के निर्वाचन समयमै होला?

द्वारा प्रकाशित गरिएको हो |
February 14th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको बताइएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भएपछिको तयारीबारे पत्रकारहरूसँग कुरा गर्दै मतदानस्थलमा मतदानको दिन र मतगणना हुँदासम्म दिनभरि के कस्ता घटना भए त्यसको दृश्यांकन सीसीटीभी, क्यामरा, ड्रोन र अन्य प्रविधि प्रयोग गरी गर्ने व्यवस्थामा आयोग जुटेको बताएका छन् । उनले ‘अलिकति दायाँबायाँ गरेर वा धाँधली गरेर चुुनावलाई प्रभावित गर्न सकिँदैन, यदि कसैले त्यस्तो सोचको छ भने मनबाट अब त्यागे हुन्छ ।’ उनले ती सबै दृश्य निर्वाचन आयोगमा ल्याउने गरी योजना बनाइ रहेको समेत बताएका छन् ।
स्थानीय निर्वाचनमा देशभरि करिब २३ हजार ५ सय मतदान केन्द्र रहने भएका छन् । सबै केन्द्रमा दृश्य लिने व्यवस्था गरिने प्रमुख आयुक्त थपलियाले बताएका छन् । आयोगले मतदानका क्रममा हुन सक्ने घटना वा मतदानपछि विश्वसनीयतालाई लिएर कुनै सबाल उठे कैद गरिएको दृश्यलाई सहयोगी सामग्रीका रूपमा लिएर आवश्यक निर्णय लिने तयारी गरेको समेत सञ्चारकर्मीसँग बताएका छन् ।
यसैगरी निर्वाचन आयोगले नयाँ आचारसंहिता तर्जुमा गर्ने भएको छ । त्यसका लागि मस्यौदामा परिमार्जन भैरहेको छ । उक्त संहिता छिट्टै तयार गरी जारी गर्नेतर्फ आयोग जुुटेको बताइएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले नयाँ आचारसंहिताले स्थानीय तहमै अनुुगमनको परिकल्पना गरेको जानकारी दिएका छन् । यसअघि आयोगको जिल्लास्थित कार्यालयले आचारसंहिता पालना भए÷नभएको अनुगमन गर्दै आएको थियो । अब भने स्थानीय तहको निर्वाचन अधिकृतले दलीय प्रतिनिधिको सहभागितामा सम्बन्धित स्थानीय तहमै आचारसंहिता पालना भए÷नभएको अनुगमन गर्ने संयन्त्र गठनबारे छलफल गर्ने र सयन्त्र बनाउने भएका छन् ।
प्रमुख आयुक्त थपलियाले आचारसंहिता पालनाबारे स्वतन्त्र अनुगमनको व्यवस्था गरिने बताएका छन् । उक्त संयन्त्र प्रत्येक स्थानीय तहमा रहने छन् । यस्तै आयोगले मतदान स्थलमै मतदाता शिक्षालाई थप प्रभावकारी बनाउने गरी कार्यविधि परिमार्जन गर्न लागेको छ। यसअघिको मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७४लाई परिमार्जन गर्न लागेको प्रमुख आयुक्त थपलियाले बताएका छन् ।
यसअघि हप्तौँसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन भए पनि बदर मत न्यूनीकरणमा उपलब्धि नभएकोमा आयोगले नयाँ सोचका साथ मतदाता शिक्षामा परिमार्जन गर्न लागेको बताएको छ । आयोगले मतदानको दिन सबै मतदाताको फोनमा मतदान विधिबारे जानकारी दिने भएको छ, मतदान स्थलबाहिर दुुई जना स्वयंसेवक राखेर मतदान सहायता कक्ष स्थापना गर्नेबारे पनि आयोगमा छलफल भैरहेको बताइएको छ । सहायता कक्षका स्वयंसेवकले मतदानस्थलमा प्रवेश गर्नुअघि मतदातालाई दुई मिनेट समय दिएर नमुना मतपत्रमा मतदान गर्ने विधिबारे बुझाउने छन् । आयोगले उक्त विधि अपनाउँदा मतदाता शिक्षामा हुँदै आएको खर्च घट्ने अनुुमान आयोगले गरेको बताएको छ । मतदाता शिक्षा कार्यक्रम र तालिमका लागि २०७४ को निर्वाचनमा करिब एक अर्बभन्दा बढी बजेट छुट्याइएको थियो । तर पनि प्रभावकारी हुन सकेको थिएन ।
त्यसैगरी आयोगले स्थानीय तहको मतदानमा विद्युतीय मतदान उपकरण ईभीएम (इलेक्ट्रिक भोटिङ मशीन)को प्रयोगबारे सम्भाव्यता अध्ययन सुरु गरेको जनाएको छ । आयोगले एक प्राविधिक समिति गठन गरेर उक्त अध्ययन थालेको बताएको छ । गत बुधबार निर्वाचन आयोगले नेपाल सरकारका उच्चपदस्थ प्राविधिकसँग छलफल गरेर कार्यदल बनाएको पनि छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विद्युतीय मतदानको विषयमा अध्ययन गर्न सूचना प्रविधि मन्त्रालयको सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ । एक साताको समय दिइएको कार्यदलले विद्युतीय मतदानका प्राविधिक पक्षबारे अध्ययन गरेर आयोगलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश पाएको छ । स्थानीय तहको मिति घोषणा भएपछि आयोगले विद्युतीय मतदानको विषयमा छलफल थालेको छ । कार्यदलले प्रतिवेदन तयार गरेपछि आयोगले थप अध्ययन गरेर अगाडि बढ्ने प्रवक्ता पौडेलले बताएका छन् ।
स्थानीय तहको निर्वाचन आगामी २०७९ वैशाख ३० गते हुने गरि मिति घोषणा भएपछि आयोगले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा विद्युतीय मेसिनबाट मतदान गराउने तयारी गरेको बताइएको छ । नेपालमा पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा विद्युतीय भोटिङ मेशिनबाट मतदान गरिएको थियो । त्यसपछि २०६५ र २०७१ सालको निर्वाचनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग भएको थियो । २०६५ सालको उपनिर्वाचनमा ६ निर्वाचन क्षेत्र र २०७१ सालको संविधानसभा सदस्यको उपनिर्वाचनमा पाँच निर्वाचन क्षेत्रमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार