विभाजित भयो रंक्तिम सांस्कृतिक अभियान

द्वारा प्रकाशित गरिएको हो |
April 13th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

 

काठमाडौं । छसस । नेकपा (मसाल)को सांस्कृतिक मोर्चा “रक्तिम सांस्कृतिक अभियान” औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले गत चैत २६ गते शनिबार ३६ औं स्थापना दिवस मनाउँदै नारायण शर्माको अध्यक्षमा २६ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको छ । रक्तिम सांस्कृतिक अभियानको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको जनाएको छ । नयाँ समितिको उपाध्यक्षहरुमा निलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । त्यस्तै, महासचिवमा उदय रिजाल, सचिवमा धर्मदेव पन्त, शरद लामिछाने र कोषाध्यक्षमा डम्बर भण्डारी चयन गरिएका छन् ।
रक्तिमको नयाँ कार्यसमिति रहेका सदस्य कलाकारहरुमा शंकर पुन (गुल्मी), धनबहादुर थापा (बागलुङ), समिर वि.क. (रुपन्देही) पूर्ण राई ‘सर्वहारा’ (मोरङ), खिमा पुन (म्याग्दी), ज्योती फौजा
(पर्वत), पम्फा बन्जाडे (दाङ), माधव भाट क्षेत्री (कपिलवस्तु), विमा पुन
(गुल्मी), नरेश झुकाल (डडेलधुरा), प्रतिभा शर्मा(काठमाडौं), हिक्मत शाही (कालीकोट), राकेश बस्याल(सुर्खेत), सुमन भण्डारी ‘संसार’ (प्युठान), कमला क्षेत्री (नवलपुर), सुजन थापा (कास्की), इश्वर पाण्डे
(बाँके) र कृति पुन (डोटी) रहेका छन् । सदस्यको तीन पद हाल रिक्त राखिएको छ । यसैगरि सल्लाहकारहरुमा संयोजक नारायण योगी (दाङ), सदस्यहरुमा सुरेन्द्र भण्डारी (मोरङ) र नविना के.सी.(काठमाडौं) रहेका छन् । सल्लाहकार सदस्यको पनि दुई पद रिक्त राखिएको छ ।
मसालभित्र वैचारिक बहस चलिरहेको छ । पार्टी नेतृत्वले लिएको लाइनप्रति असहमति राखेपछि रक्तिमको संस्थापन पक्षलाई पार्टीले बेवास्ता गर्दै जिम्मेवारी विहीन बनाएको थियो । रक्तिमको बहुसंख्यक सदस्यहरुले संस्थापनको विचारसँग असहमति राखेपछि पार्टीले रेम रानाको अध्यक्षतामा छुटै समिति बनाएको थियो । उक्त समिति अवैध भएको रक्तिम संस्थापन पक्षले त्यसैबेला दाबी गरेको थियो ।
जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ चैत्र २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो । जीवन शर्माले पनि नारायण शर्माको नेतृत्वको नयाँ समितिलाई समर्थन गरेका छन् ।
घोषणा सभामा बोल्दै अध्यक्ष शर्माले रक्तिमको ३५ वर्षको यात्रामा रक्तिमले अनेकौं आरोह–अवरोहको सामना गर्नु परेको जनाउँदै आफूहरु सर्वहारा क्रान्तिप्रति उत्तरदायी बनिरहने पनि बताएका
थिए । जतिसुकै कठिनाइहरु आइलागे पनि रक्तिम आफ्नो लक्ष्यप्रति कहिल्यै विचलित नभएको र अबका दिनहरुमा पनि जनवादी सांस्कृतिक अभियान मार्फत नेपाली गरिखाने जनताको पक्षमा निरन्तर सेवा गर्ने प्रतिबद्धता जनाएका थिए ।
नयाँ कार्यसमितिलाई शुभकामना दिँदै जनसंस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले पछिल्लो समयमा नेपाली समाजमा संस्कृति विचलन सबैतिर देखा परेकोप्रति चिन्ता व्यक्त गर्दै प्रगतिशील सांस्कृतिककर्मीहरु अविचलित रुपमा अगाडि बढ्नुपर्ने बताएका थिए । रक्तिमका पूर्व अध्यक्ष नारायण योगीले रक्तिमको विराशतपूर्ण इतिहास र त्यसको प्रवाहलाई कसैले रोक्न खोजेर रोकिने भन्दा यो अझै शक्तिशाली भएर जाने बताउँदै युवा सांस्कृतिककर्मीहरुलाई हौसला दिएका थिए । सो कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका युवा नेता चिरन पुनले नेपाली जनसंस्कृतिक इतिहासमा रक्तिमको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै, नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । पुनले आफ्नो पार्टीसँग एकीकृत जनक्रान्ति, वैज्ञानिक समाजवाद र समाजवाद प्राप्तिको लागि सहकार्य गर्न अनुरोध गरेका थिए ।
त्यसैगरी अखिल नेपाल जनसंस्कृतिक महासंघका उपाध्यक्ष मित्रलाल पंगेनीले नेपाली समाजमा विलक्षण क्षमता र सम्भावना भएपनि विभिन्न भागमा विभाजन हुनु दुर्भाग्य भएको बताउँदै, सम्पत्तिमात्रै निजी नभएर पार्टी र आन्दोलन पनि निजीकरण भएकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा युवा बाम नेता रामबहादुर बुढाले नेपाली जनसंस्कृतिको यात्रामा रक्तिमको अतुलनीय योगदान रहेको र आगामी समयमा यसको अझ बढी आवश्यकता रहेको बताएका
थिए । पत्रकार सेनानी गाविन्द सिंह थापाले रक्तिमले जनवादी आन्दोलनमा पुर्याएको योगदान कसैले मेटाउन नसक्ने र बरु अब यसलाई सशक्त बनाउनु पर्ने धारणा राखेका थिए ।
त्यस्तै, प्रेस सेन्टर नेपाल अनलाईन विभागका संयोजक तुलसी सापकोटाले रक्तिमको गरिमामय इतिहासलाई अझ सशक्त र प्रभावशाली बनाउने बाटोमा गएकोले आफूलाई खुशी लागेको बताएका थिए । सो कार्यक्रममा जनकलाकारहरुको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने उपाध्यक्ष दलबहादुर विकको अध्यक्षता सम्पन्न भएको कार्यक्रमलाई महासचिव उदय रिजालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार