चोलेन्द्रलाई गीता ढकालको आँशुले पिरोल्यो

द्वारा प्रकाशित गरिएको हो |
February 14th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । सर्वाेच्च अदालतका विवादास्पद प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध संघीय प्रतिनिधि सभामा फागुन १ गते महाअभियोग प्रस्ताव सत्तारूढ गठबन्धन दलले दर्ता गराएका छन् । कानुन तथा न्यायमन्त्री दिलेन्द्र प्रसाद बडुको नेतृत्वमा गएको टोलीले सभामुख अग्निप्रसाद सापकोटालाई भेटि महाअभियोग प्रस्ताव दर्ता गराएको छ। प्रस्तावको पक्षमा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देव प्रसाद गुरूङ, नेपाली कांग्रेसको सचेतक पुष्पा भूषाल गौतम, नेकपा(एकीकृत समाजवादी)का सचेतक जिवनराम श्रेष्ठ र प्रस्तावको समर्थकमा कांग्रेसका सांसद डा.मिनेन्द्र प्रसाद रिजाल सहित ९८ सांसदले गरेका छन् । महाअभियोग पत्र दर्तापछि प्रधानन्यायाधीश जबरा फागुन १ गतेबाटै निलम्बनमा परेका छन् भने सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश दिपक कुमार कार्की कामु प्रधानन्यायधीश भएका छन् । महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ । प्रस्तावमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउनुपर्ने २१ कारण उल्लेख छन् ।
जसमा लोकतन्त्र, मानव अधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवारी न्यायपालिकाको जगेर्ना गर्न प्रधानन्यायाधीश असक्षम रहेको आरोप पहिलो बुँदामा उल्लेख गरिएको छ । महाअभियोग प्रस्तावमा राणाको कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोप लगाइएको छ । त्यस्तै संविधानले दिएका जिम्मेवारीहरुलाई प्रधानन्यायाधीश राणाले आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले दुरुपयोग गरेको आरोप पनि लगाइएको छ ।
महाअभियोग प्रस्तावमा संवैधानिकता परिक्षण गर्न दायर भएका रिट निवेदनहरुको समयमै निरुपण गर्नुपर्ने जिम्मेवारी प्रधानन्यायाधीश राणाले पूरा गर्न नसकेको उल्लेख गरिएको छ । संवैधानिक परिषद सदस्यको हैसियतमा राणासमेत संलग्न भई गरेका संवैधानिक नियुक्तिहरूबारे परेका रिट निवेदनमा प्रारम्भिक सुनुवाई समेत गरी न्यायमा गम्भीर अवरोध र विचलन सिर्जना गरेको आरोपसमेत राणामाथि लगाइएको छ ।
त्यस्तै सशस्त्र प्रहरीका तत्कालीन वरिष्ठ अधिकृत रञ्जनकृष्ण कोइराला संलग्न ज्यान मुद्दाको पुनरावलोकनमा विलम्व गरी इजलासबाहिर फैसलाबारे धारणा व्यक्त गरी राणाले पदीय मर्यादा अनुकुलको आचारण गर्न नसकेको आरोप पनि महाअभियोग प्रस्तावमा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार