११४२ नेपाल सम्वत प्रारम्भ

द्वारा प्रकाशित गरिएको हो |
November 1st, 2021
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । नेपाल सम्वत् एउटा यस्तो सम्वत हो जो नेपालको भुगोलमै सिर्जित भयो र कुनै एक व्यक्तिको नामबाट होइन कि सिंगो राष्ट्रकै नामबाट निरन्तर आएको हो । राजा राघवदेवको पालामा शंखधर भन्ने सामान्य व्यक्तिले ईस्वी सम्वत् ८७९ मा देशभरका ऋणहरु मोचन गरी यो सम्वत् सुरु गरेको हो । नेपाल खाल्डोभित्र यसले ८९० वर्षसम्म राष्ट्रिय सम्वत्को रुपमा राज गर्यो । पृथ्वीनारायण शाहले ईस्वी सम्वत् १७६९ मा नेपाल लिएपछि शक सम्वत् चलाई नेपाल सम्वत्को राजकीय निरन्तरता अन्त गरे तथापी यो सम्वत् पछि पनि प्रतापसिंह शाहको समयमा तिब्बतसँगको सम्झौता गर्दा प्रयोग भएको देखिन्छ । पृथ्वीनारायण शाहले सुरु गरेको शक सम्वतको निरन्तरता ईस्वी सम्वत् १९०४ मा राजा त्रिभुवनको पालासम्म आउँदा अर्थात् १३५ सम्म कायम रह्यो । त्यसपछि वि.सं. सुरु भयो । वि.सं. १९६१ वैशाख १ गतेदेखि सुरुवात भयो र नेपालमा हाल यसको राजकीय हैसियतको उमेर ११२ वर्ष पुगेको छ । भनिन्छ कि शक सम्वत् र नेपाल सम्वत दुवै तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरुको स्थिति अगाडि वा पछाडि असजिलो हुन्थ्यो र सजिलो बनाउनका लागि चन्द्र शमशेरले ज्योतिषीहरुको सल्लाह लिएर तिथि र बारहरुमा तलमाथि नगरी वि.सं. १९६१ मेष सक्रान्ति वैशाख १ गतेदेखि नेपालमा चलाए ।
स्मरणीय यो छ कि तिथिको आधारमा चल्दै रहेको नेपाल सम्वत् र शक सम्वत्मा जम्मा ३५४ दिनको १ वर्ष हुन्छ भने वि.सं.को वर्ष २६५ दिन १५ घडि ३१ पला ३१ प्रतिपलामा पुरा हुन्छ । गणितिय हिसाब जे भए पनि यसमा चन्द्र शमशेरको आफु सुर्यवंशी हुनुको गर्भलाई स्थापना गर्न यो सुर्यकोगतिमा सञ्चालित वि.सं. चलाएको हो भन्ने धेरै विद्वानहरुको मत छ । वि.सं. हिन्दु राष्ट्रवादको गैरहिन्दु समुदायमाथि विजयको प्रतिक स्वरुप भारतीय उपमहाद्वीपमा परापुर्वकालदेखि प्रतिस्थापित भई आएको र सोही हिन्दु राष्ट्रवादको निरन्तरता स्वरुप चन्द्र शमशेरले हिमाली भेगका समुदायहरुमाथिको विजयीको शानमा यो सम्वत चलाए । राजकीय सम्वत् जुनै भए पनि नेपाल सम्वत् चन्द्रमाका तिथिमिति सम्वत् भएकै कारणले यसलाई जनताले चाडपर्व, जन्ममृत्यु आदि सबै संस्कारको तिथि गणना र चिना धर्मपत्र, लेख, किताब, शिरा, धातुपत्र आदिको मिति प्रयोगमा आफ्नै हिसाबले निरन्तरित गर्दै ल्याए । जनु आजसम्म पनि निरन्तरित छ । उल्लेख्य यो छ कि वि.सं.लाई राजकीय सम्वत घोषणा गरेको १६ वर्षतिरै अर्थात् १९२० को दशकमा यसको विरोधसाथ नेपाल सम्वतलाई राजकीय सम्वतको रुपमा स्थापना गर्ने अभियान नेपाल भाषाका आन्दोलनकर्ता बौद्ध विद्वान धर्मादित्य धर्माचार्यले कलकतामा बसेर सुरु गरे । त्यसपछि ईस्वी सम्वत् १९५० मा राणाशासनको अवसान पछि यसलाई भाषा, साहित्य र संस्कृतिकर्मीहरुले आन्दोलनको रुपमा अघि बढाए । पछि ईस्वी सम्वत् १९७९ मा नेपाल भाषा ‘मंका खल’ले यस अभियानलाई संंगठीत रुपमा अघि बढाए । तत्कालिन पञ्चायत सरकारले यस आन्दोलनलाई दबाउन शान्तिपूर्ण ¥यालीहरुमै धावा बोलेर अभियानकर्ताहरुलाई दमन गर्ने, जेल हाल्ने कार्य गर्यो । अन्ततः पञ्चायत कालको अवशान पछि ईस्वी सम्वत् १९९० मा यसका संस्थापक शंखधरलाई विभुती मानेर राज्यले राजकीय सम्मान दियो । अझ शाहकालको अवसानपछि सन् २००८ मा सरकारले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत्को रुपमा घोषणा ग¥यो र २०११ अक्टोबर २५ मा यसको कार्यन्वयन प्रक्रिया सिफारिसको लागि एउटा कार्यदलनै गठन ग¥यो । तर त्यसले आजसम्म कुनै काम अघि बढाएन । तथापी २०१३ देखि नेपाल सम्वत्को पहिलो दिनलाई नव वर्षको रुपमा बिदा दिने चलन कायम भयो । विक्रम सम्वत् वा शक सम्वत् आयातित सम्वत् मानिने हुँदा नेपालका माटो प्रेमीहरु नेपाल सम्वतलाई नै नेपालीले गर्भका साथ यसी सम्वत् मान्दछन् । आयातित मानिएको वि.सं.ले राजकीय स्थान पाउँदा धेरै राष्ट्रवादी चिन्तकहरु नेपाल सम्वत्लाई नै यस स्थानमा विराजमान गराउँन चाहान्छन् । वि.सं. आयातित भए पनि नेपाल सम्वत्लाई स्थापित गर्नको लागि विदेशी बनाई राख्न जरुरी छैन । कैयौं आयातित मूल्य र मान्यता हामीहरुसँग छन् जो हामीसँग आफ्नै माटोमा सिर्जित भएकाको तुलनामा बढी प्रचलित पनि छन् । जसको पोषण र प्रद्धर्वनमा हाम्रा उल्लेखनीय लगानी रही आएको छ । त्यसैले विक्रम सम्वत्मा यस माटोको पनि लगानी भएकोले यसलाई पनि यथास्थानमा कायम गर्दै नेपाल सम्वतलाई सम रुपको उचाइमा स्थापित गर्नुपर्छ । वि.सं. भारतमा पर्ने मालविका राजाले स्थापित गरेको र उनैको नामबाट यसलाई निरन्तरित गरिएको हुँदा विदेशी सम्वत् भनिने गरिएको हो । तर विवेचना योग्य यो छ कि जुन बेला यसको सुरुवात भयो त्यस बेला न नेपाल बनेको थियो न भारत । यी भुमिहरु हजारौं भूमिपदमा बाडिएका थिए । उत्तरमा मानसरोवरदेखि दक्षिण गंगानदीसम्म र पूर्वमा कामारुप ब्रह्मपुत्रदेखि पश्चिममा हिन्दुकुश पर्वतसम्म फैलिएको हिमवत खण्डको भूमिले अनेकन मूल्य र मान्यता सिर्जना गरे ।
वि.सं.का संस्थापक विक्रमादित्य नेपालीभूमिकै हुन् भन्ने धारणाहरु पनि नेपालमा नभएका होइनन् । इतिहासले कुनै प्रमाण नदिएपनि अनेकन लोककथा र स्मारकहरुले यस कुराको पुष्टि गर्दछ । जस्तैः
— ३२ वटा पुतली भएको विक्रमादित्यको सिंहासन भेटिएको स्थानलाई बत्तिसपुतली भनियो रे ।
— लिच्छवी राजा भुमि वर्मा नै विक्रमादित्य हुन् रे ।
— विक्रमादित्यले बज्रयोगिनीबाट पारसमणि प्राप्त गरी नारायणहिटी स्थापना गरेका हुन् रे ।
— साँघु बज्रयोगिनीको मन्दिर नजिकै विक्रमादित्यको टाउकोकै मुर्ति स्थापित गरिएको छ ।
— नालामा उत्तरापुर राज्यको नाममा विक्रामादित्य राजाले राज्य गरेका थिए रे ।
— पनौतीमा एउटा युवा ऋषिको स्खलित वीर्य खाएर गर्भवती भएकी युवतीबाट विक्रमादित्यको जन्म भएको थियो रे आदि इत्यादि ।
तर कुनैको पनि ऐतिहासिक पुष्टि भने भएको छैन । बरु ११औं शताब्दीको कर्नाटकको चालुक्य वंशी विक्रमादित्य पृष्ठका सामन्त न्यायदेवले ईस्वी सम्वत् १०९७ मा राजा बामदेवको समयमा सिमरम गढबाट नेपाल आक्रमण गरी उनले यहाँ थिति बसाल्न खोजेको प्रमाणहरु भने पाइन्छ । यो लोककथाको प्रसंग छैठौ विक्रमादित्यको इतिहाससँग मिल्दैन र पनि उनका सामन्त न्यायदेवले उनका थिति यता स्थापना गर्दा उनै विजेता विक्रमादित्यको विजयगान वा प्रसस्ती गाएको हो भन्ने अडकल काट्ने ठाउँ भने छ । भारतीय इतिहासमा एउटा होइन थुप्रै विक्रमादित्यहरु देखिन्छन् । अझ विक्रमादित्य कुनै एक राजाको नाम होइन कि पराक्रमी राजाको पदवी भएको देखिन्छ । हिन्दुभन्दा इतर संस्कृतिको विदेशी आक्रमण र यिनीहरुका स्थापनाका विरुद्ध लड्ने, जित्ने र आफ्नो संस्कृतिको संरक्षण गर्ने पराक्रमि राजाहरुलाई ‘विक्रमादित्य’ मानिने गरेको इतिहासले प्रमाणित गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार