माओवादी समावेशी ढाँचामा ढल्ला?

द्वारा प्रकाशित गरिएको हो |
February 7th, 2022
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)मा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितका १४ पदाधिकारी पदमा आउन माओवादी केन्द्रका वरिष्ठ नेताहरू बीचमा तिब्र प्रतिस्पर्धा भैरहेको छ । वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा बीचमा प्रतिस्पर्धा रहेपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अन्य नेताहरू नारायण काजी श्रेष्ठलाई नै वरिष्ठ उपाध्यक्ष दिने पक्षमा रहेका छन् ।
यसैगरि उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा दावी गरिरहेका महरा, देव प्रसाद गुरूङ, डा.गणेश शाह, हरिवोल गजुरेल, पम्फा भूषाल मध्येबाट हुने धेरै सम्भावना रहेको छ । महासचिवमा भने वर्षमान पुन र जनार्दन शर्माको दावी रहेका छन् । त्यसो त महासचिवमा देव गुरूङ, पम्फा भूषालले पनि दावी गर्न छाडेका छैनन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले उपाध्यक्षमा सेटेल गर्ने संकेत दिई सकेका छन् । त्यसैले पछिल्लो चरणमा उनीहरूको महासचिवको दावी मधुरो हुँदै गएको देखिन्छ । महासचिवमा अर्थ मन्त्री समेत रहेका जनार्दन शर्माले नछाड्ने अडान लिई रहेका छन्, तर अध्यक्ष प्रचण्ड भने वर्षामान पुनलाई नै महासचिव बनाउन खोजिरहेका छन् । थाइल्यान्ड र चीनबाट जण्डिसको उपचार गरेर नवौं महाधिवेशनपछि नेपाल आएका पुनलाई विरामी भएकाले पार्टी काममा त्यति खटन नसक्ने आरोप लगाउदै आसन्न तिनै चरणको निर्वाचनको मुखमा संगठनमा सकृय, आर्थिक स्रोतपनि जुटाउन सक्ने, कुटिल जनार्दन शर्मालाई महासचिव बनाउन बाहुन– क्षेत्री समुदायका माओवादी नेताहरूले दवाव दिदै आएका छन् । उता अध्यक्ष बाम्ह्रण समुदायको हुँदा महासचिव भूमिपुत्र आदिवासी जनजाति समुदायबाट बनाई जातीय र क्षेत्रीय सन्तुलन कायम गरिनुपर्ने आवाज पनि उठिरहेको छ । भूमिपुत्रहरूले महासचिवमा शर्मालाई नल्याउन र पुनलाई नै बनाउन ठुलो दवाव अध्यक्ष प्रचण्ड लगायतका नेताहरूलाई दिइरहेका छन। अर्थ मन्त्री भएर मुलुकको राजस्व स्रोत साधन परिचालन गरेर पार्टीका लागि चुनाव खर्च जोहो गरेर अध्यक्ष प्रचण्डलाई रिझाउदै आएका शर्मा भने आफैलाई महासचिव बनाउनु माग गरिरहेका
छन् । विगतको पार्टी कामको मुल्यांकन गरेर विरामी नेता पुनलाई महासचिव नदिई उपमहासचिवमा थन्काउने र पार्टीलाई ब्राम्ह्रणवादको जालोमा पार्ने सम्भावना पनि बढिरहेको छ ।
यही माघ २७ गते केन्द्रीय समितिमा रिक्त सदस्य मनोनयन गर्न र पदाधिकारी चयन गर्न माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक आवह्रान गरेको छ । केन्द्रीय सदस्य मनोनयन गरेपछि माओवादी केन्द्रको समीकरणमै फेरबदल आउने देखिएको छ । तर पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इच्छा विपरित कोही जान सक्ने स्थिति छैन । प्रचण्डले महासचिवमा पुनलाई चयन गरेभने शर्माको भूमिका कस्तो हुन सक्ला त्यो कुराको अध्ययन प्रचण्डले गरिरहेका
छन् । त्यसैले पनि महासचिवमा प्रचण्डले शर्मालाई ग्रिन सिग्नल दिइसकेका
छैनन् ।
त्यसैले महासचिवका आकांक्षी दुई नेता वर्षमान पुन र जनार्दन शर्माको दौडधुप निकै बढेको छ । अध्यक्ष प्रचण्डलाई फकाउने प्रयासदेखि महाधिवेशनबाट चयन केन्द्रीय सदस्यलाई प्रभावमा ल्याउने प्रयासमा उनीहरु तल्लिन देखिएका
छन् । महाधिवेशनबाट माओवादीले १४६ जना केन्द्रीय सदस्य चयन गरिएको
थियो ।
माओवादी केन्द्रको पूर्ण कार्यकारी अधिकारसहितको केन्द्रीय कमिटीको संख्या १९९ सदस्यीय हो । तर, महाधिवेशनमा प्रचण्डले १४६ जनाको नाम मात्रै पढेर हलबाट चयन भएको घोषणा गरिएको थियो । महाधिवेशनले चयन गर्ने सबै केन्द्रीय सदस्य चयन गरेको थिएन । अब माघ २७ गतेको केन्द्रीय समितिबाट हाउसबाट चयन हुने र मनोनित गर्ने सबै सदस्य मनोनयन गरिने भएको
छ ।
प्रचण्डले पूर्ण केन्द्रीय कमिटीको संख्या घोषणा नगरेका कारण केन्द्रीय कमिटी पूर्ण नबनाई पदाधिकारीका लागि प्रतिस्पर्धा गर्न कानूनी रुपमा अप्ठ्यारो भएको छ । माओवादी केन्द्रको विधानले नै पूर्ण आकारको केन्द्रीय कमिटीबाट मात्रै पदाधिकारी चयन गर्ने उल्लेख गरेको छ । त्यसैले माओवादी केन्द्रमा पदाधिकारीले निर्वाचन लड्ने अवस्था आएमा पूर्ण केन्द्रीय कमिटी हुनुपर्ने विधानको व्यवस्थाका कारण अब यही माघ २७ गते काठमाडौं बस्ने केन्द्रीय कमिटीको बैठकले पहिला पूर्ण आकारको केन्द्रीय कमिटी बनाउने र त्यसपछि मात्रै पदाधिकारी भरसक सर्वसम्मत रूपमा चयन गर्ने,सहमति नभएमा मात्र केन्द्रीय समितिले भोटिङमा गएर पदाधिकारी चयन गर्न सक्ने माओवादी केन्द्रका नेताहरुको बताएका छन् ।
पदाधिकारी चयनका लागि अहिले संभावित नेताहरुको नाममाथि छलफल भइरहेको छ । यसैगरि क्लष्टर अनुसार केही नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनितका लागि गृहकार्य भैरहेको बुझिएको छ । यही माघ २७ गते ५६ जना नेता मनोनित हुने भएका छन् । यी ५६ जनाभित्र पर्नका लागि व्यक्तिगत रुपमा र समूहगत रुपमा नेताहरु प्रचण्ड र अन्य वरिष्ठ नेताहरुको घरदैलोमा पुग्न थालेका छन् । अहिले त्यही ५६ जनामा वर्षमान पुन र जनार्दन शर्माले पनि राजनीति गर्न थालेको माओवादी केन्द्रभित्र चर्चा छ ।
स्रोतका अनुसार अहिले महाधिवेशन हलबाट चयन भएका १४६ जना केन्द्रीय सदस्यमा तुलनात्मक रुपमा पुनप्रति सकारात्मक भएका नेताहरुको संख्या बढी रहेको देखिन्छ । शर्माले अर्थ मन्त्री भएपछि उल्लेखनीय काम गर्न सकेका छैनन् । त्यसैले ५६ जना मनोनित हुने ठाउँमा आफ्नो बलियो पकड हुने गरि मनोनित गर्न खोजिरहेका छन् । यसका लागि सत्ता, शक्ति र पैसाको प्रयोग भैरहेको छ । महासचिवका लागि चुनाव भएको अवस्थामा पुनको पल्लाभारी हुने डरकै कारण अर्थमन्त्री शर्माले वर्षमान पुन चीनबाट फर्केदेखि नै ५६ जना मनोनित हुने नयाँ केन्द्रीय सदस्यमा आफ्नो पक्षका नेताहरु कति धेरै मनोनित गराउन सकिन्छ भनेर लागेका छन् ।
पछिल्ला दिनमा शर्माको भन्दा पुको पल्लाभारी हुँदै गएका कारण ५६ जनामा पुनको नजर परेको देखिन्छ । यही माघ २७ गते हुने ५६ जना मनोनित केन्द्रीय सदस्यमा शर्माले पनि आफ्नो पक्षमा अधिकतम नेताहरुलाई पार्ने प्रयासमा लागेका छन् । पुनले चीनबाट काठमाडौं आएसँगै प्रचण्डबाहेक प्रतिस्पर्धी नेता जनार्दन शर्मासँग पनि भेटघाट गरेका छन् । महासचिवका लागि चयनभन्दा पनि केन्द्रीय कमिटीमा चुनावमै जानुपर्छ भन्ने अडानमा रहेका मन्त्री शर्माले भेटेरै पुनलाई निर्वाचन गरेर महासचिव छान्नु पर्ने बताएका छन् । तर माओवादी केन्द्रले अध्यक्षकै इच्छामा पदाधिकारी चयन गर्ने निश्चित छ । महाधिवेशनमा त निर्वाचन नभएको माओवादी केन्द्रमा पदाधिकारीको १४ पदमा निर्वाचन हुने सम्भावना विल्कुलै छैन र देखिदैन पनि स्रोतले भन्यो ।
अहिले पुनले पूर्वदेखि पश्चिमसम्मका छानिएका नेताहरुलाई भेटघाट बढाउन थालेका छन । चुनावमै भएपनि शर्मासँग प्रतिस्पर्धा गर्ने मुडमा पुन पुगेका छन् । प्रचण्डको साथ लिएर ५६ जना मनोनित हुन लागेका केन्द्रीय सदस्यको सूचीमा आफ्ना मान्छेको संख्या बढाउने भूमिका पनि पुनले खेल्न थालेका कारण माओवादी केन्द्रमा महासचिव पदको निर्वाचन निकै रोचक हुने देखिएको छ ।
पुन र शर्माको दौडधुप बढी भएका कारण देव गुरुङ, पम्फा भुसालको दौड कम भइसकेको छ । उनीहरु चुनावमा जाने पक्षमा देखिएका छैनन् । गुरूङ र भूषाल उपाध्यक्ष हुने निश्चित जस्तै छ । पुन महासचिव भए शर्मा उपमहासचिव हुने छन् भने शर्मा महासचिव भए पुन उपमहासचिव हुने निश्चित छ । तर शर्माले भने महासचिव हुन नपाए उपाध्यक्ष हुन खोजेका छन् ।
सचिवमा भने शक्ति बहादुर बस्नेत, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, चक्रपाणि खनाल,मातृका यादव मध्येबाट चयन हुने देखिन्छ । कोषाध्यक्ष को हुने अन्यौल नै रहेको छ । सुरेन्द्र कार्की पनि पदाधिकारीमा आउन खोजिरहेका छन, तर सम्भव देखिदैन । पदाधिकारीमा जातिय, क्षेत्रीय, दलित, मधेसी, लैङगिक सन्तुलन कायम नहुने र बाम्ह्रणवादको बचस्व हुने सम्भावना अधिक भएकाले माओवादी केन्द्रले उठाउदै आएको महिला, दलित, जातीय, क्षेत्रीय, लैङगिक, मुस्लिम, अल्पसंख्यकको मुद्दा आफ्नै पार्टीमा ओझेलमा पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार