चन्द्र सूर्य अंकित झण्डा गणतन्त्रको पनि राष्ट्रिय झण्डा?

द्वारा प्रकाशित गरिएको हो |
November 1st, 2021
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मुलुकमा राजतन्त्रको अन्त्य र गणतन्त्रको प्रादुर्भाव भयो भन्छ तर राष्ट्रिय झण्डा देखि राष्ट्रिय जनावर, रंग, चरा आदिसम्म राजतन्त्रकै जमानाको छ राष्ट्रिय गान फेरियो भनियो त्यो पनि सर्वाङ्गीन रुपमा राष्ट्रलाई समेटिएको देखिन्न । राष्ट्रिय गीतमा नेपालीको शिर विश्वसामु उच्च राख्ने गौतमबुद्धको जन्मथलो लुम्बिनी र विश्वको अग्लो हिमाल चुचुरो सगरमाथालाई यो गणतान्त्रिक व्यवस्थाले तयार पारिएको भनिएको राष्ट्रिय गीतमा किन पारिएन ? प्रश्न उठेको छ । लुम्बिनीलाई भारततर्फ र सगरमाथालाई चीनतीर धकेल्ने काम राष्ट्रिय गीतको चयन गर्दा नै भएको
छ । जुन सोह्रै आना अन्तर्राष्ट्रिय अर्थात् राष्ट्रहित विपरीत छ । यसप्रकारको गम्भीर त्रुटीलाई सच्याई अर्काे राष्ट्रिय गीत तयार गर्नुपर्दछ । यो आम नेपालीको भावना हो ।
निश्चित रुपमा पृथ्वीनारायण शाहको शालिक तोडफोड गरी गोर्खा राज्य र नेपाल अधिराज्यको सम्पूर्ण विस्तारवादी नीतिको झण्डाफोर गर्नुको अतिरिक्त एक जाति, एक भाषा, एक धर्म र देशको पुरानो संस्कृतिको उन्मुलन नेपालीले गरिसकेका छन् । तर पनि अहिलेको नेपाली राजनीतिमा समेत पुरानै शैलीमा एक जातिकै वर्चश्व रहेको छ । देशको तालाचाबी त्यही एक जातिको नियन्त्रणमा देखिन्छ । यो गणतन्त्र नेपालको मूल्य र मान्यताभित्र पर्दैन र संघीय लोकतान्त्रिक परिपाटीलाई यसले अंगीकार गर्दैन । संघीयताको उद्घोषले मात्र जातीय स्वशासनको सुनिश्चितता हुँदैन । यही कारण प्रान्तीय प्रशासनिक विभाजनले मात्र मुलुकवासीको भावनालाई समेट्दैन । नेपाल नयाँ युगमा प्रवेश गरेको छ, देखावटी रुपमा । विद्यमान सबैखाले धर्म, संस्कार, भाषा, संस्कृति, जाति, वर्ण र क्षेत्रको नेपालीहरु सँगसँगै हिड्ने सँगै खाने र सँगै बाँच्ने हो भने जातीय, क्षेत्रीय आधारमा उसको स्वतन्त्रतालाई राज्यले समान रुपमा मान्यता दिनु पर्दछ । त्यही स्वतन्त्रताले समानता कायम गर्दछ । अनिमात्र मातृत्वको विकास हुन्छ । जसले नेपाली मात्रको राष्ट्रिय भावना गहँकिलो पार्दछ । यही कारण पनि केन्द्रीय सत्तामा समावेशी करण हुनुपर्दछ । यसपछि क्रमश देशको नयाँ राष्ट्रिय गीत, नयाँ राष्ट्रिय झण्डा, निशान छाप आदिको निर्धारण गर्नुपर्दछ । यहाँ एक खाले निरंकुशतन्त्रको अन्त गरेर अर्काे जाति विशेषको निरंकुशता ल्याउन नेपालीले खोजेका होइनन् । त्यस्तो जाति विशेषको एकाधिकार कसैले बहालि गर्न खोज्दछ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति दुवैले स्वीकार्ने छैनन् ।
हिजोको सामन्ती शासकले रचना गरेको झण्डा संघीय लोकतान्त्रिक गणतन्त्रको पनि झण्डा कसरी मान्ने ? पृथ्वीनारायण शाहकालिन चन्द्र सूर्य अंकित यो राष्ट्रिय झण्डालाई सामन्तवादकै प्रतिक किन नमान्ने ।
स्मरण रहोस् राणाकालमा जो श्री ३ बन्थे उही नै सेनाको परमसेनाधिपनि समेत हुन्थे । सोही कारण शाही सेनाको सिंह अंकित झण्डा श्री ३ महाराजको दरबारमा फहराउथ्यो । २००७ सालको जनक्रान्ति पनि उक्त झण्डा परमसेनाधिपतिको हैसियतले राजा त्रिभुवनले पनि नारायणहिटी दरबारमा फहराउने प्रचलन कायम राखे । त्यो राजाको नीजि झण्डा नभई सैनिकको झण्डा हो जसलाई गणतन्त्र लागु भएपछि बुझ्दै नबुझि राजाको झण्डा भनी सो सेनाका झण्डालाई फाली जनताको आँखामा छारो हाल्ने काम भयो । गणतन्त्रले जनतालाई यसरी गुमराहमा राख्ने काम गर्दै आएको छ । यो सरासर गलत कार्य हो । गणतन्त्र बहाली पश्चात त झनै राजनैतिक नेताहरुले खुल्लम खुल्ला लुटतन्त्र नै मच्चाई देशलाई जीर्ण बनाईरहेका छन् । यस्ता जनविरोधीहरुलाई न त नेपालको भविष्यप्रति चिन्ता नै छ न त सरोकार र आस्था नै । जापान, ब्रिटीश जस्ता राजतन्त्रात्मक मुलुक होस् या अमेरिका, चीन जस्ता शक्तिशाली देशहरु नै किन नहुन् यसरी भ्रष्टाचारको जगमा ती देशहरुको उन्नती भएको हुँदै होइन । चीनमा त भ्रष्टाचारी, व्यभिचारीहरुलाई मृत्युदण्डकै व्यवस्था छ । हाम्रो देशको परिवेशमा भने यस्ता जनविरोधी तत्वहरुलाई फाँसीको सजाय हुनु त कता हो कता हत्यारालाई समेत उन्मुक्ति दिइन्छ । हाम्रो देशमा विकासको प्रवाह गरिने चलन छ जसले गर्दा लक्षित उद्देश्यमा नभई विकासका निम्ति छुटाइएका बजेट मनपरी रुपमा भ्रष्टाचारीहरुकै स्वविवेकमा खर्चिने हुँदा विकास ठप्प भई भ्रष्टाचारीहरु मोटाउने कार्यले निरन्तरता पाइरहेकै छ । यसर्थ लोकतान्त्रिक गणतन्त्रमा नेपालमा पनि भ्रष्टाचारी, व्यभिचारी, अत्याचारीहरुलाई हदैसम्मको कानूनी कार्वाहीको व्यवस्था गरिनुपर्दछ । तर यो गणतान्त्रिक संविधान र नयाँ मुलुकी ऐनले पनि त्यस्तो कुनै व्यवस्था गरेको पाइन्न जो दुःख लाग्दो विषय बनेको छ । लोकतान्त्रिक दलहरुको यस्तै अर्कमन्यताका कारण नेपालको गृहनीति र परराष्ट्र नीति दुवै दिनप्रतिदिन विफल हुँदै गइरहेको देखिन्छ । दलहरुको साझा राष्ट्रिय नीति आउन सकेको भए र उनीहरु देश र जनताको निमित्त समर्पित भइ दिएको भए यस्तो अवस्था आउने थिएन । इतिहासमा पनि यहाँ अनेक राजनीतिक संकटहरु देखा नपरेका होइनन् । सत्ता संघर्र्षको चर्काे गुठगद द्वन्द पनि यहाँ नभएका होइनन् । बरु त्यसबेला अहिलेको जस्तो सामाजिक, आर्थिक, राजनीतिक संकटको साथै गम्भीर खालको आजको जस्तो कुटनैतिक समस्या देखा परेको थिएन । ब्रिटिश भारतसँगको युद्ध र भोटसँगको पटक पटकको युद्धकालमा समेत जनतामा अहिलेको जस्तो हाहाकार मच्चिएको इतिहास पाइन्न । राजतन्त्रको अन्त्य सँगै गणतन्त्र र नयाँ नेपालको घोषणा पश्चात देशको हरेक क्षेत्रमा अराजकता कायम हुँदै गयो । राजनैतिक दलका कार्यकर्ताहरु लुटपाट र तस्करीमा संलग्न हुँदै गए । त्यसको संरक्षण उपल्लो तहको नेताले गर्दै आए । यो नै गणतन्त्रमा देश र जनताको लागि विडम्बना सावित बन्यो । अहिले गणतन्त्रको नाममा गुण्डाराज चम्किएको छ । गुण्डाहरु भटाभट मन्त्रि बन्न थालेका छन् । गणतन्त्रको अर्थ अराजकता होइन तर यहाँ त्यो भइदिएको छ । जताततै अराजकता नै अराजकता छ । सुशासन, सुव्यवस्था, समावेशी दिउँसै बत्ती बालेर खोज्नु पर्ने अवस्था आएको छ । पूर्व राज परिवारको कार्यक्रममा आम जनताको भीड लाग्नुले पनि गणतन्त्रको यही विकृतिको कारणले हो भन्न सकिन्छ । यसै कारण राजनीतिक पार्टीप्रति जनताको मनमा वितृष्णा फैलिसकेको छ । बाह्य शक्तिको निर्देशनमा यहाँका राजनीतिक दल र नेताहरु चलिरहेका छन् । लोकतान्त्रिक गणतन्त्रको नाममा देशलाई बन्धक बनाउने र राष्ट्रवादको नाममा जनाधिकार खोस्ने दुवै क्रियाकलाप यहाँ देखिदैछन् । जो दुर्भाग्यपूर्ण छ । आफुलाई लोकतान्त्रिक, गणतान्त्रिक भन्न रुचाउने प्रमुख राजनीतिक दलहरुलार्ई यसप्रति कुनै चासो छैन । अब आम नेपाली जनताहरुले यसतर्फ समयमानै ध्यान पुराई अगाडि बढ्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार