जताततै गठबन्धनमा सकस

द्वारा प्रकाशित गरिएको हो |
April 18th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

सुर्खेत । छसस । कर्णाली प्रदेशमा पाँच दलीय गठबन्धनलाई उम्मेदवार छनोट गर्न निकै समस्या भइरहेको छ । तर, प्रमुख प्रतिपक्ष नेकपा(एमाले)ले भने धमाधम स्थानीय तहमा आफ्ना उम्मेदवार सिफारिस गरिरहेको छ । नेकपा(माओवादी केन्द्र)का कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले १० जिल्लामा भएको छलफलमा कुनै सहमति जुटाउन सकेका छैनन् । कर्णाली प्रदेशमा माओवादी केन्द्रको राम्रो पकड छ तर नेकपा(एकीकृत समाजवादी) र नेपाली कांग्रेसले हैसियत भन्दा बढी भागबण्डा माग्दा हिजो साँझ सम्म कुनै पनि जिल्लाहरूमा ठोस सहमति हुन सकेको छैन । सबै जिल्लाहबाट कहाँ कसरी सहमति गर्ने भनेर जिल्लाको रिपोर्ट आएको छ, तर सहमतिभन्दा विमतिकै रिपोर्ट बढी आएकाले माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीले गम्भीर छलफल गरिरहेकी छिन। उनले जिल्लाबाट रिपोर्ट जे आए पनि प्रदेशबाट सहमति गरेर वैशाख ५ गतेसम्म केन्द्रमा सम्म रिपोर्ट पठाउने भने पनि हिजो साँझसम्म रिपोर्ट गएको छैन । गत बैशाख ४ र ५ गते एकीकृत समाजवादी र नेपाली कांग्रेससँग माओवादी केन्द्रले छलफल गरेको थियो । एकीकृत समाजवादी र कांग्रेसले आफ्नो हैसियातभन्दा ठूलो भाग खोजेपछि सहमति हुन नसकेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । रुकुम पश्चिम जिल्लामा कुनै पालिका नजितेको नेपाली कांग्रेसले ६ पालिका मध्ये तीन पालिकासहित जिल्ला समन्वय प्रमुख मागेपछि सहमति हुन नसकेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । सदरमुकाम मुसीकोट पालिका कांग्रेसले पाउनुपर्ने बटमलाइन बनाएकाले समस्या भइरहेको बताइएको छ ।
डोल्पामा एउटा पालिका पनि नजितेको कांग्रेसले सदरमुकामसहित तीन पालिका मागेपछि सहमति हुन नसकेको भन्दै प्रदेशमा जानकारी गराएको माओवादी केन्द्रका काली बहादुर मल्लले बताएका छन् । जाजरकोटबाट सत्तासीन पाँच दलहरुले जितेको ठाउँमा सुरक्षित गर्दै एमालेले जितेको ठाउँमा मात्र भागबन्डा गर्ने सहमतिसहितको पत्र प्रदेशमा पठाएको जाजरकोट माओवादी केन्द्रका जिल्ला इन्चार्ज गगनबहादुर खड्काले बताएका छन् । सदरमुकामलाई नै सबैको प्रतिष्ठाको विषय बनाउदा ठोस सहमति हुन सकेको छैन । सदरमुकाममा एमालेले जितेका कारण त्यहाँ आफूले पाउनुपर्ने माग एकीकृत समाजवादीको रहदै आएको
छ । तर एकीकृत समाजवादीको पकड खासै छैन ।
सल्यान जिल्लामा पनि सदरमुकाम नै प्रतिष्ठाको विषय बनेको छ । केन्द्रबाट गरिएको सर्कुलरभन्दा बाहिर गएर छलफल गर्न थालेपछि सहमति हुन नसकेको त्यहाँका पाँच दलीय गठबन्धनका नेताहरू बताउँछन् । सहमतिका लागि हुने गरेको वार्तामा उम्मेदवारका आकांक्षी नै बस्ने भएकाले सहमति हुन नसकेको स्रोतको दाबी रहेको छ । कालीकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जिल्लामा समेत भागबन्डा मिलेको छैन । कालिकोटमा माओवादी केन्द्रले सबै पालिका मागेको छ। कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीको क्षेत्र जुम्ला जिल्लामा पनि अहिलेसम्म कुरा मिल्न सकेको छैन । जिल्लाबाट आएको रिपोर्टको विषयमा वैशाख ४ र ५ गते प्रदेशमा बसेर निर्णायक छलफल गर्दा पनि कुरा नमिलेको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिएकी छिन् । उता नेकपा(एमाले) ले भने धमाधम आफ्ना उम्मेद्वार तोक्न थालेको छ। एमालेमा उत्साह छ,तर गठबन्धन दलहरूमा अलमल देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार