गणतन्त्र होइन भीडतन्त्रको प्रारम्भ

द्वारा प्रकाशित गरिएको हो |
November 29th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मुलुकमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र, गणतन्त्रको उदय भएको भनि घोषणा गरिएको दिन हो । लोकतन्त्र, गणतन्त्रको उदय भए पश्चात राजतन्त्रमा झै यहाँ कुनै पनि निकायहरुमा विभेद हुने छैन । असमावेशी हुनेछैन । जातपात, छुवाछुतको अन्त्य हुनेछ । कुनै पनि नेपाली एकछाक खान र एक आङ ढाक्नबाट बन्चित हुने छैन आदि जस्ता कुराहरु भनि गणतान्त्रिक नेताहरुले ‘डिङ’ हाक्दै नेपाली जनताहरुबीच भ्रमको खेती छरिरहेका थिए र छन् । यथार्थमा नेपाली समाजले लोकतन्त्रको अनुभूति होइन कि भीडतन्त्रको पीडा भोग्नुपरिरहेको छ । हालै चितवनमा सम्पन्न भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा उर्लिएको भीडले नै यस कुराको पुष्टि गर्दछ । मुलुकमा गणतान्त्रिक दलहरुले गणतन्त्र, लोकतन्त्रको नाममा मनपरीतन्त्र चलाई रहेका देखिन्छन् । दलका शीर्षस्थ नेताहरुले लोकतन्त्र र गणतन्त्रको उपहास गरिरहेका छन् । जनराहतको आहत दिने नेताहरुले सक्षम नेतृत्व दिन नसकेका मात्र होइनन की हरेक दृष्टिकोणबाट गणतान्त्रिक दल र त्यसका नेताहरुले असफलताको पगरी गुथिरहेका छन् । देशका विभिन्न ठाउँमा कतिपय नेपाली जनताहरु भोकमरीमा परिरहेका छन् भन्ने कुरा पश्चिलेमी क्षेत्रका बासिन्दाको रोदन क्रदन सुन्दा नै प्रष्ट हुन्छ । सुकुम्वासी वस्तीहरुमा भोका पेटसँगै छाप्रोका अभावमा आकाशगंगा कै ओतमुनि गुजारा गर्र्न विवश छन् । बेरोजगारी समस्याले पराकाष्ठ नाघेको छ । यी र यस्ता सरोकारको सवालमा देशका ठेकेदार दलहरुलाई पटक्कै चिन्ता छैन । जनताहरु भोकभोकै मरुन् की बाचुन् कुनै मतलब छैन । मतलब छ त केवल कुर्सीकै मतलब छ । देशमा कहाली लाग्दो अवस्था थेग्न नसक्दा लाखौं युवाहरु ब्रिटीश, सिंगापुर आर्मीमा मात्र नभएर गल्फ मुलुकहरुमा ज्यामी मजदुरी गर्न तछाडमछाडले लामबद्ध छन् । यसको समाधानको लागि सोच्ने समेत यी पाखण्डीहरुलाई फुर्सद छैन । यसको विकल्पको निमित्त विचार विमर्श गर्ने संकेत समेत देखाएका छैनन् । हुनत मतलब नै नभएपछि विकल्प सोच्ने कुरै भएन ।
देशका ठूला राजनीतिक पार्र्टीहरु देश र जनताको लागि होइन पदकै लागि मरिहत्य गर्छन् भन्ने कुरो हालै एमालेले गोदावरीमा पारिरत विधानलाई सौराहमा संशोधन गरी सबैलाई पद बाँडफाँड गरेबाटै स्पष्ट हुन्छ । नेताहरुलाई व्यवस्थापन गर्र्न सकस परेपछि महाधिवेशन उद्घाटनकै दिन मध्यरातसम्म बसेको साविक केन्द्रीय कमिटि बैठकले गोदावरीमा पारित गरिएको विधानलाई उल्टाई पदाधिकारी र केन्द्रीय सदस्यको संख्या मात्र थपघट गरेनन् की विधान महाधिवेशनले हटाएको पोलिट ब्यूरोलाई समेत ब्यूउताउनेकाम गर्यो । एमाले बैठकले उपाध्यक्षमा दुर्ई र उपमहासचिवमा दुई थप्ने निर्णय गरेर अब एमालेमा १९ जना पदाधिकारी रहने व्यवस्था गर्यो । जस अनुरुप एमालेमा अब १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ जना सचिव रहनेछन् । स्मरणीय छ दुई महिना अघि गोदावरीमा भएको विधान महाधिवेशनबाट संशोधित विधानमा एक अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिव सहित गरेर जम्मा १५ जना पदाधिकारी रहने व्यवस्था गरिएको थियो । धेरैलाई भागबण्डा लगाउनुपर्ने भएकोले आर्यघाट पुगिसकेको पोलिटब्यूरोलाई ब्यूउताएर ९९ सदस्यीय पोलिटब्यूरो सदस्य रहने व्यवस्था गरिएको हो । जानकारीमा आए अनुसार माओवादी केन्द्रसँग एकता भएको अवस्थाको नेकपामा र पछि एमाले छुटिसकेपछि पनि पोलिटब्यूरोको अस्तित्व थिएन । यसका अलावा महाधिवेशन उद्घाटन भएकै दिन शुक्रबारै मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटिको बैठकले अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा २५÷२५ सदस्यीय रहने निर्णय गर्यो । जबकी यसअघि यी तीनै आयोगमा १५÷१५ सदस्यीय रहने व्यवस्था
थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार