स्थानीय तहको निर्वाचन अझै अनिश्चित

द्वारा प्रकाशित गरिएको हो |
January 31st, 2022
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । माघ १५ गते शनिवार बसेको सत्तारुढ पाँच दलिय गठबन्धनको बैठकले आगामी २०७८ जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । माघ १५ गते साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आगामी जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेबी भण्डारी र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आगामी बैशाखभित्रै निर्वाचन गर्न कडा ढंगले दबाब दिएपछि गठबन्धन दल लुत्रुक्क हुँदै समयमा आवधिक निर्वाचन नगरि आगामी असोजपछि गर्ने भनेर प्रतिगमनका लागि ठाउँ तयार गर्ने षडयन्त्र गरिरहेकोमा गलेका छन ।
समयमा निर्वाचन नगरेर विगतमा जस्तै प्रतिगमनकारी र विदेशी शक्तिलाई ठाउँ दिने षड्यन्त्र गरेका दलहरूलाई राष्ट्रपति र निर्वाचन आयोगले दबाब दिएर सबक सिकाएका छन् ।
यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने बताएका छन् ।
बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको मन्त्री कार्कीले बताएका छन् । सरकारले गरेको यो निर्णय उपर वरिष्ठ सञ्चारकर्मी कुमार यात्रुले राख्नु भएको धारणा ।
स्थानीय तहको चुनाव अगाडि
निम्न संशोधन आवश्यक
– नेपालको स्थानीय तहले समाबेशी र समानुपातिक सिद्धान्तलाई स्वीकार गरेको छैन । व्यबहारिक रुपमा कानुनमा यसको संम्बोधन गरिनु पर्दछ ।
– संघ र प्रदेशमा आदिवासी जनजाति, मधेशी, थारु, पिछडिएको क्षेत्रको फरक ल्कस्टरलाई स्थानीय सरकार सञ्चालन ऐनले स्वीकार गदैन । यो व्यबस्थालाई निर्वाचन अगावै स्थानीय तहको निर्वाचन ऐनमा व्यबस्था गर्नू पर्छ ।
– कानूनमा अल्पसंख्यकलाई जथाभावी व्याख्या गरिएको छ । आदिवासीलाई अल्पसंख्यकका रुपमा गृह मन्त्रालयले व्याख्या गरेको आधारमा कानूनको अंग बनेको छ । कानूनमा व्यबस्था गरिएको छैन । निर्वाचन अगावै यसको बैज्ञानिक व्याख्या र कानुनी बन्दोबस्त गरिनु पर्छ ।
– संविधानमा भएको विशेष, संरक्षित तथा स्वायत्त क्षेत्रका मापदण्ड सहितको व्यबस्थालाई स्थानीय सरकार सञ्चालन ऐनमा गरेर मात्र चुनाव हुनु पर्छ ।

मन्त्रि आलेको कडा निर्देशन
काठमाडौं । छसस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘परिक्षण उडान’ गर्ने गरी तयारी गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।
गत माघ १५ गते दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री आलेले यस्तो निर्देशन दिएका हुन् । मौसमले साथ दिएमा आगामी फागुन ९ गते परिक्षण उडान सुरू गर्ने र आगामी २०७९ बैशाख पुर्णिमाको बुद्ध जयन्तीमा अन्तर्राष्ट्रिय उडान सुरू गर्ने तयारी भैरहेको मन्त्री आलेले जानकारी दिएका छन् । हुस्सु, कुहिरो र भिजीबिलिटी कम भएको बेलामा भने परिक्षण उडान गर्न नमिल्ने प्राविधिकहरूले बताएका छन् ।
मन्त्री आलेले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र तयारीको काममा ढिलाइ नगर्न र परिक्षण उडान नगरेसम्म मन्त्रालय, क्यान र आयोजनाका पदाधिकारी, टिम सदस्य दिनरात काममा खटिनसमेत निर्देशन दिदै कुनै पनि हालतमा, कुनै पनि बहानामा काम नरोकियोस भनेका छन् ।
कांग्रेस नेता भरत कुमार शाहलाई देखाउँदै मन्त्री आलेले भनेका छन– ‘सार्वजनिक लेखा समितिका सभापति यहीँ हुनुहुन्छ, माननीय प्रमोद कुमार यादव यहीँ हुनुहुन्छ । यो निर्वाचन क्षेत्रका माननीय घनश्याम भुसालले दिनदिनै सोध्नुहुन्छ, प्रधानमन्त्री, मन्त्रीज्यूहरू सबैको चासो छ, यो विमानस्थलमा छिटो उडान हुनुपर्छ भन्नेछ । हामी त्यहीअनुसार तयारी गरिरहेका छौँ ।’
संघीय प्रतिनिधि सभाका लेखा समितिका सभापति भरतकुमार शाह र सांसद प्रमोदकुमार यादवले छिटो उपकरण चेकजाँच गरी उडानको तयारी गर्न आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले एरोथाइको टिम काम सकेर मात्रै फर्किन्छ, त्यसपछि परीक्षण उडान नेपाल एयरलाइन्सको ३३० ले गर्ने जानकारी दिएका थिए ।
एरोथाइका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले भने– “यहाँको मौसमलाई तीन वर्षमा नियाल्दा भिओएफआरमा उड्न गर्न मिल्छ । क्यालिब्रेशन फ्लाइटका लागि सफा मौसम चाहिन्छ । कम्तीमा पाँच किमी भिजिबिलिटी चाहिन्छ । फ्रेबुअरी २१ मा भैरहवामा ठुला जहाज ल्याण्डिङ गर्ने तयारी छ । कुनै पनि हालतमा २१ फेब्रुअरीभन्दा ढिला हुँदैन ।”
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा हालसम्म आइसिपी वान र टु गरेर साढे सात अर्ब रूपैया लगानी भइसकेको छ । करिव ९३ प्रतिशत काम सम्पन्न भएको छ ।
राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको करिवकरिव निर्माण पूरा भएको छ । आइसिवी–१ र आइसिवी–२ अन्तर्गतको सम्पूर्ण काम सकिएपछि अब विमानस्थल परीक्षण उडानको पर्खाइमा रहेको जनाएका
छन् । विमानस्थल बिस्तार परियोजनाका अनुसार आगामी बुद्ध जयन्तीमा परीक्षण उडान गर्ने गरी तयारी भैरहेको छ । परीक्षण उडानका लागि प्राविधिक जनशक्तिलाई तालिम दिन अहिले अष्ट्रिया र थाइल्याण्डका प्राविधिकहरूले भैरहवा विमानस्थलमा तालिम दिन थालेका
छन् ।
परीक्षण उडान सकिएपछि मात्र प्राविधिकहरू फर्किने विमानस्थल विस्तार परियोजनाले जानकारी दिएको छ । परियोजना प्रमुख प्रवेश अधिकारीका अनुसार आइसिवी–१ र आइसिवी–२ अन्तर्गतका सबै काम सकिएकोले अब परीक्षण उडानका लागि विमानस्थल तयारी अवस्थामा रहेको छ । परीक्षण उडानको दिन नै आयोजना हस्तान्तरणको मिति तय गरिने अधिकारीले जानकारी दिएका छन् ।
परीक्षण उडान मिति भने नेपाल नागरिक उड्डयन प्राधिकरणले तय गनुपर्ने हुन्छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एअरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी १) मा सम्झौता भएर गत २०७१ माघ १ गतेदेखि निर्माण सुरु गरेको थियो ।
आइसिवी–१ अन्तर्गत तीन हजार मिटर धावनमार्ग, चार वटा लिङ्क ट्याक्सी वे, पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्ने क्षमताको पार्किङस्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, पाँच सय कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, ट्याक्सी वे लगायतका काम रहेका थिए, जुन अहिले सबै सम्पन्न भई सकेका छन् ।
गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलमा तीन तहका काम सम्पन्न भएका छन् । पहिलो आइसिबी–१ अन्तर्गत ६ अर्ब ८२ करोडको,दोस्रो अन्तराष्ट्रिय आइसिवी–२ अन्तर्गत ५० करोडको काम र तेस्रो २२ अर्ब ४० करोडको मुआब्जा वितरण सम्पन्न भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम भएको छ । यसरी आयोजनाको सबै काम जोड्दा ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएको छ । यो रकममा नेपाल सरकारको ३७.४ र एडीबीको ६२.६ प्रतिशत लगानी रहेको छ ।
निर्माण सम्पन्न भईसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले अहिले १२औं तहको महाप्रबन्धक समेत पाएको छ । महाप्रबन्धकको रुपमा गोविन्दप्रसाद दाहाल भैरहवा विमानस्थल पुगिसकेका छन् । विमानस्थल सञ्चालनको अन्तिम तयारीमा रहेको महाप्रबन्धक दाहालले जानकारी दिएका छन् । थाइल्याण्डबाट एरो थाईका प्राविधिकहरू अध्ययनका लागि आएको र उनीहरूको रिपोर्टपछि करिब एक महिनामा परीक्षण उडान हुनसक्ने दाहालले बताएका छन् ।
गौतमबुद्ध बिमानस्थलमा हाल ३४ जनाको दरबन्दी छ । अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार भैसकेपछि अब बिमानस्थलमा १५१ जना कर्मचारीको दरबन्दी हुने छन । यसबाहेक सेवा प्रदायकले आपूर्ति गर्ने एक सय तीन जना, प्रहरीमा १६७ जना, मेट्रोलोजिष्ट १७ देखि २० जना, अध्यागमन, भन्सार, क्वारेन्टाइन लगायतका कर्मचारीको अवश्यकता हुन्छ । अध्यागमन, भन्सार, क्वारेन्टाइन र सुरक्षाबाहेक विमानस्थल सञ्चालनको लागि अहिले करिब २० जना थपिए अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनयोग्य हुने दाहालले दाबी गरेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार