धर्मको नाममा ब्रह्मलुट

द्वारा प्रकाशित गरिएको हो |
February 14th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मानव सेवा नै धर्म हो, मानव सेवा गर्नु महान् कार्य पनि हो । यस्तै सेवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले गर्न खोजेका छन् । मन्त्री आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको पारिश्रमिक दिने घोषणा गरेर धर्म गरेका छन् । तर मन्त्रीले पाँच महिनाको तलव दान दिएको मारवाडी सेवा समिति विवादमा रहेको छ । समितिले गौशालाको जग्गा भाडामा लिएर सञ्चालन गरेको पशुपति गौशाला धर्मशालाको जग्गा भाडा कयौ महिनादेखि पशुपति क्षेत्र विकास कोषलाई बुझाएको छैन र मासिक जग्गा भाडा रकम बक्यौता राखेको छ । यसमा कोषका अध्यक्षसमेत रहेका मन्त्री आलेले कारबाही प्रक्रिया अघि बढाउलान् भनेर धेरैले आशा गरेका थिए । तर उल्टै माडवारी सेवा समितिलाई पाँच महिनाको तलव दान गरेर पुरस्कृत गरेपछि गम्भीर प्रश्न तेर्सिएको छ ।
मन्त्री आलेले अघिल्लो शनिबार गौशाला धर्मशाला सञ्चालन गरिरहेको मारवाडी सेवा समितिको कार्यक्रममा पुगेर पाँच महिनाको पारिश्रमिक दिने घोषणा गरेका थिए । समिति त्यो संस्था हो जसले गौशालाको चोकैमा रहेको कोषको ९ रोपनी ९ आना जग्गामा बनाएको पशुपती गौशाला धर्मशालाको मासिक भाडा जम्मा ४ हजार २ सय ५० रुपैयाँ मात्र तिर्ने गर्छ तर त्यो न्यूनतम भाडा रकम समेत नियमित रूपमा तिरेको छैन र कोषले पटक–पटक ताकेता गर्दा पनि त्यति भाडा तिरेको छैन । जबकि त्यो भाडा रकम नै अति कम छ,समय सापेक्ष छैन, भाडा दर बढाउनु पर्ने कुरा पनि उठिरहेको छ ।
१७ वटा सटर रहेको गौशाला धर्मशालाले प्रत्येक सटरबाट महिनाको १५ हजार देखि ३० हजार रकम सम्म मासिक भाडा रकम उठाउदै आएको
छ । अर्काेतिर तीन तले धर्मशाला बनाएर प्रति दिन एउटा कोठाको ३ सय देखि ८ सय रूपैयाँसम्म शुल्क लिएर पशुपतिनाथ दर्शनार्थीलाई दिने गरेको छ । धर्मशालाका सबै कोठा दैनिक बुक हुने गरेका
छन् । कोठा खाली नभएर मानिसहरू फर्किने गरेको पाइन्छ । तर पनि माडवारी सेवा समितिले भने कोषलाई समयमा मासिक भाडा तिर्दैन । अर्काेतिर सम्झौता भन्दा बढी जग्गा मिचेर भवन बनाउने र गाई गोठ बनाउदै गौशाला सञ्चालन गर्दै आएको छ । गौशाला लागि छुट्टाइएको स्थानको जमीन अतिक्रमण गर्दै भवनको संरचना बढाएर अहिले सःशुल्क धर्मशालाको क्षेत्र ८० प्रतिशत बढाएको छ । त्यहाँ गौशालाले २० प्रतिशत भाग मात्र ओगटेको छ । गौशालाबाट उत्पादन भैरहेको गाईको दूध दैनिक २६ लिटर पशुपतिनाथ मन्दिरमा चढाउन दिइने गरेको छ भने बाँकी ४४ लिटर दुध मारवाडी सेवा समितिका पहुँचवाला पदाधिकारीको घरघरमा पु¥याइने गरिएको छ । धर्मशाला सस्तो भाडामा लिएर महंगो दरमा व्यापारिक प्रयोजनमा प्रयोग गरेको र अनियमित रूपमा संरचना बनाएको बिषयमा कोषले नै देवीप्रसाद बराल संयोजक रहेको पाँच सदस्यीय गौशाला धर्मशाला छानबिन समिति गठन गरी छानबिन गरिरहेको छ । बराल संयोजक रहेको छानबिन समितिमा विश्वकरण जैन, रमेशराज शिवाकोटी, पुर्ण संगम जेठारा र मेजर थापा सदस्य रहेका छन् । सो समितिले छानवीन गरिरहेको छ ।
पशुपति क्षेत्र विकास कोषको अध्यक्ष रहेका मन्त्री आलेले कोषलाई अन्याय भएको भन्दै समिति छानवीन समिति गठन गर्न लगाएका थिए । त्यतिबेलाका पदाधिकारीले गलत गरेकाले त्यसलाई छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउन छानवीन समिति बनेको छ । त्यसपछि अति कम भाडा दरमा धर्मशाला सञ्चालन गरेको विषयमा छानबिन समितिले विस्तृत जानकारी लिन शुरु गरेको छ । छानबिन समितिलाई नै प्रभावित पार्ने गरी मन्त्री आलेले माडवारी सेवा समितिलाई पाँच महिनाको तलब दिएपछि कारवाही गर्ने कुरामा आशंका व्यक्त गर्न थालिएको छ ।
छानबिन समितिका संयोजक बरालले मन्त्रीले दान गरे पनि त्यसले छानवीनले असर नपर्ने बताएका छन् । उनले मन्त्रीको दानले असर नगर्ने, मन्त्रीजीले जे गरे पनि हामीलाई केही असर पर्दैन । मन्त्रीजीले सेवा गर्नुभयो होला, कृत्रिम अङ्ग वितरणको पवित्र कामलाई देखेर प्रभावित हुनुभयो होला । छानवीन समितिले गौशाला धर्मशालाको मुख्य स्वामित्व, जग्गा भाडा सम्झौता, चर्चिएको भूमी, भाडा दर, बक्यौता रकम आदि बिषयमा छानवीन गर्छ । जग्गाको स्वामित्वको विषयलाई लिएर विवाद उठेको छ । मारवाडी सेवा समितिले हाल ओगटेको जग्गा आफ्नो हो भनेर दाबी गरिरहेको छ । समितिले त्यस विषयमा छानबिन गरिरहेको छ । केही दिनपछि प्रतिवेदन सार्वजनिक गर्ने दावी गरेका छन् ।
संस्कृति, पर्यटन मन्त्रालय स्रोतका अनुसार मारवाडी सेवा समितिले मन्त्री आलेलाई चुनाव खर्चका लागि मोटै रकम दिने बाचा गरेपछि छानबिन समितिलाई प्रभावित पार्न मन्त्री आले धर्मशालाको कार्यक्रममा पटक–पटक पुगेका थिए । मन्त्री आलेलाई सिङ्गो नेकपा (एकीकृत समाजवादी)का लागि आसन्न तीन वटै तहको चुनाव खर्च उठाउने जिम्मा दिइएको चर्चा चलेको छ ।
गत माघ २० गते बिहीबार साँझ बबरमहलस्थित बाबर्ची रेस्टुरेन्टमा मारवाडी समितिका अध्यक्ष कैलाशचन्द्र गोयल सहितका पदाधिकारी र संस्कृति मन्त्री ओलेसहित दुई पक्षका मध्यस्थकर्ताको भेट भएको थियो । सो भेटमा एक पर्यटन व्यवसायी मध्यस्थकर्ता बनेका थिए । त्यो भेटपछि मन्त्री आले मारवाडी समाजप्रति सकारात्मक बनेका छन् । सोही भेटघाटमा माडवारी व्यापारी गोयल र मन्त्री आले बीच लेनदेनको कुरा पनि भएको स्रोतको दाबी छ । मन्त्री आलेको लगानीकर्ता पार्टनर मध्येका एक कैलाशचन्द्र गोयल भएको बताइएको छ । मन्त्री आलेले माडवारी सेवा समितिको कार्यक्रममा समितिमाथि छानबिनको साटो सरकारमाथि नै औंला तेर्साएर फर्किएका छन् ।
गौशालाको जग्गा माडवारी सेवा परिषद्ले २०३८ सालदेखि गौशाला धर्मशालाको नाममा उपभोग गर्दै आएको छ । परिषद्ले तत्कालीन मूलभट्ट पद्मनाभ शास्त्रीसँग प्रतिरोपनी २५ रुपैयाँ भूबहाल तिर्ने सम्झौता गरेर ९ रोपनी ९ आना भन्दा बढी जग्गा लिएको थियो । राणाकालमा रतिराम अग्रवाललाई पाशुपत क्षेत्रमा छोडिएका दूध कटुवा बाच्छाबाच्छी, साँढे र गाई पाल्ने सर्तमा गौशाला बनाउन एक रोपनी आठ आना जग्गा दिएको लालमोहर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार