एनआरएनएको चुनाव विवादमा

द्वारा प्रकाशित गरिएको हो |
February 21st, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । विदेशमा रहेर डलर कमाएर उतै बस्ने र बेलाबेलामा आफन्त भेट्न, दशैं–तिहार मान्न नेपाल आएर राजनीति गर्दै आएका विदेशीएका नेपालीहरूको संगठन “गैर आवासीय नेपाली संघ” (एनआरएनए)को नयाँ नेतृत्वको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएसँगै चुनावी चहलपहल सुरू भएको छ । प्रतिनिधि चयनमा विवाद देखिएपछि चुनाव कहिले हुने अन्यौलता कायम भएको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)द्वारा गठित निर्वाचन समितिले आसन्न निर्वाचनका लागि भन्दै गत फागुन ५ गते बिहिवार प्रतिनिधिको नाम सार्वजनिक गरेपछि अर्काे विवाद सुरू भएको छ ।
आइसीसीका उपाध्यक्ष सोनाम लामाले निर्वाचन तालिका र प्रतिनिधिको नाम सार्वजनिक गरिएकोमा आपत्ति जनाएका छन् । लामाले ‘निर्वाचन तालिका कुमार पन्तजीले हिजो पनि सार्वजनिक गर्नु भएकै हो, उहाँ एक्लैले गरेर हुने भए किन उच्चस्तरिय समिति बनाउनु पर्थो ?’ भनी प्रश्न गरेका छन् ।
लामाले पनि उच्चस्तरिय सिमितिलाई प्रतिनिधिको नाम बुझाएको जनाएका छन् । ‘एनआरएनए आइसीसीको म्यान्डेट प्राप्त उच्चस्तरीय समितिले जिम्मा दिए अनुरुप मैले संस्थाको विधान र नियमावली विपरित तोकिएको मिति भन्दा पछि बनाइएका सदस्यहरुबारे छानबिन गरी आफ्नो प्रतिवेदन उच्चस्तरीय समितिलाई बुझाएको छु ।’ लामाले
भने । लामा हाल नेपालमा रहेका छन। अध्यक्ष कुमार पन्तले लामालाई टेरेका छैनन् ।
‘राष्ट्रिय महाधिवेशन संचालन, अन्तर्राष्ट्रिय महाधिवेशन छनोट तथा राष्ट्रिय समन्वय परिषद्को सम्बन्धन सम्बन्धित नियमावली २०२१’ को उपदफा ४.२ बमोजिम सदस्य बनाइएको वा नबनाइएको भन्ने बारे हामीले छानबिन गर्यौं । छानबिनबाट अहिले दावी गरिए भन्दा फरक सदस्य संख्या मात्र भ्यालिड रहेको रहेको पाईएको छ ।’ लामाले बनेका छन् ।
लामाले उच्चस्तरिय समितिलाई बुझाएको र निर्वाचन समितिले सार्वजनिक गरेको नाममा नौ सय भन्दा बढी प्रतिनिधिको नाम फरक परेको पाइएको छ । कुमार लामाले पुनः अध्यक्ष जित्न बढी प्रतिनिधि धाधलीगरि जिताएका
थिए । लामाले भने–‘हामीले पाएको यथार्थ जस्ताको तस्तै उच्चस्तरीय समितिलाई बुझाएको छु, त्यो यथासमयमा सार्वजनिक हुने नै छ ।’
लामाको प्रतिवेदन उच्चस्तरिय समितिको बैठकमा पेश भएको भए पनि समय अभावका कारण छलफल भने हुन नपाएको बैठकमा सहभागि एक सदस्यले बताएका छन् । उच्चस्तरिय समितिको चार घण्टा लामो बैठक जापान विवादमा बढी केन्द्रित भएकाले विना कुनै निष्कर्ष आइतवार बस्ने गरि टुङ्गिएको थियो ।
प्रतिनिधि विवादकै कारण गत २०२१ को अक्टुवरमा हुनु पर्ने निर्वाचन अझै अवरुद्द भैरहेको छ । सोही विवाद मिलाउन आइसीसीद्वारा गठित उच्च स्तरिय समिति छलफलमै रहेको छ । अघिल्लो बिहिवार चार घण्टा चलेको शेष घले नेतृत्वको उच्च स्तरीय समितिको बैठक बिना निष्कर्ष आइतवार पुनः बस्ने गरि टुङ्गिएको थियो ।
प्रतिनिधि विवाद सल्टाउन उच्च स्तरिय समिति बैठकमा रहदा निर्वाचन समितिले ३ हजार ६ सय ३४ जना प्रतिनिधिको नाम सार्वनिक गरेको छ । जुन घटनालाई संस्थापन इतर समुहले ‘केटाकेटीको खेल’ भनेर टिप्पणी गरेका छन् ।
एनआरएनए आइसीसीका सल्लाहाकार तथा अध्यक्षका उमेदवार कुल आचार्यले निर्वाचन समितिले नगर्नु पर्ने काम गरेको भनी कडा टिप्पणी गरेका छन् ।
‘जुन समितिमा आइसीसीका अध्यक्ष, संस्थापक अध्यक्ष, प्रमुख संरक्षक र पूर्व अध्यक्ष छन्, त्यो उच्चस्तरिय समितिले काम गरिरहेको छ, अनि जुन विवादको कारण पटक पटक निर्वाचन सर्दै आएको छ, त्यो समस्या समाधान नभइ निर्वाचन तालिका प्रकाशन गर्ने, प्रतिनिधिको नामावली प्रकाशन गर्नु केटाकेटीको खेल हो ।’ अध्यक्षका उम्मेदवार आचार्यले
भने ।
आचार्यले यस्तो गतिविधिले संस्थालाई झन् कमजोर बनाउने बताएका छन । उनले भने– ‘उच्चस्तरिय समितिले काम गरिरहेको बेला समस्या समाधान नगरि नाम प्रकाशित गर्नु संसारलाई भ्रममा राख्ने काम हो, पटक–पटक यस्तो गरिनु परिपक्क काम भएन,यस्तो हुनहुदैन थियो, यसरी नाम प्रकाशन गरिएको सातौ पटक हो,यत्रो ठूलो संस्थामा,जुन प्रकारले काम भइरहेको छ यसले संस्था कमजोर बनाउछ ।’
आचार्यले प्रतिनिधि छनौट विधान भन्दा बाहिरबाट हुन नहुने बताएका
छन् । उनले भने– ‘हाम्रो अडान एनसीसीले पठाएको डेलिगेटलाई मान्नु पर्छ र समस्या भएको ठाँउमा उनीहरुलाई नै मिलाएर पठाउ भन्नुपर्छ भन्ने हो । डेलिगेट हामीले सहमति गर्ने होइन, राष्ट्रिय संघले नै विधान अनुसार पठाउनु पर्छ, तर त्यस विपरित आफै डेलिगेट चयन गरौं र आफै चुनाव गरौं भन्ने कुरा त्यो कतै पनि नमिल्ने कुरा हो ।’
आचार्यले अहिले प्रकाशित प्रतिनिधिको आधारमा हुने निर्वाचनमा आफुहरुले भाग नलिने पनि बताएका छन । उनले भने– ‘हामी चुनावमा कुनै पनि समयमा जान तयार छौ । तर एनसीसीले चयन गरेको डेलिगेटका आधारमा चुनाव हुनु पर्छ । यहाँ त न नयाँ कमिटि न पुरानो कमिटीले दुबैले नपठाएका नाम पनि प्रकाशित गरिएको छ त्यो कसरी हुन्छ ?’
यस्तै कुल आचार्य टिमकै महासचिवका उम्मेदवार डा.केशव पौडेलले संस्थापन पक्षले निर्वाचन गराउन भन्दा पनि अदालतलाई प्रभावित पार्नका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको दावी गरेका छन् । उनले भने– ‘यो निर्वाचन गर्नका लागि भन्दा पनि भोलि हामीले त गर्न खोजेकै हो भनि भन्नका लागि मात्र चालिएको चाल हो ।’
डा. पौडेलले निर्वाचन अपरिहार्य रहेको तर यथास्थितिमा सम्भव नहुने बताएका छन् । उनले भने– ‘निर्वाचनको विकल्प छैन तर विवाद थाति राखेर चुनाव सम्भव छैन र त्यसको अर्थ पनि छैन ।’ एनआरएनएको अन्तर्राष्ट्रिय अध्यक्षमा पन्त र आचार्य दुई जना प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार