आरजुकाे प्यास पैसा र राजनीतिक शक्ति आर्जनमा केन्द्रित

द्वारा प्रकाशित गरिएको हो |
February 25th, 2022
अनुमानित पढ्ने समय : 6 मिनेट
फाईल तस्विर
प्रधानमन्त्री ओलीको विदाई संगै सीताराम बरालले लेखे, ‘आरजुले राधिकाबाट सिकून्, देउवाले ओलीबाट नसिकून् ।’ उनको विश्लेषण छ, ‘यसअघि देउवा प्रधानमन्त्री छँदा राजनीतिक नियुक्ति, ठूला ठेक्कापट्टा, उच्च पदस्थका सरुवा–बढुवा आदिमा आरजुको नाम जोडिएका थिए। अहिले देउवा परिवारको जुन आर्थिक हैसियत छ, त्यसको जग देउवा पटक–पटक सत्तामा पुगेका बेला आरजुले गरेको ‘रजगज’बाट बसेको हो।
बरालको यो विश्लेषणले आफ्ना श्रीमान शेरवहादुर देउवा प्रधानमन्त्री भएको समयमा परिवारको आर्थिक हैसियत उकास्ने आरजु तरिका प्रष्ट पार्छ। अहिलेका प्रधानमन्त्री देउवाको आर्थिक हैसियत पत्नी आरजुले गरेको पदिय दुरुपयोगको एउटा उदाहरण हो। २०४८ सालमा पहिलो पटक गृहमन्त्री हुँदा देउवा काठमाण्डौंमा डेरामै वस्दथे। उनी गृहमन्त्री भएकै अवस्थामा नेपालका लागि तत्कालीन अमेरिकन राजदूत जुलीया च्याङले आरजुसंग बिवाहको व्यवस्था मिलाएका थिए।
२०४६ सालको आन्दोलनको समयमा बेलायतमा पढ्दै गरेका देउवा २०४८ सालको आम निर्वाचन अघि नेपाल फर्के। २०४८ सालमा डडेलधुरावाट चुनाव जितेपछि देउवाको सत्ता यात्रा सुरु भयो।  २०५२ मा देउवाले बुझाएको सम्पत्ति विवरणमा उनको नाममा ८० तोला सुन, दुई हजार तोला चाँदी र चाँदीका भाँडाकुडा र जवाहरातको गहना रहेको उल्लेख छ। त्यतिवेला आरजुको नाममा भने काठमाणडौ र भक्तपुरमा पाँच रोपनी तीन आना एक पैसा र बर्दियामा सात बिगाहा ६ कठ्ठा तीन धुर जग्गा थियो।
२०५२ सम्म काठमाणडौंमा घर नभएका देउवासंग अहिले बुढानीलकण्ठमा आलीसान बंगला छ। यसका अलावा देउवाको आर्थिक हैसियत कुनै सभ्रान्तको भन्दा कम छैन। २०६१ फागुन ६ गते राजा ज्ञानेन्द्रले गठन गरेको भ्रष्टाचार नियन्त्रण शाही आयोगले भ्रष्टाचारको आरोपमा देउवा विरुद्द अनुसन्धान थालेको थियो। उनलाई घरवाट पक्राउ गरी प्रहरी नियन्त्रणमा लिइएको थियो। यो मुद्दा किनारा नलाग्दै २०६२ फागुन १ गते सर्वोच्च अदालतल आयोग संविधान अनुसार नभएको भन्दै खारेज गर्ने निर्णय ग¥यो। आयोग खोरेज भएपछि देउवामाथिको अनुसन्धान पनि थन्कियो।
गैससको कमाईः
श्री ३ महाराजको पदवी त्यागेर काठमाण्डौंवाट पाल्पा पुगेका जुद्ध शमशेरको नातिनी आरजुले भारतको पञ्जाब विश्वविद्यालयबाट मनोविज्ञान विषयमा विद्यावारीधी गरेकी छिन्। भारतवाट पढाइ सकेर नेपाल आएपछि महिलामाथि हुने हिंसाको विषयमा आवाज उठाउन साथी संस्थाको स्थापनामा उनको समेत संलग्नता रहेको थियो। सन् १९९२ सालमा स्थापना भएको साथीको संस्थापक आठ जना मध्ये आरजु पनि एक हुन। त्यतिवेलाको समयमा पढेका र उच्चस्तरको घरानाका महिलाहरुले यो संस्थाको स्थापना गरेका थिए।
साथीलाई आर्थिक रुपमा सहयोग गर्ने मध्ये अमेरिकनहरु पनि थिए। तिनै अमेरिकन डोनरहरुको मार्फत आरजुको राजदूत जुलिया चाङसंग भेट भएको जानकारहरु वताउँछन्। देउवाको अस्तव्यस्त जीवनलाई व्यवस्थित गर्न चाङले यो विवाहको संयोजन गरेका थिए। विवाहपछि सन् १९९५ मा देउवा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यहि वर्ष आरजुले भने ग्रामीण महिला विकास तथा एकता केन्द्रको स्थापना गरेकी थिइन। न्यायपूर्ण समाजको स्थापना गर्ने नाराका साथ स्थापना गरिएका उक्त केन्द्रमा राणा अहिले पनि वोर्ड सदस्य रहेकी छन्।
यसको अर्को वर्ष सन् १९९६ मा आरजुको सकृयतामा सुरक्षित मातृत्व नेटवर्क महासंघको स्थापना भयो। अहिले उक्त महासंघको अध्यक्ष आरजु छन। आइयुसिएन, युनेस्को र आइपास जस्ता युएन एजेन्सी र अन्तराष्ट्रिय गैर सरकारी संस्थामा उनको संलग्नता थियो। सन् १९९५ मा देउवा प्रधानमन्त्री बनेसंगै सामाजिक संघ संस्थाहरुलाई दिदै आएको आरजुको समय प्रधानमन्त्री कार्यालय तर्फ केन्द्रित हुन थाल्यो। यससंगै उनको कमाउ धन्दा पनि सुरु भयो। जसले गर्दा उनको सकृयता सामाजिक क्षेत्रमा भन्दा बढि राजनीतिक क्षेत्रमा हुन थाल्यो।
२०५९ मा नेपाली कांग्रेसको विभाजन पछि नेपाली कांग्रेस प्रजातान्त्रिक बन्यो। प्रजातान्त्रिकको नेतृत्व देउवाले गरेपछि आरजुलाई राजनीतिको केन्द्रमा आउन सहज भयो। पार्टी सञ्चालनको लागि फण्ड व्यवस्थापनको काम पनि उनको हातमा आयो। जसले व्यवसायीहरुसँग आरजुको सम्वन्ध बन्दै गयो। उनले २०५३ सालमा मात्र नेपाली कांग्रेसको सदस्यता लिएकी थिइन। देउवा प्रधानमन्त्री भएसंगै उनको सकृयता पनि बढ्दथ्यो। गैसस र परामर्शदाताको कमाइ छाडेर राजनीतिक कमाइमा उनी मज्जाले भुलेको देखिन्छ।
सधै विवादः
आरजु देउवा प्रधानमन्त्री हुनासाथ विवादमा आउन थाल्छिन। यो भन्दा अघिल्लो पटक २०७३ सालमा देउवा प्रधानमन्त्री भएको समयमा  विवादित म्यानपावर व्यवसायी आशा लामालाई राजदूत प्रस्ताव विवादमा आयो। प्रहरी प्रमुखमा सर्वोच्च अदालतको आदेश विपरीत जयबहादुर चन्दलाई नियुक्त गरियो। नियुक्ति, बढुवा र सरुवाका विषयमा आरजुको नाम कहि न कहि जोडिने गरेको छ। त्यससंगै आउछ उनले गर्ने लेन देनको विषय पनि।
अमेरिकाको नजिक भएका कारण पनि उनलाई नेपालमा स्वतन्त्र तिब्बतीयनहरुसँग समेत नजिक रहेको आरोप लाग्ने गरेको छ। यो आरोपलाई भारतको सत्ताधारी भारतीय जनता पार्टीनिकट राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) समर्थित ‘थिंकट्यांक’ इन्डिया फाउण्डेसनले १९–२१ कात्तिक २०७३ मा आयोजना गरेको ‘इन्डिया आइडियाज कन्क्लेभ’ अन्तर्गत ‘इन्डिया एट सेभेन्टी ः डेमोक्रेसी, डेभलपमेन्ट एन्ड डिसेन्ट’ विषयक सम्मेलनको उद्घघाटन कार्यक्रममा देउवाको उपस्थितीले थप पुष्टि गर्छ। भारतको गोवामा आयोजना भएको उक्त कार्यक्रमा देउवाले निर्वासित तिब्बती सरकारका ‘सिक्योङ’ लोब्साङ साङ्गे संग मञ्च सेयर गरेका थिए।
जापानको राजदूत राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिएर विवादमा आएको देउवाले आफ्नो सासु प्रतिमा राणालाई राजदूत नियुक्त गरेर अर्को विवादमा आएका थिए। त्यसको पछाडि पनि आरजुको हात रहेको चर्चा चल्यो। पछिल्लो समयमा नेपालमा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री नियुक्तिको चर्चा चल्दै गर्दा आरजु भने जापानमा घुडाको उपचार गराउदै थिइन। छोराका साथ उपचारको लागि जापान पुगेकी आरजु आमासंगै दुतावासमा बसेकी थिइन। देउवा प्रधामन्त्री नियुक्त हुने भएपछि उनी हतार हतार नेपाल आइन।
आरजु बेला वेलामा आउने अर्को विवादको विषय हो, युलेन्स स्कुल। ललितपुरको खुमलटारमा रहेको उक्त स्कुल काठमाडौं उपत्यकाको महंगो स्कुलमा पर्दछ। आरजुको लगानी रहेको स्कुलले लिने महङ्गो शुल्कका कारण उनी वेला वेलामा विवादमा आउने गरेकी छन्। अहिले भने उक्त स्कुको वेभसाईटवाट आरजुको नाम हटाइएको छ। त्यो भन्दा वढि विवाद भने राजनीतिक लेनदेनको विषयमा बढि केन्द्रित भएको देखिन्छ।
सम्पत्ति शुद्धिकरण विभागले आरजुको नाममा २ अर्ब रुपैया बराबरको सम्पत्ति फेला पारेको थियो। २०७७ मा विभागले गरेको अनुसन्धानमा आरजुको नाममा हाइड्रोपावर, बैंक तथा वित्तिय संस्थाहरूमा राणाको नाममा शेयर भेटिएको छ। राणाले गत निर्वाचनमा निर्वाचन प्रचारप्रसार प्रयोजनका लागि कैलालीमा घर किनेकी थिइन्। उक्त घर खरिद स्रोत र आम्दानी स्रोतबीच तालमेल नमिलेको पनि विभागले जनाएको थियो। सम्पतिको स्रोत नखुेले पनि विभागले आरजुलाई कार्वाहिको प्रकृया भने अगाडि वढाउन सकेन।
पछिल्लो समय राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिको विषयमा पनि आरजुको नाम जोडियो। पौडेल आरजुको लगानी भएको युलियन्स स्कुलमा संलग्न छन। श्रेष्ठ भने आरजुका व्यवसायीक साझेदार हुन। आरजुले जलविद्युत लगायतको क्षेत्रमा श्रेष्ठको माध्यमवाट लगानी गर्दै आएकी छन्। देउवाले भने डा. शंकर शर्मालाई  उपाध्यक्ष बनाउन खोजेका थिए। श्रेष्ठको नियुक्तिको विषमा देउवाले गठबन्धनको बैठकमा माफ माग्नु परेको थियो।
बतासको हावाः
प्रर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आलेले २२ पुसमा दलवल सहित नारायणहिटी संग्राहलय पुगे। संग्राहलयमा बतास समुहले बनाउदै गरेको कफी सप लगायतका संरचना सम्झौता विपरीत भएको भन्दै मन्त्री आलेले असन्तुष्टि जनाए। त्यसपछि काठमाण्डौंमा बतासको विषयमा चर्चा सुरु भयो। बताससंगै बतास अग्रनाइजेसनको वेभसाईटमा सल्लाहकारको रुपमा राखेको आरजुको नाम र फोटोले धेरैको ध्यान तान्यो। मिडियाले यो विषयमा समाचार लेखे।
समाचार आएसंगै आरजुले विज्ञप्ति जारी गर्दै आफु बतासको सल्लाहकार नभएको बताइन। यससंगै बतासले किन आरजुको नाम राखे भन्ने विषयमा चर्चा हुन थाल्यो। बतास समुहका अध्यक्ष रहेका पोखराका आनन्दराज बताससँग देउवाको पुरानो सम्वन्ध थियो। पोखरामा सञ्चालन भएको मणिपाल मेडिकल कलेज बतास र नारायण पौडेलले किने। मणिपालको डिल आरजुले गरेकी थिइन। लगानी बिना धेरै शेयर खोजेपछि बतास र आरजुको विचमा विवाद आएको थियो। त्यो विवादले बतासलाई देउवावाट सदाको लागि टाढा बनायो।
क्याटर पिलर नामक हेभि इक्विपमेन्टको नेपालका लागि डिलरशीप लिन आरजुले नै बतासलाई सघाएकी थिइन। देउवासँग बतासको सम्वन्ध २०५७ देखिको हो। त्यहि सम्वन्धका कारण माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला ऊर्जामन्त्री रहेका डा. प्रकाशशरण महतले बतासलाई नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा नियुक्त गरे। यसको चाँजोपाँजो पनि आरजुले मिलाएकी थिइन।
बतास र देउवाको सम्वन्ध बुझेकाले आलेको कार्वाही थाहा पाउदा अचम्म भएका थिए। तर, उनीहरुको विचमा भएको दरार भने कमैलाई थाहा थियो। देउवाको फेरो समातेर आजको व्यवसायीक हैसियतमा पुगेका बतास पछिल्लो समय रविन्द्र अधिकारीका कारण एमालेका नेताहरु समेत नजिक थिए। अधिकारीको आर्थिक कारोवार हेर्दै आएका बतासको यो नयाँ सम्वन्ध पनि आरजुलाई विझाउने खालको थियो। हेलिकप्टर दुर्घटनामा अधिकारीको मृत्युपछि बतासको एमालेका अर्का नेता तथा अधिकारीका अभिन्न मित्र योगश भट्टराईको नजिक पुगेका थिए। सामान्य कुरा पनि लिएर देउवा निवास जाने बतासको यो नयाँ सम्वन्ध पनि आरजुलाई मन परेको थिए। बतासको पखेटा काट्ने मन्त्री आलेले प्रयास आरजुको लागि भने रमिताको विषय बन्यो।
आफु भन्दा आफ्नो वरीपरि रहेकाहरु बढी जान्ने हुनु हुदैन भन्ने आरजुको पुरानै सोच हो। यहि सोचले बतास मात्र होइन मेडिकल व्यवशायी सुनिल शर्मा समेत यो सरकारको तारोमा परे। पछिल्लो समय त्यहि तारोमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा परेका छन्।
रक्षाबन्धन देखि बालकोटसम्मः
ओलीको समयमा नेपालको सम्वन्ध भारतसंग राम्रो रहेन। सम्वन्ध सुधार्न मोदिका दुतको रुपमा भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं ओर्ले। ६ साउन २०७८ को दिन थियो। विमानस्थलवाट चौथाईवाले सिघै प्रधानमन्त्री निवास वालुाटार लागे। हिन्दुहरु त्यो दिन जनैपुर्णिमा मनाउन व्यस्त थिए। आरजुले पनि अवसरको प्रयोग गर्न पछि परीनन्। उनले चौथाईवालेलाई राखिले स्वागत गरीन। राखि वाध्नुको अर्थ हो, सम्वन्ध दिदी भाइको हुनु।
चैथाईवालेको माध्यमवाट भारतसंग नयाँ सिरावाट सम्वन्ध विकास गर्ने सोचका साथ आरजु अगाडि वढेको देखिन्छ। उनको यो सोच भने प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्ता आएपछि मात्र सार्वजनिक भयो। २६ पुस २०७७ मा भारतको गुजरातमा हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल सम्मेलन’ बढ्दो कोभिड संक्रमणका कारण स्थगित भयो। उक्त सम्मेलनमा भाग लिन २५ पुसमा प्रधानमन्त्री देउवा गुजरात जादै थिए। भ्रमणको दुई साताअघि देखि आरजु उक्त भ्रमणलाई ‘राजकीय’ बनाउने लबिङमा थिइन्।
११ पुसमा व्यक्तिगत भ्रमण भनेर दिल्ली पुगेकी उनले १८ पुसमा भारतीय जनता पार्टी (भाजपा) को विदेश विभाग प्रमुख चौथाइवालेसँग भेट गरीन्। भाइ भुषणको उपचारका लागि दिल्ली गएको भनिए पनि उनले राजनीतिक भेटघाट माथि प्रश्न लाग्यो। प्रश्नको केन्द्रमा थियो आरजुको हैसियत। समान्यतः प्रधानमन्त्रीको विदेश भ्रमणअघिको तयारी परराष्ट्र मन्त्रालयले गर्दछ। तर आरजुको यो पटकको दिल्ली दौडको विषयमा परराष्ट्र मन्त्रालय जानकार समेत थिएन। आरजुकै सल्लाहमा २१ असोजमा प्रकाशशरण महत नेतृत्वको कांग्रेस टोली भारत भ्रमणमा गयो। भारतीय सत्तारुढ दल भाजपासँग कांग्रेसको पार्टीगत सम्बन्ध विस्तार गर्ने योजना सहित नेपाली टोली भारत भ्रमणमा गएको थियो।
आफ्नो पक्षमा निर्णय गराउन आरजुले पदीय हैसियतको घेरा कतिसम्म नाघ्छिन भन्ने पछिल्लो उदाहरण हो, वालकोटमा भएको एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री देउवा विचको भेटवार्ता। गठबन्धनका नेताहरुले एमसीसी अगाडि वढाउन नमानेपछि ६ फागुनको बेलुका प्रधानमन्त्री देउवा पत्नी आरजुलाई लिएर वालकोट पुगेका थिए। वालकोटमा आरजु प्रधानमन्त्रीकै हैसियतमा ओलीसँग वार्तामा सहभागी भइन। ओलीलाई दवाव दिने गरी उनले, ‘तपाइले एमसीसीलाई संसद्वाट अनुमोदन गराउन खोज्नुभएको थियो। अव त्यो वेला आएको छ, यसलाई अनुमोदन गरेर अगाडि वढाऔं’ भनेकी थिइन। ओलीले भने आरजुलाई पाखा लगाउदै, त्यो कुरा हामी मिलाउछौं भनेका थिए।
प्रधानमन्त्री देउवा र ओलीको बैठक समय भर आरजु सक्रिय रुपमा बैठकमा सहभागी भइन। देउवाले ओलीसंग कुरा फाइनल गर्न नसक्ने आरजुको निश्कर्ष थियो। त्यसैले उनी एमसीसीको विषयमा जसरी पनि ओलीलाई मनाउछु भन्दै गाडि चढेर वालकोटतिर लागेकी थिइन। यो उनको लागि तीन दशक अघि अमेरिकहरुले देउवासँग लगन गाठो कसीदिएको ऋण तिर्ने उपयुक्त समय पनि थियो। तर, ओली नगलेपछि आरजुको यो प्रयास भने अगाडि वढेन। तर, एमसीसीलाई अगाडि वढाउने विषयमा पर्दा पछाडि रहेर देउवा भन्दा बढि सक्रिय आरजु भएको देखिन्छ।
आर्थिक, राजनीति र कुटनीतिक क्षेत्रमा आरजुको सकृयता बढ्दो छ। त्यसो त गत निर्वाचनमा देउवाले आरजुलाई उत्तराधिकारीको रुपमा अगाडि सारेका थिए। देउवाको यो सोच कैलाली– ५ का मतदातावाट भने अनुमोदन हुन सकेन। नेपाली कांग्रेसको केन्द्रिय सदस्यका रुपमा पार्टी राजनीतिमा सकृय आरजु देउवापछि बुढानीलकण्ठको शक्तिमा आउने प्रयासमा भने रहेको देखिन्छ। आगामी चुनावले साथ दियो भने उनको यो सोचले बिस्तारै पूर्णता पाउने छ। अहिले उनको प्यास पैसा भन्दा बढि राजनीतिक शक्ति आर्जनमा केन्द्रित रहेको देखिन्छ। त्यसकोलागि आफ्नो पक्षका मानिसहरुलाई नियुक्त दिने काम एउटा प्रकृया मात्र हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार