एक दर्जन एसएसपी बढुवाको तयारीमा

द्वारा प्रकाशित गरिएको हो |
April 25th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाल प्रहरीमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रक्रिया शुरु भएको छ । चुनावी आचारसंहिता लागेकाले निर्वाचन आयोगले अनुमति दिएसँगै प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीमा हाल एसएसपी पदमा १२ सिट खाली रहेको छ । खाली सिटमा बढुवा गर्नका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति दिइसकेको छ ।
निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसँग रिक्त पदमा बढुवा गर्न अनुमति मागेको थियो। सोही अनुरुप आयोगले मन्त्रालयलाई अनुमति दिएसँगै रिक्त पदको लागि प्रक्रिया अघि बढेको बताइएको छ । १२ सिटको लागि तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । २०५१ चैतमा प्रहरी सेवामा प्रवेश गर्ने टोलीबाट प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट पनि बढुवाको प्रतिस्पर्धामा रहेका छन् । उनी निर्मला पन्त प्रकरणमा कञ्चनपुर जिल्ला प्रहरी प्रमुख थिए । उनी निलम्बनमा परेर मुद्दा खेपेका प्रहरी अधिकृत हुन् । पछि सफाई पाए ।
कञ्चनपुरमा हत्या गरिएकी पन्त प्रकरणमा निलम्बन परेर मुद्दा खेपेका एसपी विष्ट बरियता सूचीको पहिलो नम्बरमा रहेका छन् । पन्त बलात्कार तथा हत्याकाण्डमा तानिएका बिष्टमाथि लागेको निलम्बन फुकुवा भइसकेको
छ । त्यसैले उनकोएसएसपी बढुवाको प्रबल सम्भावना रहेको छ । त्यस्तै २०५३ पुसमा पाँच रूपैयाँको टिकट टासेर राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थान्तरण गरिएका टोली समेत यसपाली एसएसपी बढुवाको प्रतिस्पर्धामा रहेका छन् । उक्त टोलीबाट एसपी सिद्धिबिक्रम शाह बढुवाको दुई नम्बर बरियतामा रहेका छन् । तर, उनी उनी रौतहटका पत्रकारलाई लागूऔषधको नक्कली कारोबारमा फसाएपछि चर्को विवादमा परेर हेडक्वार्टर तानिएका एसपी हुन् । उनी अहिले पनि एक नम्बरमा एसएसपीमा बढुवा हुनुपर्ने भन्दै साम, दाम र दण्डभेदको नीति सहित अघि बढेका छन् ।
अहिले उनी ललितपुर जिप्रकामा कार्यरत छन् । रौतहट काण्डमा गठित छानबिन समितिले शाहले पत्रकार फसाउन खोजेको रिपोर्ट दिएकाले उनलाई बढुवा हुन त्यति सहज नभएको एकाथरिको बुझाइ रहेको छ । कारवाहीको सिफारिस गरिएका व्यक्तिलाई बढुवा गरिँदा नियम, कानुनको धज्जी उड्ने भन्दै सम्बन्धित अधिकारीहरुले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई जानकारी गराएको बताइन्छ । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागबाटै आएका सुशीलसिंह राठौर बढुवाको तेस्रो नम्बर बरियतामा छन् । २०५८ असारमा रोल्पाको होलेरी चौकी आक्रमणको कुनै सुचना दिन नसकेको भनेर अयोग्य आरोप लागेका राठौर प्रहरी संगठनभित्र विवादित एसपी हुन् ।
आफ्नो ब्याचबाट प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा हुँदा उनी एक नम्बरमा बढुवा भएका थिए । उनी काबिल प्रहरी अफिसरको रुपमा
चिनिन्छन् ।
एसपी राठौरले जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सफल कमाण्ड गरिसकेका छन् । हाल उनले बागमती प्रदेश टाफिक प्रहरी कार्यालयको कमाण्ड सम्हालिरहेका छन् ।
त्यस्तै बढुवाको प्रतिस्पर्धामा क्रमशः माधव श्रेष्ठ, उमा चतुर्वेदी, डम्बर बिक, ओम राना, सुरेन्द्र गुरुङ, हिमालय श्रेष्ठ, गणेश चन्द र बिमल बस्नेत रहेका छन्। चतुर्वेदी, बिक, राना, गुरूङ अनुसन्धानबाट आएका हुन् । बस्नेत समेत विवादित प्रहरी अधिकृत हुन् । बस्नेत भ्रष्टाचार काण्डमा पाँच ग्रेड घटुवा भएका अधिकृत हुन् । उनले घुस रकम नियमित आफ्नो खातामा जम्मा गर्ने गरेको पाइएको
थियो । उनले अदालतबाट हालै मात्र उक्त कारबाही बदरको आदेश ल्याएका छन् ।
त्यस्तै एसपी राना समेत अनेकन काण्डमा मुछिएका प्रहरी हुन् । रसुवा छँदा यताबाट रक्तचन्दन पास गराउने र उताबाट सुन ल्याउनेलाई रानाले संरक्षण गरेको आरोप लागेको थियो । सोही काण्डमा सेनाका एक जना कर्णेलको जागिर समेत गएको थियो । यस्तै गणेश चन्द नेपाल प्रहरीबाट करियर विकास गर्दै गएका अफिसर हुन् । भर्ना र तालिम नेपाल प्रहरीमा गरे पनि उनलाई पछि विशेष प्रहरीमा पठाइएको थियो । उनी दागंमा बस्दा गिटी बालुवा तस्करीमा मुछिए पनि प्रमाणित हुन सकेको
थिएन । त्यसैगरी एसपी सुरेन्द्र गुरुङ जिल्ला प्रहरी कार्यालय गोरखाको इन्चार्ज हुँदा रक्सी खाएर मातेको अवस्थामा भेटिएका भन्दै चर्को आलोचना खेपेका प्रहरी अधिकृत हुन् । त्यसपछि नै उनी गोरखाबाट तानिएका थिए । यस्तै हिमालय श्रेष्ठ भक्तपुर इन्चार्ज भएर बस्दा काम गर्न नसकेको आरोप लागेको थियो । त्यसैगरी एसपी उमा चर्तुवेदी प्रहरी संगठनभित्र काबिल प्रहरी अफिसरको रुपमा चिनिन्छन् । उनी कञ्चनपुर प्रमुखबाट सरूवा भएका हुन् ।
त्यस्तै एसएसपीमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोज कुमार केसी र दान बहादुर कार्की पनि एसएसपीको प्रतिस्पर्धामा रहेका
छन् । नयाँ ब्याचबाट प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की समेत काबिल प्रहरी अफिसर मानिन्छन् । यसअघि ३० चैतमा बढुवा समितिले एसएसपीबाट प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा गदर्न बरियतामा अगाडी रहेका अधिकृतलाई मात्र बढुवा सिफारिस गरेको थियो ।
बढुवा हुनलाई एसएसपीको रिक्त १२ पदमा कम्तिमा आठ जना राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरु पर्ने निश्चित जस्तै छ । बढुवामा डिल्लीराज बिष्ट एक नम्बर र बाँकी दुई नम्बरदेखि ११ नम्बरसम्म विभागबाट आएकाहरु छन् । अन्तिम १२ नम्बरमा भने २०५४ सालमा प्रहरी सेवामा प्रवेश गरेका एसपी बढुवा हुनेछन् । एसएसपीमा बढुवा गर्दा बरियतालाई कायम राखेको अवस्थामा २०५४ मा सेवा प्रवेश गरेका एकलजना बढुवा हुनेछन् । उक्त ब्याचबाट १ नम्बर बरियता सूचीमा राजन अधिकारी रहेको प्रहरी सुत्रले बताएको छ । यसै बीच प्रहरीले ६ जना डिआईजीको सरूवा गरेको छ । जसमा डिआईजी प्रकाशजंग कार्की अपराध अनुसन्धान निर्देशनालय, उमेश रञ्जितकार महिला वालबालिका तथा जेष्ठ नागरिक निर्देशनालय, पुरूषोत्तम कडेल सिआईबी, पूजा सिंह बागमती प्रदेश हेटौडा प्रमुख र मुकुन्द राज आचार्य कार्य निर्देशनालयमा सरूवा गरिएको
छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार