मधेशमा संघीयताको झझल्को

द्वारा प्रकाशित गरिएको हो |
January 24th, 2022
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मधेशको भूभागलाई वेवास्ता गरी कुनै पनि हालतमा नयाँ नेपालको निर्माण हुन सक्दैन । मधेशलाई अवसरको आवश्यकता छ । नयाँ नेपालको निर्माणको लागि मधेश, प्रदेश बटम लाइन भएपनि यथास्थितिवादीहरुले मधेशी जनताको यो आवाज र भावना विरुद्ध षड्यन्त्र गरे । तर पनि सिंगो मधेशले, मधेश प्रदेशको बटमलाइनलाई आत्मसात गर्दै मधेशी जनताको हक, हित र अधिकारको सवालमा एक ढिक्का भएर आन्दोलित हुँदा सैयौले शाहदत प्राप्त गरे भने हजारौं अंगभंग भए । सोही मधेश आन्दोलनको प्रतिफल स्वरुप अहिले प्रदेश नंं. २ को नाम मधेश प्रदेश रहन गयो । २ नं. प्रदेशको यही सफलता पछि १ नं. प्रदेशको नाम पनि किरात प्रदेश हुने सम्भावना बढेको छ भने क्रमश ताम्सालिङ्, नेवा, मगरात, तमुवान, थारुवान आदि जस्ता नामाकरण पनि थपिदै जाने विश्वास गरिदैछ । किनभने जनयुद्धताका स्वाभिमानी नेपाली जनताहरुलाई जनयुद्ध हाक्ने कमाण्डरहरुले जातीय स्वशासन, क्षेत्रीय स्वशासन, जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीय प्रदेशको नाम राख्ने भनिएको थियो । र कथित पुरानो सत्ता विरुद्धको युद्धमा सरिक गराइएको थियो । तर पछि संघीयताको जग खन्ने क्रममा यी सबै कुराहरुलाई बुझ पचाइयो । यसरी पहिचानवादी शक्ति र समुदायलाई पाखा लगाइयो । ढिलै भए पनि अहिले आएर मधेश आन्दोलनले झिनो सफलता प्राप्त गरेको स्मरण गरायो । यो क्रमले अन्य प्रदेशहरुलाई पनि समेट्नु पर्दछ । अहिले मधेश प्रदेश नामाकरण भइसकेपछि दुई नं. प्रदेश सरकारले मधेश आन्दोलनमा शाहदत प्राप्त गरेका ५९ सहिद परिवारलाई ३÷३ लाखको दरले आर्थिक सहयोग गरेको छ । चौथो बलिदानी दिवसको अवसरमा सप्तरीको राजविराजमा हालै आयोजित कार्यक्रममा मधेश सरकारले सहिदको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । सोही क्रममा आन्दोलनका क्रममा घाइते भएका झण्डै सय जना जतिलाई २५ हजारदेखि ३ लाख सम्म आर्थिक सहयोग गर्यो । यसैगरी घाइतेको अवस्था हेरी मधेश सरकारले आर्थिक सहायता रकम निर्धारण गर्यो । कार्यक्रममा सम्बोधन गर्दै मधेश सरकार प्रमुखले सहिदहरुको बलिदानकै कारण पहिचान सहितको मधेश प्रदेश प्राप्त भएको र हामीले सहिदहरुको बलिदानकै कारण संघीयता प्राप्त गरेका हो भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार