के फरक छ राजतन्त्र र गणतन्त्रमा?

द्वारा प्रकाशित गरिएको हो |
January 24th, 2022
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

आज न त २०६२/०६३ जनआन्दोलनको मर्म र भावना अनुरुपनै देशले राहत पाएको छ न त गणतान्त्रिक नेताहरुकै कथन अनुरुप ‘नयाँ नेपाल’को खाका नै कोरिएको छ । साच्चिनै के फरक छ र त्यो राजतन्त्र कालमा र यो गणतान्त्रिक कालबीच ? समावेशीकरण र समानुपातिक प्रतिनिधित्वमा राजनीतिक दलहरुको आदिवासीभूमिपुत्र, मधेसी, उत्पीडित समुदायप्रति हेर्ने दृष्टिकोणमा फरक आएको छ कि, भ्रष्टाचार, नातावाद, कृपावादमा कमी आएको छ ? समावेशीकरणको नाममा फरियावाद झनै पुरानो सत्तामा भन्दा अहिले के कम छ ? राणा र शाही कालमा तिनका हुक्के, बैठकेहरुले उबेला रैफालो मच्चाएझै वर्तमान गणतान्त्रिक कालमा ठूला राजनैतिक दलका अरौटे, भरौटेहरुले रैफालो मच्चाइरहेका छन् ।
सत्ता लुछाचुडीको नौटंकीले देशलाई कहिल्यै छोडेन जसले देश र जनतालाई पिरोली रहेको छ । जनभावना अनुरुपको संघीयता स्थापित हुन सकिरहेको छैन । अपुरो र अधुरो संविधान लेखिएको छ । संविधान घोषणा हुनुभन्दा पहिला नै यस प्रकाशनले संविधान जलाइन्छ या च्यातिन्छ भनेर आफ्नो प्रकाशनमा समाचार सम्प्रेषण गरेझै घोषणा भएकै दिन पहाड, तराई, मधेश सर्वत्र एकै पटक संविधान च्यातिए, जलाइएको कुरा यहाँ स्मरणीय छ । छेउ न टुप्पोको यस्तो संविधानले सम्बोधन गर्ने सवाल त उठ्दै उठ्दैन । गणतान्त्रिक संविधान घोषणा गरिएको भनिएता पनि घोषणा पश्चात मुलुकमा जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि आम नेपाली जनताहरुको निमित्त कागलाई बेल पाके सरह भएको छ । नेपाली जनतालाई देशमा कुन दलको सरकार छ, प्रधानमन्त्री को छ भन्ने कुराको अर्थसमेत रहन छाडेको छ । आत्मनिर्णयको अधिकार र पहिचान सहितको संघीयता आम नेपालीको चाहना हो । जनभावनाको यो चाहनालाई आत्मसात नगर्ने यहाँका ठूला दलहरु जोसुकै र जसको नेतृत्वमा सरकार बनेपनि देश र जनतालाई कुनै मतलब र सरोकार छैन । मुख्य कुरा वर्तमान संविधान नै जनभावना अनुकूल छैन । यसले तराई, पहाड, मधेसका सबै वर्ग र तहका जनताहरुलाई समेट्न सकेको छैन । यस्तो संविधानलाई टेकेर जुन दलको नेतृत्वमा सरकार बनेपनि देश र जनतालाई सरोकार हुने सवाल उठ्दै उठ्दैन । यसैले जनभावना अनुरुपको संविधान निर्माणको निमित्त अर्काे संविधानका चाहाना राखेका हुन् नेपाली जनताले । देशको मूल कानून नै जनभावना अनुकूल देश, काल र परिस्थिति अनुरुप नहुँदा आज नेताहरु जथाभावी साढे गोरुझै बुर्कुसी मारिरहेका
देखिन्छन् । संविधानलाई आफु अनुकूल ब्याख्या गर्दै आफ्नो अरौटे, भरौटहरुको स्वार्थ सिद्ध गरिरहेका छन् । देश र जनताभन्दा विदेशी प्रभुहरुप्रति झुकाव राख्ने काम गरिरहेका छन् । यही बुझेका पूर्व राजाले समेत पटक पटक प्रेस विज्ञप्ती मार्फत चिन्ता व्यक्त पनि गरिरहेका देखिन्छन् । नत्र थन्को लागि सकेको राजाले यसरी बीचबीचमा बौरिने कार्य गर्ने साहस किन गर्थे? हुन पनि राजतन्त्र पछि गणतन्त्र आएका दिनमा कुनै पनि राम्रो काम देशको जनताको हितमा एउटै पनि भएको छैन । जो आरोप लगाएर सत्तासिन व्यक्तिलाई हटाएका हुन्छन् आज कुर्सी पाएपछि उही काम दोहोर्याउने गर्छन् । उदाहरणको लागि छ महिना अघि ओलीले देश डुबायो, आफन्तलाई मात्र पोस्ने काम गर्यो, भ्रष्टाचार, तस्करी, महँगी बढायो भन्दै ओलीलाई सत्ताच्यूत गर्ने कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा(संयुक्त समाजवादी) दलहरु पनि अहिले ओली पथमै हिडेका देखिए । अध्यक्ष माओको नेतृत्वमा चीनमा विदेशी हस्तक्षेप विरुद्ध र राष्ट्रिय एकताका लागि चिनीयाँ जनताहरु दृढ र अडिग रहेको सर्वविदितै छ । तर ठीक यसको विपरीत माओको नाम भजाउँदै नेपालमा राजनीति गर्नेहरुले विदेशी हस्तक्षेप आमन्त्रण गर्ने काम गरिरहेका छन् । र एक प्रकारको अपराधमा संलग्न रही माओको नाम बद्नाम गरिरहेका छन् । साँच्चिकै गणतान्त्रिक दलहरु देश र जनताप्रति आफुलाई उत्तरदायी ठाने पनि देश विकास अखण्डता प्रति उनीहरु लाचार छायाँझै
देखिन्छन् । साच्चिकै उनीहरु गफ गरेझै अगाडि बढ्ने हो भने देशको विकास अखण्डता उनीहरुको लक्ष्य हो भने सबै देशभक्त र राष्ट्रवादी समुदायलाई गोलबद्ध गरेर अघि बढ्नुपर्ने हुन्छ । आज देश कति कमजोर बनेको छ यो कुरा कसैबाट छुपेको छैन । हामी कति लाचार र पराधिन भइसकेका छौं भन्ने कुरा विभिन्न समाचार माध्यमहरुले निर्दिष्ट गरिसकेको छ । विदेशबाट एक जना सचिव सरहको व्यक्ति नेपाल भ्रमणमा आउँदा हाम्रा ठूला अखबारमा प्रमुख समाचार बन्ने गर्दछन् तर हाम्रा उच्च तहका नेता विदेश भ्रमणमा जाँदा त्यहाँका अखबारमा भित्रि पृष्ठमा समाचार बन्छ या त कुनै समाचार बन्दै बन्दैन । यसबाट पनि पत्रकारिता भित्र सम्म पनि विदेशी प्रभाव कतिसम्म रहेको छ भन्ने छर्लंग हुन्छ । यस्तो गम्भीर मोडमा देश पुगेको बेला देशभक्त शक्तिहरु आआफ्नो हठ त्यागेर राष्ट्रिय स्वाधिनताको पक्षमा एक हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार