुई हजारको संख्याले कम हो ।
२०७४ सालको स्थानीय चुनावमा कुल १ लाख ४८ हजार ३ सय ६४ जना उम्मेदवार विभिन्न पदमा प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये ५७ हजार ८ सय ४३ जना महिला रहेका थिए । पुरुषहरूको संख्या ९० हजार ५ सय १९ जना र २ जना तेस्रोलिंगी रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख गरिएको
छ । तर यसपटक सत्तारूढ पाँच दलबीचमा गठबन्धन भएकाले महिला उम्मेदवारको संख्यामै निकै कमी आएको तथ्यांकले देखाएको छ ।
मुलुक संघीय गणतन्त्रात्मक प्रणालीमा गएपछि २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा नेतृत्व तहमा महिला सहभागिता गराउने सवालमा धेरै हदसम्म सफल भएको थियो । निर्वाचनमा चुनिएका कुल संख्याको ४० प्रतिशत अंश महिलाको रहेकाले त्यसलाई उपलव्धिमूलक र महिला सशक्तिकरणका दृष्टिले एउटा कोसेढुंगा मानिएको थियो ।
तर अहिले स्थानीय तहको निर्वाचन २०७९ मा भने निर्वाचित हुने महिला सदस्यहरुको संख्या धेरै कम हुने महिला उम्मेदवारी नै कम परेकाले देखिएको
छ । ठूला दलहरू गठवन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण यसपटक महिलाहरूको उमेदवारी नै कम परेको निर्वाचन आयोगको विवरणले देखाएको छ ।
अहिले पनि नेपालको संविधानमा स्थानीय तह(नगरपालिका वा गाउँपालिका) को प्रमुख वा अध्यक्ष र उप्रप्रमुख वा उपाध्यक्षमध्ये एकजना महिला हुनुपर्ने कानूनी प्रावधान रहेको छ । दलले दुबै पदमा उम्मेदवारी दिदा महिला पुरूष दिनुपर्ने व्यवस्था गरेको छ । तर सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरि उम्मेदवारी दिदा मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्षमा पुरूष–पुरूष परेका छन् । खुला सदस्यहरूमा पनि पुरूष नै प्राथमिकतामा परेका छन् ।
२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ठूला दलहरूले प्रायः छुट्टाछुट्टै चुनाव लडेका कारण नगर वा गाउँको प्रमुख वा उपप्रमुख,अध्यक्ष तथा उपाध्यक्ष मध्ये एकमा निर्वाचित हुने महिलाको संख्या पनि ठूलै थियो ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच एक दर्जनभन्दा बढी स्थानीय तहमा मात्र गठवन्धन भएको थियो । त्यसमा पनि भरतपुर नगरपालिकामा बाहेक अन्य क्षेत्रमा गठवन्धनको प्रभाव कम देखिएको थियो । कांग्रेससँग मिलेर भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह ठकुरी विजयी भएका थिए ।
स्थानीय तहको प्रमुख वा उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष बाहेक वडाको सदस्य पदमा समेत एक जना महिला र अर्काे दलित महिला गरि दुई जना महिला अनिवार्य हुनुपर्ने प्रावधान स्थानीय तह निर्वाचन कानुनमा रहेको छ । त्यसैकारण स्थानीय निकायको नेतृत्व तहमा महिला सहभागिता बढेको देखिएको थियो । ठूला दलहरूले गरेको गठवन्धनका कारण महिला उम्मेदवारलाई प्राथमिकतामा नराख्दा यसपटकको निर्वाचनबाट नेतृत्वमा पुग्ने महिलाहरूको संख्यामा व्यापक कमी आउने देखिएको छ ।
यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत पाँच दलको गठवन्धन रहेको
छ । यी दलहरूले मुलुकका अधिकांश क्षेत्रका प्रमुख वा उपप्रमुखमध्ये एकमा मात्र उम्मेदवारी दिएका छन् । एकजना मात्रै चुन्नुपर्ने स्थितिमा अधिकांश नगर वा गाउँपालिकामा पुरुष उमेदवारमात्र छन् ।
मनोनयन पत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्ने व्यवस्था मिलाउनुपर्ने स्थानीय निर्वाचन कानुनमा रहेको छ । एउटा दलले प्रमुख वा उपप्रमुखमध्ये एक मात्र पदमा उम्मेदवारी दिएको अवस्थामा महिला उम्मेदवार हुनुपर्ने बाध्यता छैन । तर दलले एक जना मात्र उम्मेदवारी दिएमा यो उपदफाको प्रावधान लागू हुने छैन भनी ऐनमा भनिएको छ । यही कानुनी व्यवस्थालाई आधार बनाएर प्रमुख दलहरूले नै महिला उम्मेदवारीलाई उपेक्षा गरेका छन् ।
यसपटक स्थानीय तहको निर्वाचनमा महिलाहरूलाई उम्मेदवार बनाउने मामिलामा नेपाली कांग्रेस सबैभन्दा अनुदार देखिएको छ । कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी र माओवादी केन्द्रको भन्दा पनि कम महिलाहरूलाई मात्र चुनावमा उम्मेदवार बनाएको छ ।
नेकपा(एमाले)बाट सबैभन्दा बढी महिलाले उम्मेदवार दिएका छन् । कुनै पार्टीसँग पनि तालमेल नगरी चुनाव लड्न लागेकाले एमालेका तर्फबाट बढी महिला सहभागिता हुन गएको देखिन्छ । एमालेले महिलालाई नगर प्रमुखमा २४ जना, गाउँपालिका अध्यक्षमा २७ जना र वडाअध्यक्षमा ११८ गरी कुल १६९ जना महिलालाई उम्मेदवार बनाएको
छ । राप्रपाले नगरको मेयरमा २४ जना, गाँउपालिकाको अध्यक्ष १४ जना र वडाअध्यक्षमा ११४ जनालाई महिलालाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले नगरको मेयरमा ११ जना र गाँउपालिकाको अध्यक्षमा १४ जना र वडाअध्यक्षमा ७९ जना महिला उठाएको छ । यसैगरि माओवादी केन्द्रले महिलालाई नगरको मेयरमा १० जना, गाँउपालिकाको अध्यक्षमा १३ जना र वडाअध्यक्षमा ८३ जना महिलालाई उठाएको छ । यस्तै एकीकृत समाजवादीले नगरको मेयरमा १६ जना,उपमेयरमा ६ जना र वडाअध्यक्षमा ५९ जना, जनता समाजवादी पार्टीले नगरको मेयरमा ११ जना,गाँउपालिकाको अध्यक्षमा ८ जना र वडाअध्यक्षमा ५४ जना र लोकतान्त्रीक समाजवादी पार्टी नगरको मेयरमा ५ जना,गाउँपालिका अध्यक्षमा ३ जना र वडाअध्यक्षमा ३७ जना महिलाले उम्मेदवारी दिएका छन। नगरको मेयरमा पुरूष ३११९ जना महिला २३० जना,उपमेयरमा पुरूष ६०३ जना र महिला १४३५ जना,गाउँपालिकाको अध्यक्षमा पुरूष ३१८६ जना,महिला १५५ जना,उपाध्यक्षमा पुरूष ६११ जना र महिला १६४४ जना र वडाअध्यक्षमा पुरूष ३४१०४ जना र महिला वडाअध्यक्ष उम्मेदवार ९४५ जनाले उम्मेदवारी परेको छ ।
कुनै दलले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एउटा पदमा मात्र उम्मेदवारी दिएको अवस्थामा उसको रोजाइमा पुरुष नै परेका छन् । कुनै पनि दलको स्थानीय कमिटिको नेतृत्वमा महिलाको तुलनामा पुरुषहरूको संख्या बढी हुने गरेका कारण एउटा मात्र पद भएको अवस्थामा प्रायः पुरुषको विकल्प महिला नेतृत्व कमै मात्र हुने गर्दछ ।
यसपटक ७५३ स्थानीय निकायका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरूका लागि परेको उम्मेदवारीमा महिलाको संख्या ४ हजार ४ सय ९ जना मात्र रहेको छ । यो नगर र गाउँपालिका प्रमुखका लागि परेको कुल उम्मेदवारीको केवल ५.६७ प्रतिशत मात्र रहेको निर्वाचन आयोग नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार