गठबन्धनको सिट बाँडफाँडप्रति माधव समूहको असन्तुष्टि

द्वारा प्रकाशित गरिएको हो |
April 25th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भईरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति व्यापक असन्तुष्टि जनाएका छन् । अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमती भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर गत बैशाख १० गते शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरुलाई उत्साही नबनाएको पनि स्पष्ट पारेका छन् । महानगरपालिका र उपमहा नगरपालिकाको पदहरुको सिट बाँडफाँडले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाई रहेको थियो । उनले पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरुको बाँडफाँड उत्साहवर्द्वक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिर्पोटहरु सुन्दाखेरी त्यति आशावादी र उत्साही हुने स्थिति छैन । हामीले भनेका थियौ–देशैभरी हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशैभरी हाम्रो पार्टीले न्यूनतम रुपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ । त्यसैगरी हामीले भनेका
थियौ । नेकपा (माओवादी केन्द्र)ले जितेको ठाउँमा सोही पार्टी, नेपाली कांग्रेसले जितेको ठाउँमा काग्रेस, जनता समाजवादी पार्टीले जितको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनु पर्दछ । त्यसमा आम रुपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दावी हाम्रो लाग्नु पर्दछ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।’
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षडयन्त्र एमालेले गरिरहेको आरोप लगाएका छन । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिँएको उल्लेख गर्दै अध्यक्ष नेपालले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिएका छन् । ‘नोमिनेशन गर्ने दुई दिन यो दुई दिन राखिएकोमा पनि षडयन्त्र होला । ११ गते नोमिनेशन गर्लान र, १२ गते मान्छेको अनुहार हेरी विद्रोही उम्मेदवार खडा गरिदिउला भनि सोचेका पनि
होलान् । अनि आफूले मात्रै त्यस्तो तिकडम गर्न जानेको छ भनि ठानेका होलान । अरुले पनि त्यस्तो तिकडम जानेको छ । केन्द्रबाट पछारिए, प्रदेशबाट पछारिए । राष्ट्रिय सभाबाट पछारिए । यसरी पछारिदा पनि अझै होस खुलेको छैन । पहिलो शक्ति हुँ भन्ने दम्भ होला,’ अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरु निराश र हतास मनस्थितिमा रहेको दावी गर्दै उनीहरुलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार