बिना संशोधन एमसीसी पास नगरौं

द्वारा प्रकाशित गरिएको हो |
February 7th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा जस्तो अति संवेदनशील विषयमा कुनै देश वा अन्तर्राष्ट्रिय संस्थासँग संन्धी, समझदारी र सम्झौतामा गर्दा राष्ट्रिय हित अनुकुल गरि संन्धी, समझदारी र सम्झौता पारदर्शी गर्न, ती दस्तावेज संसदमा पेश गरि संसदमा प्रतिनिधित्व गर्ने दलहरू बीचमा बृहद छलफल गर्न, राष्ट्रिय सहमति कायम गरेर संसदबाट पारित गरेर कार्यान्वयन गर्नु पर्दछ । एमसीसी परियोजना बारे किन पार्टी भित्र र सार्वभौम संसदमा छलफल र बहस हुँदैन भन्ने आम नागरिक, बुद्धिजीवी, सञ्चारकर्मी, बौद्विक व्याक्तिहरूले प्रश्न गर्दै आएका छन् ।
एमसीसी सम्झौताका बिषयमा पार्टीहरु मौन छन्, संसद मृतप्रायः छ । ठुला राजनीतिक दलहरूमा बिदेशी दलाल र एजेन्टको प्रभाव रहेको आरोप लाग्दै आएको छ । यस्ता गम्भीर विषयमा आमनागरिकहरूले चासो लिइरहँदा पार्टीभित्रका कथित नेता र सांसदहरु किन मौन छन् ? चाहे अन्तर्राष्ट्रिय सम्झौता होस् चाहे सीमा सुरक्षा, राजदूत नियुक्तिका बिषय होस् वा अन्तर्राष्ट्रिय सम्बन्धमा जस्ता विषयमा किन बोल्दैनन्, बृहद छलफल गर्दैनन् ? गम्भीर प्रश्न उठिरहेको छ ।
अहिले एमसीसी परियोजना आमजनताको चासोको विषय बनेको छ । यस्तो विषयमा अविलम्ब सबै पार्टीहरूमा बहस चलाई जे निर्णयर सहमति हुन्छ, संसदमा एजेन्डा निर्णयार्थ पेश गरी टुंग्याउनु पर्दछ । एमसीसीसँगै अमेरिकी सेना नेपाल नआएपनि विद्युत प्रशारण लाइन र सडक निर्माणको काम गर्न आउने अमेरिकाले चीन विरोधी गतिविधि गर्ने, नेपालमा रहेका तिब्बतियन शरणार्थीहरूलाई गुप्त तालिम प्रशिक्षण दिने, हातहतियार, गोलिगठ्ठा उपलव्ध गराउने, चीन विरोधी सुचना संकलन गर्ने, तिव्वतको भूमिको भौगोलिक जानकारी लिने, नेपालमा सैनिक रणनीतिको एलाइन्समा पार्न जोडवल गर्ने सम्भावना रहेको छ । यस्ता गतिविधि नेपाल भूमीबाट हुन दिनु हुन्न ।
त्यसैगरी चीनको बीआरआई परियोजनामा नेपालले सम्झौता गरी सकेको छ । यो परियोजनामा पनि व्यापक छलफल र बहस गरी अगाडि बढाउनु पर्दछ । यस्तै छिमेकी राष्ट्र चीनमा भएको शितकालिन ओलम्पिकमा नेपालले भाग नलिएर अपरिपक्क काम गरेको छ । नेपाल, भारत, अमेरिका र पश्चिमा राष्ट्रहरूको प्रभावमा परेर चीनको ओलम्पिकमा सहभागी भएन । नेपालले ओलम्पिकमा भाग लिएर पदक जित्न सक्दैन थियो होला तर सहभागी भएर दुई चार खेलमा भाग लिएर नेपाली खेलाडी र राष्ट्रिय खेलकुद परिषदले खेल र खेल व्यवस्थापनमा ठुलो अनुभव हासिल गर्न सक्ने थियो ।
चीन नेपालको छिमेकी राष्ट्र मात्र होइन असल मित्र राष्ट्र पनि हो । चीनले नेपालको विकास निर्माणमा ठुलो सहयोग गर्दै आएको छ । चीन विश्वको दोस्रो उच्च अर्थतन्त्र भएको मुलुक हो । उदाउदो सामरिक र विश्वशक्ति राष्ट्र पनि हो । त्यसैले चीनसँग सुमधुर सम्बन्ध बनाउनु अत्यन्त आवश्यक छ । भारत र पश्चिमा राष्ट्रको कुरा सुनेर शितकालिन ओलम्पिकमा सहभागी नहुने गैरजिम्मेवारी कामले कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको छवि र विश्वसनीयता कमजोर सावित हुनसक्छ । त्यसैले समयमा नै होस पुर्याऔं, परिपक्व कुटनैतिक सम्बन्ध कायम गरौं ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार