प्रहरीमा तीन एआईजी थपिने भयो

द्वारा प्रकाशित गरिएको हो |
February 21st, 2022
अनुमानित पढ्ने समय : 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । सरकारले नेपाल प्रहरीमा तीनजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने निर्णय गरेको छ । गत फागुन ५ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन एआईजी थपसहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । यसअघि गृह मन्त्रालयको प्रहरी महाशाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र सचिवले सदर गरेर मन्त्रिपरिषदमा निर्णयार्थ प्रस्तुत गर्न गृह मन्त्री बालकृष्ण खाँण समक्ष प्रस्तुत गरेको थियो । गृह मन्त्री खाँणले टिप्पणी सदर गरेर मन्त्रिपरिषदमा पेस गर्न निर्देशन दिएका थिए । गत फागुन ५ गते पेस हुने बित्तिकै मन्त्रिपरिषद् बैठकले त्यसलाई स्वीकृत गरेको थियो ।
थपिन लागेको एआईजी दरबन्दीमा प्रहरीका डीआइजीहरु दिवेश लोहनी, धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, अरुण बिसी, वसन्त पन्त, रविन्द्र कुमार धानुक, गणेशबहादुर ऐर, ईश्वरबाबु कार्की, वसन्त लामा, घनश्याम अर्याल लगायत एक दर्जन सिनियर डिआइजीहरू बढुवाका प्रमुख दावेदार रहेका छन् । तर बढुवामा भने सिंह,सुवेदी र पन्त पर्ने सम्भावना रहेको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश प्रहरी समन्वय डेस्क र मानव स्रोत विभागमा प्रहरी अतिरिक्त महानिरीक्षकको थप दरबन्दी मागसहित नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गृह मन्त्रालयमा पेस गरेको थियो । प्रहरीको विशिष्टकृत अनुसन्धान इकाइका रुपमा स्थापना भएको ब्यूरोमा प्रहरी नायब महानिरीक्षक (निर्देशक) प्रमुख रहने व्यवस्था केन्द्रीय अनुसन्धान व्यूरो (स्थापना र कार्य सञ्चालन) नियमावली, २०७० मा रहेको छ । अब ब्यूरोमा एआइजीको दरबन्दी थपिएसँगै निर्देशकलाई महानिर्देशक बनाउनु पर्ने हुन्छ ।
यस्तै प्रदेश प्रहरी समन्वय डेस्कका लागि भन्दै एआईजी पदको दरबन्दी सिर्जना गरिएको छ । प्रदेशमा समेत एआईजी नहुँदा प्रदेश सरकार र सुरक्षा निकायसँग समन्वयमा कठिनाइ भइरहेको भन्ने गुनासोका बीच यो पद सिर्जना गर्न लागिएको छ । सातवटै प्रदेशमा यसअघि एआइजीको दरबन्दी रहेकोमा गृह मन्त्री रामबहादुर थापाको कार्यकालमा त्यो दरबन्दी काटि डिआइजीको दरबन्दी कायम गरिएको थियो ।
यस्तै उनकै कार्यकालमा प्रहरीको प्रशासन विभाग र मानवस्रोत विभागलाई गाभिएर मानवस्रोत तथा प्रशासन विभाग बनाइएकोमा अब फुटाएर प्रशासन र मानव स्रोत दुई विभाग बनाइ एआईजी राख्ने तयारी सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार