तानाशाहीको झझल्को

द्वारा प्रकाशित गरिएको हो |
January 18th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

बेथिति, अन्याय, अत्याचारको श्रृङ्खलाहरु एकपछि अर्काे बढ्दो छ । हत्याहिंसा, बलात्कार, भ्रष्टाचारले सीमा नाघेको छ । अबोध बालिकामाथि बलात्कार र हत्या हुने क्रमले निरन्तरता पाइनै रहेको छ । गणतन्त्रस्थापना पश्चात मुलुकले राहत पाउनुको सट्टा यसरी आहात मात्र पाइरहेको छ । संविधान मिचिने काम स्वयं नीति निर्माण गर्नेहरुबाटै मिचिरहेको छ । तस्करहरुको हुल जताततै सल्बलाइरहेको छ । कालो बजारी र महँगी चरम चुलीमा पुगेको छ । स्वयं सत्ताधारी नेताहरु नै राष्ट्रको नाममा ब्रह्मलुट मचाइरहेका छन् । प्रतिपक्ष दल छकि छैन जनताले अनुभतिसम्म गर्न पाएका छैनन् । यसैले गर्दा मुलुकमा भ्रष्ट, मनपरीतन्त्रको जगजगी बढ्दो छ । सरकारी कार्यालयहरुमा घुस बिना जनताको काम रत्तीभर हुँदैन । न्यायलयहरु बिचौलियाहरुको फन्दामा परेका छन् ।
न्यायलय स्वयं बिचौलियाको चंगुलमा फसेपछि न्यायनिसाफ त मर्ने नै भयो । न्याय निसाफ छिटो छरितो र पारदर्शी ढंगले पाउनु भनेको आकाशकै फल टिप्नु झै भएको छ । यसो भनेर गणतान्त्रिक व्यवस्थाको खिल्लि भने उडाउन खोजिएको होइन । तर गणतन्त्रको ठेकेदार हौ भन्नेहरुको क्रियाकलाप र राज्य संञ्चालन गर्ने नेताहरुको कार्यशैलीको कारण यस्ता प्रश्नहरु उब्जिएका हुन् । पहिलाझैं डनवान, फरियावाद हावी हुँदैछन् । भ्रष्ट, घुसखोरी, तस्करी, अनैतिक दलाल, कालोबजारी फस्टाइरहेकै छ । यस्तो लाग्छ गणतन्त्र घोषित भएपछि देश झन् झन् कंगाल र नेताहरु झन् झन् मोटाउँदै जानेक्रमले एकपछि अर्काे निरन्तरता पाइरहेकै छ । जनताले न्यायनिसाफ र राहत पाउनु भनेको कुन चरीको नाम हो थाहा छैन । अझै यहाँ सानालाई ऐन, ठूलालाई चैन भनेझै कानून सानालाई तर्साउने माध्यम बनेको छ । पैसा र सोर्सफोर्स भयो भने यहाँ दिनलाई रात र रातलाई दिन पार्ने काम पनि सजिलै हुन्छ । राज्यसञ्चालकहरुबाट विदेशी प्रभुको आशिर्वाद प्राप्त गर्न र देश विकासको नाममा आएको विदेशी ऋण र अनुदान हसुर्ने परिपार्टीले देशमा वैदेशिक ऋणको बोझले सर्वसाधारण जनताको ढाड भाचिदो छ । जनताको थाप्लोमा यसरी ऋणको बोझ बोकाएर लोकतान्त्रिक नेताहरु देशद्रोही काम गरिरहेका छन् । राजतन्त्रको अन्त्य पछि आजको दिनसम्ममा गणतान्त्रिक नेताहरुले कति ब्रह्मलुट गरे त्यति त सायदै श्री ३ राणाहरुले १०४ वर्षमा पनि गरेका थिएनन् । यस्तो नेताहरुबाट देश र जनताले राहत पाउलान् भनेर के आशा गर्ने र कसरी भन्ने ? यसरी सर्वसाधारण जनताहरु न्यायनिसाफ पाउनबाट बन्चित हुँदै जाने, तस्कर, डन र नेताहरु मिलेर भ्रष्टाचार गरी अर्थतन्त्र नै चौपट पार्नु, कालोबजारी, महँगाई चरम् उत्कर्षमा पुग्नु, व्यापारी, डन, तस्कर र नोकरसाह र राजनैतिक नेताहरुबीच साँठगाँठ हुनु तानाशाही प्रवृत्तिको झझल्को गराउँनु नै हो । सत्तापक्ष नेता कार्यकर्ताहरको सम्पर्कमा नआए कुनै पनि सरकारी निकायको कुनै पनि काम हुन सक्ने अवस्था छैन । यस्तो वातावरणले देशमा लोकतन्त्रको अनुभूति गर्न सकिन्न । सबै खाले व्यवसायप्रति सरकारले गम्भीरताका साथ नलिदा नेपाली समुदायको कुनै पनि राहतको काम हुन सकेको छैन । राज्यको हरेक निकायहरुमा अन्याय, अत्याचारले शिखर चुमेको छ । यसकारण यतिबेला सिंगो मुलुकले न्याय खोजेको छ । उन्मुक्तिको लागि अनुनय, विनय गरेको छ । तर जनताले खोजेको न्याय र उन्मुक्ति यो लोकतान्त्रिक व्यवस्थाले पनि यही हालतमा उपलब्ध गराउँला भन्नु दिउँसै रात पर्नु झै भएको छ भन्ने थालेका छन् आम सर्वसाधारणले ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार