ऋणको भार थप्दै भित्रियो दशैं

द्वारा प्रकाशित गरिएको हो |
October 12th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । सदाझै यस पटक पनि हिन्दु मात्रको महान् पर्व वडा दशै नेपालीहरुको घर दलानमा दुःख र सुख बोकेर भित्रिएको छ । अभाव र महँगीद्वारा ग्रसीत हाम्रो जस्तो गरिबी समाजमा यो पर्वको आगमनले गर्दा जनजीवन पिरोलिएको छ, अस्तव्यस्त भएको छ । दैनिक उपभोग्य वस्तुदेखि लिएर यातायातका भाडामा समेत वृद्धि हुनको कारण जनजीवन यसरी पिरोलिएको हो । आज मुलुकव्यापी रुपमा खड्किएका जनताहरुको न्यूनतम आवश्यकताहरु दैनिक उपभोग्य वस्तुहरु तेल, चामल, नुन र तरकारी आदि जस्तो वस्तुहरुको मूल्य नियन्त्रण हुन नसकेको, जिल्ला जिल्लामा खाद्यान्न पुर्ति गर्न नसकेको यस अवस्थामा यो पर्वले माथि भनेझै जनजीवन साच्चै नै अस्तव्यस्त बनाएको छ । तर पनि नेपाली हिन्दुहरुले आफ्नो परम्परालाई कायम गर्न यस पर्वलाई मनाउन बाध्य हुन परेको छ । यस पर्वलाई उनीहरु(हिन्दु)ले विजयको प्रतिक मानेका छन् भने नेपालका आदिवासी समुदाय(किराती)हरुले यस पर्वलाई पराजयको प्रतिक मानेका छन् । जुन पक्षले जे मानेता पनि यस पटकको दशै पनि पहिले जस्तो धनीहरुमा खुशियाली र गरिबहरुमा निराशा बोकेर आएको छ । अर्थात गरिबहरुको निमित्त ऋणको भार थपि दिन आएको छ ।
कुनै पनि विषय बस्तुको अर्थ र परिभाषाको बोध हुनु नितान्त आवश्यक पर्दछ । यसै प्रशंगलाई लिएर यो विजया दशमीको आफ्नै अर्थ र आफ्नै परिभाषा बोकेको छ । खास गरी विजया दशमीलाई आदिवासी मूलजातिहरुले यो पर्वलाई आफ्नो सत्ता हातबाट खुस्किएको छ । आफ्नो पराजयको प्रतिक ठान्दछन् भने आदिवासी समुदाय बाहेकका वर्गहरुले यस पर्वलाई आफ्नो जीत अर्थात विजयी भएको प्रतिकको रुपमा हेर्दछन् र विजयको खुशियाली धुमधामसँग मनाउँदछन् । यही परम्परालाई कायम राख्ने प्रण पनि गर्दछन् । जे होस् जुनसुकै पक्षले भए पनि आआफ्नो पर्व मान्न पाउनुपर्छ । आफ्नो संस्कार संस्कृति र धर्मको जगेर्ना गर्न पाउनुपर्ने वातावरणको सिर्जना राज्यले गर्नुपर्दछ । राज्यले कुनै पनि समुदायले मान्ने पर्व नै किन नहोस् ती पर्वहरुलाई समान व्यवहार गर्नुपर्दछ । जसरी हिन्दुमात्रले मान्ने विजया दशमीलाई राष्ट्रियस्तरबाट मान्यता प्राप्त छ त्यसैगरी अन्य धर्मावलम्वी र जातजातिले मान्ने ल्होसार, चण्डी जस्ता चाडपर्वहरुलाई पनि सरकारीस्तरबाट मान्यता उपलब्ध गराउनु पर्दछ । चाडवाड र धार्मिक विवादमा मुलुकलाई नफसाई सबै जातीय समुदाय र धर्मावलम्वीहरुले मान्ने पर्वलाई पनि मान्यता दिई राष्ट्रिय उत्थानको निमित्त सबैलाई समेट्नु पर्दछ । खासगरी समाजको कुरीतिहरु भ्रष्टाचार जस्ता जनविरोधी क्रियाकलापहरुलाई राज्यले निस्तेज पार्न सक्नुपर्दछ । तर यस्तो लाग्छ राजतन्त्रको अन्तपछि पनि गणतान्त्रिक व्यवस्थाको उदय भए यता गणतान्त्रिक व्यवस्थाको उपलब्धी भनेकै महँगी र भ्रष्टाचार नै देखिएको छ । यही महँगाईको कारण मुलुकमा अनेकौ विकृति, विसंगतीहरुले जडा गाडेको छ । हत्या, बलात्कार, व्यभिचारले शिखर चुमेको छ । देशमा अमन चयन कायम गर्ने हो भने राज्यमा शान्ति सुव्यवस्थाको उचित व्यवस्था गर्दै भ्रष्टाचारको नियन्त्रणमा ध्यान पुर्याउनुपर्दछ । अनि मात्र मुलुकमा जनताले महँगीको मारबाट पार पाउने छन् । तर गणतन्त्र आएयता प्रतिगामी तत्वहरुले देश र जनतालाई हरिकंगाल नै पारेका छन्, जनताले न्याय माग्ने र पाउने ठाउँ छैन । गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा ७५ प्रतिशत जनताको पहुँच बाहिर रहेको छ भने अत्यधिक जनताहरु महँगीको मारमा परेका छन् । भ्रष्टाचारीहरु कमाउने खानेर, लुट मचाउने, मोजमजा, ऐसआराम, विलासी जीवन निर्वाहको लागि क्रियाशील छन् । लोकतान्त्रिक व्यवस्थाको विशेषता महँगी भ्रष्टाचार र अनैतिकताको दलदलमा फसेको छ । बेरोजगारी, खाद्य मिसावट, दुषित खाद्य वस्तु उत्पादन, महँगो तर गुणस्तरहिन वस्तुहरुको प्रवद्र्धनमा वर्तमान व्यवस्था स्वर्णिम कालनै सिद्ध भएको छ । निचोडमा वर्तमान उपहार भ्रष्टाचार महँगी अभाव र शोषण बनेको छ । जसले गर्दा दशै गरिबहरुको निमित्त दशा बनेर टुप्लुक्क आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार