आदिवासीमाथि करौती

द्वारा प्रकाशित गरिएको हो |
February 7th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २१ वर्ष लामो इतिहासमा सबैभन्दा कम समय नेतृत्व गर्ने महानिरीक्षक किशोरकुमार लामा हुन् । उनी तीन महिना आईजीपी भएका थिए । त्यसपछि शैलेन्द्र कुमार श्रेष्ठ र दुर्जकुमार राई ९ महिना आईजीपी भएका थिए । सशस्त्र प्रहरी बलमा कृष्णमोहन श्रेष्ठ, सहवीर थापा, बासुदेव ओली, सनत कुमार बस्नेत, कोषराज बन्तले पुरै कार्यकाल आईजीपी भएका थिए । वर्तमान महानिरीक्षक शैलेन्द्र कुमार खनाल आफ्नो चार वर्षे पदावधि सकेर आगामी चैत्र २८ गते अनिवार्य अवकाशमा जाँदै छन् । उनीपछि २१ दिनका लागि एआईजी पुष्पराम केसी वरीयताका आधारमा सशस्त्र प्रहरी महानिरीक्षक बन्न चलखेलमा लागेका छन् । केसीपछि डिआईजीमा म्याद थपिएको भए भोजपुरका मन्दिप श्रेष्ठ र संखुवासभाका खडगजीत राई आईजीपी हुने लाइनमा हुन्थे तर ब्राह्मणवादका ठेकेदारहरूले भूमीपुत्र आदिवासी जनजाति समुदायका श्रेष्ठ र राईलाई भावी आईजीपी हुन नदिन डिआईजीमा म्याद थप नगरि भेदभाव गरेका छन् । त्यही भएर श्रेष्ठ र राई यही माघ २६ गते अनिवार्य अवकास हुँदैछन् । डिआईजी श्रेष्ठ र राईको म्याद नथपिएपछि वरीयतामा अघि रहेका डीआईजी राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रसाद गौतम सशस्त्र प्रहरी महानिरीक्षक बन्ने लाइनमा रहेका छन् । तर, सरकारी संयन्त्र स्रोतबाटै सशस्त्र प्रहरीमा एक एआईजी दरबन्दी थप्ने तयारी भइरहेको छ । कार्य र सीमा सुरक्षा विभाग फुटाएर सीमा सुरक्षा विभाग गठन गरि त्यहाँ एआईजी थप्ने चलखेल भएपछि यसपटक सशस्त्र महानिरीक्षक चयन प्रक्रिया पेचिलो बन्ने संकेत देखिएको छ ।
सरकार र स्वयम् सशस्त्र प्रहरी महानिरीक्षक खनाल तथा उनको समूह सकेसम्म एआईजी केसीका विषयमा कुनै पनि निर्णय नगरी यथास्थितिमै घर पठाउने तयारीमा रहेका छन् । अर्कोतर्फ सशस्त्रमा भावी सशस्त्र प्रहरी महानिरीक्षकका रुपमा चर्चा गरिएका डीआईजी मन्दिप श्रेष्ठ र खड्गजीत राई केही दिनमा घर जाँदैछन् । यही कारण चैत २८ गते अघिनै एक एआईजी दरबन्दी थप्ने र यसरी थपिएको दरबन्दीमा बढुवा हुने एआईजीलाई सशस्त्र प्रहरी बलको भावी सशस्त्र प्रहरी महानिरीक्षक बनाउने चर्चा चलिरहेको छ ।
अर्कोतर्फ डीआईजीत्रय राजु अर्याल, नारायणदत्त पौडेल र सीपी गौतम महानिरीक्षक दौडका लागि आ–आफ्नै तहमा लबिङ गरिरहेका छन् । तिनै जना डिआईजी कांग्रेस निकट भएकाले भावी एआईजीमा बढुवा भई आगामी चैत्र २८ गतेपछि आईजीपी बन्न गृह मन्त्री बालकृष्ण खाँण, प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा.आरजु राणा र प्रधानमन्त्री शेर बहादुर देउवाको सम्पर्कमा पुगेका छन् । आगामी वर्ष तिनै तहको चुनावी वर्ष भएकाले गृह मन्त्री खाँण र प्रधानमन्त्री देउवाले विश्वास गरेका एआईजी मात्र भावी आईजीपी हुने निश्चित छ । जेठमा चुनाव हुने भएकाले गृह मन्त्री खाँण र प्रधानमन्त्री देउवाले २१ दिनको छोटो समयका लागि आईजीपी नबनाई चार वर्षे कार्यकालका लागि नै आईजीपी बनाउने नीति लिएको र त्यही अनुसार वरिष्ठ डिआईजी अर्याललाई एआईजीमा बढुवा प्रकृया अगाडि बढाउन आईजीपी खनाललाई निर्देशन दिएको सशस्त्र प्रहरी हेडक्वाटरमा चर्चा छ ।
तीन डीआईजीमा अर्याल वरियतामा अघि रहेकाले उनी नै भावी एआईजीमा बढुवा भई चैत्र २७ गते भावी आईजीपी बन्ने सम्भावना बलियो छ । उनी महानिरीक्षक भएमा उनका प्रमुख प्रतिद्वन्द्वी मानिएका पौडेल र गौतम मध्ये एक बलको २२ महिना महानिरीक्षक भएर घर जानेछन् । तर, यी दुईलाई पन्छाएर सैनिक भर्ना मितिका आधारमा डिआईजी गौतमले बाजी मारे यी अर्याल र पौडेल
दुबै एआईजीमै घर जानेछन् ।
डीआईजीद्वय अर्याल र पौडेल २०५४ चैत १८ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् भने डीआईजी गौतमले २०५२ वैशाख ३ गते नेपाली सेनाका अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।
यदि अर्याल महानिरीक्षक भएमा उनले चार वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशमा गएपछि पनि पौडेल एआईजीको ५ वर्षे सेवा अवधिका कारण महानिरीक्षक हुन पाउनेछन् ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ मा सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नियम ४३ मा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु मध्येबाट ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त देखेको उम्मेदवारलाई बढुवा गर्नेछ भन्ने उल्लेख छ । यस्तै यो बुँदालाई प्रस्ट्याउँदै नियमको प्रयोजनका लागि ‘कार्यकुशलता’ भन्नाले नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता तथा आफुभन्दा मुनिको सशस्त्र प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमतालाई सम्झनु पर्छ भन्ने उल्लेख गरिएको छ । भावी महानिरीक्षकको दौडमा रहेका डीआईजीत्रय अर्याल, पौडेल र गौतमले एसपीदेखि हालसम्म बराबरी रूपमा गण र बाहिनीको नेतृत्व गरेका छन् । यी तीनमध्ये गौतममात्र पछिल्लो मधेश प्रदेशमा अवस्थित छिन्नमस्ता बाहिनी महोत्तरीमा रहँदा विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार