प्राकृतिक पुजकहरुले दशैलाई मिलन पर्व वाली चाडको रुपमा लिए कसो होला?

द्वारा प्रकाशित गरिएको हो |
October 12th, 2021
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

दसैँ बहिष्कार गर्ने एकातिर लहर चलेको छ । अर्कोतिर दसैँलाई महँगो चाड बनाउने र केही हिन्दुवादी ब्राह्मणको मात्र चाडपर्व बनाउनेको बोलवाला छ । यो दुवै कुराले म भने सन्तुष्ट हुन सकिरहेको छैन । किनभने मेरो ब्रम्हले देखेको कुरा दुवै गलत दिशामा प्रवाहित छन् ।
दसैँ भनेको मेरो दृष्टिमा बालीपर्व, मिलन चाड हो । त्यसलाई ब्राह्मणहरूले बठ्याइँ गरी रामरावण युद्धमा रामलेरावण मारेको विजय उत्सव भनेर दसैँलाई पुराण कथामा जोडेको हो । दुर्गा भवानीले शुम्भ(निशुम्भ मारेर मनाएको लडाइँको समर उत्सव भनेर पुराण कथालाई बाली चाडसँग जोड्नु एउटा जालझेलको सुरुआत हो, कुटिल सत्य हो । ब्राह्मणहरू परापूर्वकालदेखि बाठा जाति भएकाले जाँडरक्सी नखाने, माछामासु नखाने, लडाइँझगडा नगर्ने, बुद्धिको काम गर्ने, लेख्नेपढ्ने मात्र काम गर्ने भए भन्ने भनाइ छ । बाहुनले हलो जोत्नु हुँदैन । लसुनप्याज खानु हुँदैन । यो भनाइको पछाडि के रहस्य लुकेको छ ? प्रस्ट छ । अहिले बाहुनले हलो जोतिरहेका छन् । हलो जोत्नु हुँदोरहेछ त ? अहिले निषेध पदार्थ खाइरहेका छन्, खानु हुँदोरहेछ त ? यस्ता बाठा जाति ब्राह्मणले दही दूध, फलफूल, घ्यू, चिनी, मह, मिठाइ खाएर बल र बुद्धि बढाए । सन्तुलित बसेर समाजको सत्ताको मूलसूत्र आफ्नो हातमा लिन सफल भए । आफूलाई शीर्षस्थानमा राखे र सर्वोच्च जाति भनाएर अरूलाई गिामा झुकाए । ब्राह्मणको यो चलाखीले अहिलेसम्म समाज आक्रान्त भएको छ । रुग्ण भएको छ । त्यसैको असरले आज आदिवासी वा देशका मूल जाति जे भनौँ ब्राह्मणवादका विरुद्ध सशक्त रूपमा सङ्गठित हुँदैछन् । किनभने ब्राह्मणवाद जातपातले अहंकारीमात्र नभएर सत्ताभोगमा समेत ज्यादै लिप्सा लिएर छाएका छन् । त्यसैले ब्राह्मणले मनाएको दसैँ गैरब्राह्मणले मान्न हुँदैन भनेर त्यसको बहिष्कार गरिएको हो । ब्राह्मणले गैरब्राह्मणको पुर्खा मासेर मनाएको चाड हो दसैँ भनेर त्यसको बहिष्कार भएको हो । तर असल अर्थ अर्को छ दसैँको । दसैँ ब्राह्मणको चाड होइन । यो सम्पूर्ण किसानको, सम्पूर्ण कृषिमा आधारित जातजातिको चाड हो । दसैँमा जोडिएको राम, दुर्गा कथा अपरेसन गरेर मिल्काउनुपर्छ । सुरुमा जसरी दसैँ चल्यो, अब पनि त्यसरी नै चलाउनुपर्छ भन्ने मेरो मान्यता छ ।
दसैँ चलाउनु समाज(विज्ञानसङ्गत कुरा हो । समाज विकासक्रममा दासयुग र कृषियुग आयो । कृषिकर्म गर्ने किसानहरूले वर्षभरि कठोर श्रम गर्नुपर्छ । कठोर श्रमबाट फुर्सद निकालेर खुसीयाली मनाउनु, मनोरञ्जन गर्नु आवश्यक थियो । त्यसैले दसैँ भनेर पहिला चैत, पछि असोज(कात्तिकमा राखियो । बालीनाली, खेतीपाती, फलफूल, दही, दूध, जाँड, रक्सी, माछा, मासु आदि लिएर खानु, एक ठाउँमा भेला हुनु र रमाइलो गर्नु दसैँको, तिहारको उद्देश्य थियो । पछि जब जन बढ्दै गयो, एकै ठाउँमा बस्न जमिन नपुग्ने भयो अनि आफ्ना परिवार आफन्त( जनहरू बाँडिएर टाढाटाढा छरिए । भेट हुन हम्मेहम्मे हुने भयो । वर्षभरि कृषि कामले फुर्सद नमिल्ने भयो । पछि वर्षमा एक दुईचोटि भेट हुने नियम बनाइयो । त्यो दसैँतिहारका नाममा । आफ्ना अग्रज बूढापाकाकोमा जम्मा हुने, आफ्नो खेतीपाती कोसेली ल्याउने र मिलेर बाँडिचुँडी खाने । दुःख, सुख वर्षभरिको सुनाउने र अग्रीम योजना बनाउने, त्यसमा अनुभवीका सुझाव लिने चलन बन्यो । यसैलाई आशीर्वाद भनौँ । छुट्टिने बेलामा टीका लगाएर छुट्टिने, भेट्ता टीको लगाउने यो एउटा भेटको खुसीमा मन बाँध्ने र बिदाइको दुःखमा मन बाँध्ने प्रथा हो । टीकोमा चामल र दही नै किन ? रातो वा सेतो रङ नै किन ? किनभने चामल प्राण थाम्ने बालीको फल हो । पसिनाको चिह्न हो । यसलाई निधारमा टाँस्नु त्यसको सम्मान गर्नु हो । वास्तवमा चामल भनेको एउटा प्रतीक हो । त्यस्तै दही, गाईको कृषि युगको मूल साधनको माध्यमबाट प्राप्त हुने गोरस हो । गाईले गोरु जन्माउँछन्, जसले हलो तान्छ र मलगोबर दिन्छ । गाईले दूधरस दिन्छन् । त्यस दूधको जमोट दही हो र दही शीतल र पाचनक्रियामा मद्दत गर्ने खाद्य हो । यसको रङ सेतो छ । सेतो चामल र सेतो दही शान्तिको रङ हो । जीवनको रङ रातो हुन्छ । प्रेमको रङ रातो हुन्छ, वीरताको रङ रातो हुन्छ, रगतको रङ रातो हुन्छ । रातो लगाएर एउटा प्रतीकको कविता टाउकोमा, महत्वपूर्ण भाग निधारमा लाउन सुरु भयो । अझ फूलमा सयपत्री, मखमली, बाबरी नै किन ? किनभने अजम्मरी वा गुणयुक्त फूल लगाउनु शोभनीय र फाइदामूलक कुरो हो । त्यसपछि जमरा लाउनु त झनै महत्वपूर्ण कुरो हो । जमरा भन्नाले धान, मकै, गहुँका बिरुवाहरू हुन् । जो पेट भर्ने दरो र मीठो पदार्थ हुन् । यिनीहरूको जमरा लाएर कृषि सङ्घर्षको सफलताको जयगान गर्नु हो, सम्मान गर्नु हो । यसरी चाडपर्वको तयारी भएको छ । मिलन पर्वका रूपमा वा कृषि चाडको रूपमा भेला भएर वर्षमा एकचोटि खुसी मनाउने पर्वका रूपमा र वर्षभरि फेरि छुट्टिएर आफ्नो खेतीपातीमा लाग्ने सङ्कल्पका रूपमा । यस्तो चाड पर्वलाई ब्राह्मण जातिले उसका पुराण कथाले जोडेर र बिटुल्याएर आफ्ना निजी बनाए । जब कि ब्राह्मण जाति आफैँ खेती गर्दैनथे । हलो जोत्दैनथे । अरूले जोतेको बाली र अन्न खाएर मोज गर्थे, भोज लगाउँथे । त्यसैले यो पर्व ब्राह्मणको होइन, जसले कृषिकर्म गरेनन् । यो त कृषिकर्म गर्नेको मात्र चाड हो । तर ब्राह्मण बाठा हुनाले यसमा पनि एकाधिकार जमाए । आफू माथि उठ्ने यसलाई पनि भ¥याङ बनाए । अरूले उनीहरूको यो बठ्याइँ नै बुझेनन् र त्यसैमा रल्लिए । अहिले धेरैपछि चेतना बढ्यो । तर त्यो बढी रिसले ग्रस्त भएर आयो र त्यसले वस्तुको सही पहिचान लिन सकेन । वास्तवमा दसैँतिहारबाट सारा हिन्दु ग्रन्थको पुराणकथा झिकेर यसलाई पन्छाएर हेर्ने हो भने दसैँ कुनै ब्राह्मणबाहेक अरूले मान्न नहुने चाड हुँदै होइन । बरु ब्राह्मणले यसलाई आफ्नो पुर्खाले मानिल्याएको चाड नमाने हुन्छ । तिहारमा बलिराजाको कथा गाँसिएको छ, यमराजको कथा गाँसिएको छ । यसलाई झिक्ने हो भने तिहार पनि बाली पर्व हो, किसान चाड हो र चेली माइतीको मिलन पर्व हो । गाई, कुकुर, गोरु, काग सबै खेतबारी र खेतीकिसानमा सामेल जनावर(पक्षी हुन् । उनीहरूको उचित सम्मान हो । काग भनेको कीरा खाने र खेतखलिआनमा करा टिपेर, बाली जोगाउने चरा हो । साथै सिनो खाने गिद्ध, चिल बोलाउने चरो हो । हुलाकी हो । सन्देशवाहक हो । त्यसैले कागलाई पनि खेतीकिसानी गर्नेले मान्छन् । अरू गाई, गोरु र कुकुरको त चर्चा गर्नु व्यर्थ छ । त्यसलाई सबैले त्यसै बुझ्ने कुरो हो ।
यसरी हामीले यस्तो गहन अर्थ बोकेको बाली पर्व, मिलन चाड, प्रेम सम्मेलन, सम्मान प्रदर्शन विचार विनिमय, सूचना साट्ने समयलाई ब्राह्मण जातिको कारणले सम्पूर्ण रूपमा त्याग्नु कहाँसम्म उचित छ ? सोचनीय विषय हो । सेक्सपियरका ओथेलो नाटकमा इयागोका आरिसे डाहा गर्ने बानीले गर्दा ओथेलो इयागोको जालमा पर्छ र आफ्नी प्यारी श्रीमतीको चरित्रमा शङ्का गर्छ र उत्तेजनावश मार्न पुग्छ । तर मारिसकेपछि अरू कसैको प्रयत्नले आफ्नो गल्ती बुझ्छ र पापको पश्चात्ताप गर्छ र मर्छ । इयागोको जाल र प्रपञ्चले आफ्नो मायालु गुमाउने ओथेलोजस्तो ब्राह्मणको बठ्याइँपूर्ण व्याख्याले चिढिएर दसैँतिहारको असल महत्वलाई बिर्सनु र त्याग्नु कहीँ हामी पनि त्यस्तै ओथेलो हुने त होइनौँ ? अनिवार्य नभए पनि यो पर्व आवश्यक छ, चलाउनुपर्छ, चल्नुपर्छ । तर अन्धविश्वासका आहालबाट यसलाई मुक्त गर्नुपर्छ र यसको सही स्वरूपमा यसलाई ग्रहण गर्नुपर्छ ।
असोज २४, २०५६ बाट साभार
यो लेख पहिले जति सान्दर्भिक थियो, अहिले पनि त्यतिकै सान्दर्भिक ठान्दै साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार