जेष्ठ पत्रकारलाई मासिक वृत्ति दिइने

द्वारा प्रकाशित गरिएको हो |
February 28th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । पत्रकार वृत्ति कोष स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ को अधिनमा रही कोष सञ्चालन समितिले पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ स्वीकृत गरेको जनाएको छ । गत फागुन ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ स्वीकृत गरेको जनाइएको छ । पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ ले व्यवस्था गरे अनुसार अब ६५ वर्ष पूरा भएका पत्रकारहरूले मासिक वृत्ति रकम पाउने छन् । यसका साथै द्वन्द्व पीडित पत्रकार वा निजको परिवार तथा सन्ततिलाई छात्रवृत्ति रकम सहयोग समेत प्रदान गर्ने व्यवस्था मापदण्डले गरेको बताइएको
छ ।
पत्रकारिताको सिलसिलामा विगतको सशस्त्र द्वन्द्वमा परी मृत्यू भएका वा शारीरिक रूपमा अशक्तता भएका पत्रकारहरूले समेत मासिक वृत्ति प्राप्त गर्ने भएका छन् । स्वीकृत मापदण्ड अनुसार पीडित पत्रकार वा निजको परिवारलाई मासिक वृत्ति पहिलो पटक प्रदान गरेको मितिले सात वर्षसम्म मासिक रू. १० हजारका दरले प्रदान गरिने व्यवस्था गरिएको छ । वरिष्ठ पत्रकारहरूले यो सुविधा अति कम भएको र दोव्वर बढाइ कम्तिमा बीस हजार बनाइनु पर्ने सरकारलाई सुझाव दिएका थिए,तर त्यो सुझाव कार्यान्वयन गर्न सञ्चार र अर्थ मन्त्रालयका अधिकारीहरूले आनाकानी गरेको बुझिएको छ ।
मापदण्ड अनुसार द्वन्द्व पीडित पत्रकारहरूमा शारीरिक अशक्तता वृत्ति समेत नेपाल सरकारले उपलब्ध गराउने छ । शारीरिक अशक्तता वृत्ति पनि मासिक रू. १० हजार र पाँच हजारका दरले गरिने व्यवस्था गरिएको बताइएको छ । द्वन्द्व पीडित पत्रकारहरूले सन्तति वृत्ति पाउने भएका छन् । पत्रकारिताको सिलसिलामा द्वन्द्वमा परी मृत्यू भएका वा शारीरिक रूपमा अशक्तता भएका पत्रकारहरूका सन्तति दुई जनाले १८ वर्ष उमेर पूरा नभएसम्म शैक्षिक वृत्ति वापत वार्षिक रू. १५ हजार र रू. १० हजार प्राप्त गर्ने छन् । यो रकम भने समयसामयिक उपयुक्त नै भएको पत्रकारहरूले प्रतिक्रिया गरिएको
छ । जेष्ठ पत्रकारहरूको हकमा ६५ वर्ष उमेर पूरा गरेका र मापदण्डले व्यवस्था गरेको आधार पुष्टि हुने सरकारी आधिकारिक कागजात प्रस्तुत गरेमा ६५ वर्षदेखि ७९ वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक वृत्ति पाँच हजार, सत्तरी वर्षदेखि पचहत्तर वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक सात हजार, छैहत्तर वर्षदेखि असी वर्षसम्म उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक मासिक १० हजार दिइने कार्यविधि पारित भएको छ । यसैगरि ८१ वर्षभन्दा बढी उमेर समूहका जेष्ठ पत्रकारहरूलाई मासिक पत्रकार वृत्ति अक्षय कोष गठन भएको र त्यस कोषमा हाल साँढे छ करोड रकम नेपाल सरकारले बैंकमा जम्मा गरेको र सो अक्षय कोषबाट आर्जित ब्याज रकमबाट पत्रकारहरूका लागि मासिक पन्ध्र हजारका दरले सरकारले मासिक वृत्ति प्रदान गर्ने व्यवस्था पत्रकार वृत्ति कोष सञ्चालन मापदण्डले गरेको बताइएको छ । तर ८१ वर्ष उमेर पार गरेका पत्रकार अति कम हुने र कोषको रकम बचत हुने गरि कार्यविधि बनाइएकोमा पत्रकारहरूको गुनासो सुनिएको छ ।
सो मापदण्ड निर्माण समितिको संयोजकमा सञ्रुचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको सक्रियतामा छोटो समयमै पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ निर्माण भएर स्वीकृत भएको छ । तर मापदण्ड सर्वस्वीकार्य बन्न नसकेकोमा गुनासो सुनिएको छ । भलै यसमा पछि संशोधन हुने आशा गरिएको छ । एउटा कार्यविधि र मापदण्ड ढिलै भएपनि तोकिएको छ, यसैलाई पत्रकारहरूले सकारात्मक रूपमा लिएका छन् । पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ निर्माण समितिका सदस्यहरूमा सञ्रुचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख सहसचिव चक्र बुढा, गृह मन्त्राललयका सहसचिव फणिन्द्रमणि पोखरेल, सूचना तथा प्रसारण विभागका महानिर्देशक गगन हमाल र प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गोपाल बुढाथोकी सम्मिलित पत्रकार वृत्ति कोष सञ्चालन समितिले पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ तयार गरेको बताइएको छ ।
पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड २०७८ चालु आर्थिक वर्ष २०७८÷०७९ भित्रै कार्यान्वयन गर्ने तयारी गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक तथा कोष सञ्चालन समितिका सदस्य सचिव गगन हमालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार