३९ उपसचिवमध्ये ३२ जना बाहुन मात्रै

द्वारा प्रकाशित गरिएको हो |
February 14th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको जनाएको छ । बढुवा समितिको गत २०७८ माघ २८ गते शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ(जनरल) ८ र इन्जिनियरिङ (हाइवे)तर्फ १४ गरी ३९ जना शाखा अधिकृत सरहका राजपत्रांकित तृतीय श्रेणीकालाई राजपत्रांकित द्वितीय श्रेणी उपसचिव सरहको पदमा नाम बढुवाका लागि सिफारिस गरेको छ । जसमा ३२ जना क्षेत्री बाहुन समुदायका, ३ जना नेवार समुदायका भूमिपुत्र आदिवासी र ४ जना तराईबासी मधेसी परेका छन् ।
लेखापरीक्षण समूहका केदारप्रसाद खकुरेल, अगमबाबु पुरी, दुर्गाप्रसाद पन्थी, टीकानाथ अर्याल, तोयनारायण पौडेल, चन्द्रप्रकाश रेग्मी, सन्तोष शर्मा सापकोटा, विष्णुप्रसाद पौड्याल, कल्पना घिमिरे, यमनाथ खनाल, ध्रुव न्यौपाने, झविन्द्रप्रसाद भण्डारी, गोविन्दप्रसाद धमला, श्यामप्रसाद गौतम र हीरामणि निरौला बढुवामा परेका छन् । लेखा परिक्षणका १५ जना उपसचिवको बढुवामा १५ जना नै बाम्ह्रण समुदायका सिफारिस भएका छन् । अरू समुदायबाट एक जना पनि पारिएका छैनन् । लेखा परिक्षण समुहमा बाम्ह्रण समुदायका बाहेक एक जना पनि भूमिपुत्र आदिवासी राई, लिम्बू, मगर, गुरूङ, नेवार, तामाङ, शेर्पा, सुनुवार, याख्खा, मधेसी, दलित योग्य, क्षमतावान उम्मेद्वार छैनन् ? यी समुदायकालाई नियोजित रूपमा बढुवामा पछि पारिएका छन् । भूमिपुत्र आदिवासी समुदायबाट राजेन्द्र प्रसाद श्रेष्ठ नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा समेत ब्राह्मणवादी सरकारले एक जनालाई पनि लेखापरिक्षण समुहको उपसचिव बढुवामा बढुवा गर्न नसक्नु यो देशमा ब्राह्मणवादी राज्य सत्ता कति बलियो छ भन्ने यो एउटा सानो उदाहरण मात्र हो ।
यसैगरि तथ्यांक समूहका कमल पौडेल र विनोद आचार्य पनि उपसचिव बढुवा सिफारिसमा परेका छन् । यो समुहको बढुवामा पनि दुबै जना बाम्ह्रण समुदायकालाई मात्र सिफारिस गरिएको छ । यता इन्जिनियरिङतर्फ जनरल उपसमूहबाट उपसचिव बढुवामा पर्नेमा शोभा श्रेष्ठ, नवीन श्रेष्ठ, पुण्यराम सुलु, स्मिता शर्मा, सचिन्द्रकुमार यादव, रविचन्द्र पंजियार, महेश्वरी खड्का र टंकप्रसाद खनाल रहेका छन् । यस समुहमा बढुवामा पर्नेमा दुई ब्राह्मण क्षेत्री, दुई नेवार, दुई मधेसी र एक जना सुलु परेका छन् । यसमा चाहिँ थोरै भएपनि जातीय, क्षेत्रीय, महिला र दलितको समावेशी सन्तुलन भएको पाइएको छ ।
इन्जिनियरिङ हाइवे उपसमूहबाट १४ जना बढुवामा परेका छन् । जसमा शोभा गिरी, वन्दना आचार्य, माधवप्रसाद अधिकारी, मुकुन्दप्रसाद लामिछाने, अमिन्द्र खड्का, प्रकाश पौडेल, शशांक मिश्र, राजेशकुमार यादव, छविलाल पौडल, राजीव श्रेष्ठ, कमलकुमार साह, लीलाबहादुर भण्डारी, नवराज बास्तोला र केशवप्रसाद ओझा रहेका छन् । हाइवे समुहका १४ जना उपसचिवको बढुवामा ११ जना बाम्ह्रण र क्षेत्री समुदायका, दुई मधेसी र एक नेवार समुदायका परेका छन् । हाइवे समुहका इन्जिनियरमा बढुवा हुने समय र क्राइटएरिया पूरा भएका दर्जनौ राई, लिम्बू, याख्खा, सुनुवार, नेवार, शेर्पा, गुरूङ, मगर, तामाङ, मधेसी, महिला र दलित समुदायका भएपनि बढुवा नगरि पछाडि पारिएको प्रष्ट हुन्छ । कर्मचारी प्रशासनमा योग्यता, क्षमता, दक्षता र जेष्ठता हुँदाहुँदै पनि भूमीपुत्र आदिवासी समुदायलाई ब्राह्मणवादी शासन व्यवस्थाले पछाडि पार्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार