महानगर र उपमहानगरमा गठबन्धनमा ल्याङल्याङ

द्वारा प्रकाशित गरिएको हो |
April 18th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाली कांग्रेस पार्टीभित्र चुनावी तालमेलबारे धेरै असन्तुष्टी भएपनि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको निरन्तरता दिने प्रतिवद्ध जनाएका छन् । आन्तरिक बैठकदेखि सार्वजनिक मञ्चसम्मै देउवाले ‘आफूलाई प्रधानमन्त्री बनाउने दलहरुको साथ नछाड्ने’ वाचा गर्दै आएका छन् ।
कांग्रेसको गत कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धन जोगाएर लैजाने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताउदै आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गरेका दललाई बीचैमा छाडेर अलपत्र नपार्ने बताएका छन् ।
चुनावी गठबन्धनलाई राजनीतिक रुपमा पुष्टि गर्न देउवाले यस्ता धारणा राखेपनि उनको वचन उनैविरुद्ध ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको चुनाबी गठबन्धनमा ‘बार्गेनिङ’ को साधन बन्न थालेको छ । चुनावी तालमेल नगरे माओवादी केन्द्रले एमालेसँग गठबन्धन गर्नसक्ने भय देउवाले कांग्रेस कार्यकर्तालाई देखाउँदै आएका छन् । प्रचण्ड, माधव कुमार नेपालसहित गठबन्धनका नेताहरुले भने त्यही डर देउवालाई देखाएर बढीभन्दा बढी शक्ति आर्जन गर्न खोजिरहेका
छन् ।
चुनावी तालमेलबारे कांग्रेसमा किचलो जारी नै रहेको छ । अधिकांश जिल्लामा तालमेलविरुद्ध कांग्रेस कार्यकर्ता उभिएका छन् । यद्यपि सभापति देउवाले भने गठबन्धन जसरीपनि जोगाउने प्रतिवद्धता जनाउँदै आएका छन् ।
कांग्रेसभित्र बढ्दो किचलोबीच गठबन्धनमा रहेका अन्य दलहरुले पनि कांग्रेसमाथि नै दवाव बढाएका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आपसमै सल्लाह गरेर सामुहिक सौदाबाजीको अभ्यास थालेका छन् ।
बैशाख ४ गते आइतबारको गठबन्धन बैठकमा माओवादी केन्द्र,एकीकृत समाजवादी, जसपा तीन दलले मात्र तीन महानगरपालिका र १० उप महानगरपालिकामा आफ्नो दावी प्रस्तुत गरेका छन् । हेटौंडा उपमहानगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुबैको दावी रहेको छ ।
त्यसबाहेक सबैतिर तीन दलले एकल दावी प्रस्तुत गरेका छन् । तीन दलको दावी हेर्दा नै कांग्रेसविरुद्ध संगठित सौदाबाजी भइरहेको छ। प्रचण्ड, माधव र उपेन्द्र यादव एउटै पार्टीको भएझै प्रस्तुति देखिन्छ । गठबन्धनमा शक्ति बाँडफाँटमा यी दलहरुको सामुहिक सौदाबाजी देखिन्छ । कांग्रेस एक्लै परेको छ ।
माओवादी केन्द्र अध्यक्ष प्रचण्डले आइतबारमात्रै गठबन्धन कार्यदल बैठकअघि जसपाका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच निरन्तर संवाद हुँदै आइरहेको छ । एक्लाएक्लै प्रस्तुत हुँदा कांग्रेसको बार्गेनिङ पावर बढ्ने भएकोले ती दलबीच अनौपचारिक कार्यगत एकता भएको देखिन्छ ।
गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिका केन्द्रबाटै भागबण्डा गर्ने सहमति भएको छ । पाँच दलीय गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिमा आइतबार ६ वटा महानगर र ११ वटा उपमहानगरपालिकाको नेतृत्व बाँडफाँटबारे छलफल भएको थियो ।
बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले ३ महानगर र १० उपमहानगरपालिकामा नेतृत्व दावी गरेका छन् । माओवादी केन्द्रले भरतपुर महानगरपालिका, धरान उपमहा नगरपालिका, जितपुर सिमरा उपमहा नरपालिका, घोराही उपम हानगरपालिका र हेटौंडा उपमहा नगरपालिकामा मेयर पदको दाबी गरेको बताइएको छ ।
एकीकृत समाजवादीले पोखरा महा नगरपालिका, हेटौंडा उपमहा नगरपालिका, इटहरी उपमहानगरपालिका र तुलसीपुर उपमहा नगरपालिकामा नेतृत्व दाबी गरेको छ । बुटवलमा पनि नेकपा एकीकृतको दाबी छ यद्यपी तुलसीपुर पाउँदा बुटवलमा पनि उपमेयर मागेको बताइएको छ । त्यस्तै जसपाले वीरगञ्ज महानगरसहित नेपालगञ्ज र जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख दाबी गरेको छ । तर धरान उपमहानगरपालिकामा पनि जसपाको झिनो दावी रहेको छ ।
गठबन्धनमा महानगर र उपमहा नगरको नेतृत्वबारे केन्द्रबाटै टुंगो लगाउने सहमति यसअघि नै भइसकेको छ । जस अनुसार ६ महानगर र ११ उपमहानगर गरी १७ स्थानीय तहको नेतृत्व बाँडफाँटमा छलफल केन्द्रीत छ । १७ मध्ये १३ वटा स्थानीय तह अर्थात ७० प्रतिशतभन्दा बढी पालिकाको नेतृत्वमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले दाबी गरेका छन् । गत आइतबारको बैठकका आधारमा कांग्रेसले पहिला देखिनै काठमाडौं, विराटनगर, ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकामा दाबी गर्दै आएकाले तीन दलले दाबी गरेका थिएनन । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने सबै तहको नेतृत्वमा कांग्रेसको दाबी स्वतः रहने बताउँदै आएका छन् ।
कांग्रेस गठबन्धनको प्रमुख शक्ति हो । अन्य दलहरुले आफ्नो दाबी राखेका छन् । कांग्रेसको सबैमा स्वतः दाबी हुने पौडेलले बताएका छन । गठबन्धन बैठकमा तीन दलको सामूहिक सौदाबाजी सुरु भएपछि कांग्रेस भने दवावमा परेको
छ । मुलुकका ११ वटा उपमहानगरपालिका मध्ये धनगढी उपमहानगरपालिकाको प्रमुखमा मात्रै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले दाबी गरेका
छैनन् । सो उपमहानगरपालिकामा यसअघि कांग्रेसले जितेको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवाको निर्वाचन क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकामा देउवा रिसाउछन् भनेर यी तीन दलले धनगढी उपमहानगरपालिकामा दाबी नगरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार