नामर्दको जोइँ हुनुभन्दा ‘मर्दको ‘रखौटी’ हुनुनै ठीक रहेछ’

द्वारा प्रकाशित गरिएको हो |
January 18th, 2022
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । गणतन्त्र घोषणा पश्चात झनै मुलुकमा विदेशी हस्तक्षेप ह्वातै बढेर गएको छ । यसमा पनि साना मुलुकहरुप्रति हुने गरेको भारतीय दादागिरी कुन रुपमा हुने गर्छ सबैलाई थाहा भएकै कुरा हो । इतिहासदेखि आजको मितिसम्म उसको दादागिरीका शिकार हुनेहरुमध्ये नेपाल पनि अछुतो छैन । कैयौ वर्षअघि देखि विस्तारवादी भारतले हाम्रो देश नेपाललाई गिद्धेदृष्टि लगाएको जग
जाहेरैछ । यसमा नेपालका कुपुतहरु जो भारतीय एजेन्टको रुपमा रही महाकाली, गण्डकी, कोशी, टनकपुर आदि जस्ता नदीहरुलाई भारतीय स्वार्थमा उपलब्ध गराई सकेका छन् । सीमा अतिक्रमण तीव्र पारिएका छन् । पछिल्लो घटना अनुसार लिपुलेकमा सडक विस्तार बढेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै लिपुलेक क्षेत्रमा भारतीय सरकारले नै सडक बनाइरहेको छ । दुईदेशको सहमति विपरीत भारतीय पक्षले लिपुलेकमा सडक निर्माण गर्नु आपत्तिजनक र गम्भीर विषय हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाल भूमि रहेको स्पष्ट भइसकेको
छ । नेपालमाथि भारतले गरेको यो अतिक्रमण मात्र होइन उसले वि.सं. २०२० सालमा पनि नेपाली भूमि सुस्तामा प्रवेश गरेर नेपाली सुरक्षा बलका ४ जना र पिताम्बर जंग राणालगायत एक जना सर्वसाधारण नेपाली नागरिकको समेत हत्या गरेको कुरो नेपाली मनमष्तिष्कमा आलो घाउ भएर अझै रहेको छ । त्यस्तै २०६१ वैशाख २९ गते भारतीय सुरक्षाबलले नेपालको सुस्तास्थित नेपाल प्रहरी चौकीबाट प्रहरी हवलदार पूर्णबहादुर जिसी र प्रहरी जवान टीकाराम महतोलाई अपहरण गरी विहारमा पुर्याएर बन्धीबनाई उनीहरुमाथि मुद्दा समेत चलाइएको
थियो । यी र यस्ता भारतीय दादागिरी कहिलेसम्म चलिरहने हुन् भन्ने कुरो थाहा छैन । देशको युवाशक्ति साथै अवला नारीहरु समेत विदेशीभूमिमा ज्याला मजदुरी गर्न विवश छन् । उनीहरुले त्यहाँ कति हण्डर खेप्नुपरेको छ । न त विदेशी दादागिरीको कुनै मतलब छ न त यस्ता छोरीचेलीहरुको विजोगप्रति नै कुनै चासो छ । नेपाल सरकारलाई यस्ता कुनै पनि प्रकारको सवालहरुले छुनै सकेको छैन । अंग्रेजले नेपालसँग गुहार मागेपछि तत्कालिन राणा प्रधानमन्त्री जुद्धशमशेरले ब्रिटिश आर्मीमा भर्ती हुन नेपालीहरुलाई हुकुम फरमान गरे । यसरी यस देशका भूमिपुत्रहरु ब्रिटिश साम्राज्यवादको पक्षमा विश्वमा विश्वयुद्धमा होमिए । वीर नेपालीहरु ६ वर्षसम्म विश्वका विभिन्न कुनामा गएर लडाई लडे । कैयौ मारिए, कैयौ अपाङ्ग भए र अन्तिममा बहादुरी कमाए । यसको प्रतिफल स्वरुप अंग्रेजहरुको विजयी झण्डा विश्वमा फहरायो । यस घटनाले अंग्रेजहरु अत्यन्त प्रभावित भई यस खुशीयालीमा नेपालीलाई हजारौं पाउण्ड पुरस्कार दिए । तर आज यस्ता वीर नेपाली नागरिकको ब्रिटिश सरकारले दिइने पेन्सन सुविधा समेत धरापमा परेको छ । पेन्सन लगायत अन्य सुविधाको लागि आन्दोलनरत भुपु गोर्खा सैनिक तथा नेपाल र बेलायत सरकारको प्रतिनिधि बिच भएको पछिल्लो सहमति अनुसार डिसेम्बरमै यसबारे वार्ता हुनुपर्ने थियो । तर नेपाल सरकारले यसबारे कुनै पनि चासो नदेखाउँदा गोर्खालीहरुको समान पेन्सनको सवालको वार्ता टरेर गएको छ । यस घटनापछि ‘नामर्दको जोइँ हुनुभन्दा, मर्दको रखौटी हुनुनै ठीक रहेछ’ भन्न थालेका छन् आम गोर्खा भूपू सैनिकले । किनभने मर्द भए यतिबेला वार्ता भइसक्थ्यो र गोर्खालीहरुको पेन्सनको टुंगो लागिसक्थ्यो । नेपाल सरकार नामर्द भएकै कारण साम्राज्यवादी ब्रिटिश सरकारबाट नेपालीहरुले यसरी हण्डर खानुपरिरहेको छ । पछिल्लो पटक भदौ १३ गते भएको छलफलमा नेपाल र बेलायतबीच डिसेम्बरमा गोर्खालीको समस्याबारे वार्ता गर्ने भनिएको थियो । तर बेलायतले वार्ताको लागि तयार रहेको जानकारी दिए पनि नेपाल सरकारले वार्ता टोली गठन नगर्दा ढिलाइ भएको आन्दोलनरत गोर्खालीहरुको प्रतिनिधिद्वारा थाहा हुन आएको छ । सन् १९९७ भन्दा अगाडि बेलायती सैनिकमा भर्ती भएका नेपाली नागरिकलाई बेलायती सरह पेन्सन र सुविधाको माग गर्दै लामो समयदेखि भूतपूर्व सैनिकहरु आन्दोलनरत छन् । पछिल्लो पटक उनीहरु ६ सालदेखि १३ दिनसम्म बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अनसन बसेका थिए । बेलायत सरकारले वार्तामा बस्ने प्रतिबद्धता जनाएपछि आन्दोलनकारी गोर्खा सैनिकहरुले अनसन तोडेका थिए । यहाँ आश्चार्यको कुरा त के छ भने ब्रिटिश सरकार स्वयंबाट नभई गोर्खालीहरुको समान पेन्सन सम्बन्धी वार्ता नेपाल सरकारकै अकर्मन्यताको कारण एकपछि अर्काे टर्दै गइरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार