मैले किन माओवादी छाडे?

द्वारा प्रकाशित गरिएको हो |
October 5th, 2021
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

–भूमि साम्पाङ
आठौं कक्षाको विद्यालय शिक्षा हासिल गरिरहँदा नै विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रभावमा परेर राजनीतिको कखरा शुरु
भयो । प्रारम्भ नै क्रान्तिकारी र तात्कालीन ब्यवस्था विरोधी चेतका साथ भएकाले राजनीतिमा बिद्रोही भावनाको बिजारोपण हुनु स्वाभाविकै थियो । मलाई सबैभन्दा बढी प्रभाव पारेको “सिम्मा गीति नाटक”ले हो । हामी त्यसका गीतहरू कण्ठस्थ पारेर गाउँथ्यौं । तर क्रान्ति त्यही विद्यार्थी सङ्गठनले गर्छ भन्ने पो परेको रहेछ । धेरै पछि दशौं कक्षामा पुगेरमात्र कम्युनिष्ट पार्टीको नाम सुन्न पाइयो । त्यतिखेर माध्यमिक विद्यालय स्तरमा पनि स्ववियूको चुनाव हुने भएकाले हामीलाई राजनीति दह्रै लाग्ने गर्दथ्यो । विद्यालय र क्याम्पसमा गरी दुईपटक त चुनावै जित्ने मौका मिल्यो मलाई । क्याम्पस अध्ययनकै क्रममा अखिलको जिल्लाको नेतृत्व र केन्द्रको प्रतिनिधित्व गर्ने अवसर पनि प्राप्त भयो । मैंले केन्द्रीय कमिटि छाड्दा क.बिप्लवहरू आइपुगेका थिए ।
४६ सालको जनआन्दोलन पछिको खुला परिस्थितिमा मात्र पार्टीको समीपमा पुगियो । त्यतिखेर भोजपुर जिल्लामा दुईजनामात्र नेकपा मशालको पार्टी सदस्य रहेछन्, केशर प्रधान र पदम तामाङ । उहाँहरूले नै म, सावित्री काफ्ले र राजनविक्रमलाई पार्टी सदस्य
बनाउनुभयो । ने क पा एकता केन्द्र बनेपछि म त्यसको जिल्ला पार्टी सेक्रेटरी बन्न
पुगे । त्यसबेला अध्यक्षको पनि व्यवस्था भएकाले एकबहादुर राई अध्यक्ष रहनु
भयो । पार्टीको वैधानिक मोर्चा संयुक्त जनमोर्चा, नेपालको जिल्ला संयोजकको पनि जिम्मेवारी बहन गर्दै स्थानीय निर्बाचनमा पनि होमिएर गा वि स अध्यक्ष निर्बाचित भएपछि भने पार्टी बिभाजन पश्चात पुनर्गठनका क्रममा सेक्रेटरीको जिम्मा सावित्री काफ्लेलाई सुम्पिएँ । यहीक्रममा जनयुद्धको थालनी गर्न दबाब सृजनाका लागि जिल्ला कमिटिको तर्फबाट महत्वपूर्ण दस्तावेज केन्द्रमा पठाएका
थियौं । सायद देशैभरिबाट आएका यस्तै दबाबकै कारण २०५२ साल फाल्गुन १ गतेबाट जनयुद्धको घोषणा भयो र सम्पूर्ण पार्टी पङ्तिसँगै जनयुद्धमा होमियौं ।
हामी कम्युनिष्ट पार्टीमा लाग्दा इतिहासमा बारम्बार धोका भएकाले सबभन्दा बढी सचेत थियौं । यति हुँदाहुँदै पनि नेतृत्वप्रति सबैभन्दा बिश्वस्त हामी नै
थियौं । त्यसैले सबथोक त्यागेर मृत्युु या मुक्तिको मार्गमा हिंडेका थियौं । फेरि अर्को सचेतना रहेको र गराइएको बिषय थियो जातीय मुद्दा । छ्यालीस सालपछिको एउटा उपलब्धी यो पनि थियो । वर्गीय र जातीय दुबै समस्याको हल कम्युनिष्ट आन्दोलन भित्रैबाट हुन्छ र हुनुपर्छ भन्नेमा हामी दृढ थियौं । पार्टी एकताका बेला निर्मल लामा र रूपलाल बिश्वकर्माजस्ता शिर्षस्त नेता पाएर गौरव पनि लाग्थ्यो । पार्टी फुटपछि पनि क. बादलमा मन अडिएको थियो भने क. प्रचण्ड र डा. बाबुराममाथि भरोसा । प्रचण्ड, किरण, बाबुरामहरू संयोगले मात्र बाहुनको कोखबाट जन्मिएमा हुन् भन्ने आत्मविश्वास थियो हामीमा । तर लामै समयसम्म पनि जातीय नीति स्पष्ट नआएपछि प्रश्न खडा गरौं । यही दबाबपछि बाबुराम भट्टराईद्वारा प्रस्तुत “नेपालमा जातीय नीतिसम्बन्धी प्रस्ताव”मा “जातीय स्वशासन नै हाम्रो सन्दर्भमा आत्मनिर्णयको सर्बोत्तम अभिब्यक्ति हो” भन्ने थियो । यसमा म सहमत हुन सकिन । स्वशासन चिनको फोटोकपि थियो, त्यसमा लेनिनको आत्मनिर्णयको अधिकारलाई जोडेर हिजडा नीति बनाइएको थियो । मैंले स्पष्ट साथ भनें नेपालमा सङ्घीय शासन ब्यबस्था र छुट्टिन पाउने अधिकार हुनुपर्छ । त्यसैलाई लेनिनले आत्मनिर्णयको अधिकार भन्नुभएको छ । यसो भन्दा सुरेश आलेमगर नै जिल खानुभो । उहाँहरू देव गुरुङसहित त्यही स्वशासनको रटान गर्नुहुन्थ्यो । क. बादलको कुनै दृष्टिकोण नै थिएन बरु शान्तिप्रकृयापछि हामीमाथि इङ्कित गर्दै “पूर्वीपहाडमा जातिवादी गन्ध छ” भन्ने उद्घोष भएको थियो हाम्रा पृय बादल कमरेडबाट, हाम्रा आस्थाका धरोहरबाट ।
जनयुद्ध तेस्रो वर्षमा पाइला हाल्दै गर्दा म मोरङ– सुनसरी, सावित्री झापा र राजनबिक्रम भोजपुरको नेतृत्वमा थियौं । म केन्द्रीय जनपरिषदको सदस्य पनि
थिएँ । बाबुराम भट्टराईको नेतृत्वमा रहेको यो जनपरिषदलाई भाबि सत्ताको रूपमा व्याख्या गरिएको थियो । त्यहीबेला हामीले खम्बुवान, लिम्बुवान, मगरात आदिको अवधारणा विकास गरेका थियौं । सोहीअनुरूप लिम्बुवानबाट भक्तराज कन्दङ्वा, खम्बुवानबाट म अर्थात हेन्कुबुङ खम्बू, नेवाबाट रबिन्द्र श्रेष्ठ, तमुवानबाट इन्द्रध्वज गुरुङ, मधेशबाट अजबलाल यादव (जो गठन भएको भारत कानपुरको मिटिङबाट फर्कनेक्रमै पक्राउ परेर बेपत्ता हुनुभो, सिन्धुलीका चित्रनारायण श्रेष्ठ पनि । हामी तीनै जना सिरहासम्म सँगै आएका थियौ छुटेपछि उहाँहरू मारिनु भएछ ममात्रै संयोगले बाँचें । बाटामा ठट्टैठट्टामा मैले सीएनसँग भनेको थिएँ दाइ, मन्त्री भइयो हैन ? उहाँले भन्नुभयो खै मन्तरी हो कि मुन्तिर भइने हो । कहिलेको गाली कहिलेको बोली) एबम् रीतले पश्चिमतिरका साथीहरू हुनुन्थ्यो । पार्टीले सङ्घीयतालाई स्वीकारी नसकेको भएतापनि सोहीअनुसारको ढाँचा भने बन्दैथियो ।
बादल प्रकरणपछि पोखरामा पार्टीको वैधानिक सङ्गठन अखिल नपाल जनजाति सङ्घको राष्ट्रिय भेला आयोजना गरियो । म त्यसको पनि केन्द्रीय सदस्य थिएँ । म पूर्वका सबै जिल्लाबाट प्रतिनिधि लिएर पोखरा पुग्दा अध्यक्ष सुरेश आलेले आश्चर्य ब्यक्त गर्नुभयो । तपाईं यहाँ कसरी ? यो प्रश्नले म अर्को असमञ्जसमा परे । अर्का केन्द्रीय सदस्य लोकबहादुर थापासँग सबै सल्लाह गरी जिम्मेवारी पूरा गर्दै त्यहाँ गएको थिएँ । आलेजीले भन्नुभयो तपाईं यहाँ नबस्ने भित्रबाट निर्देशन छ । मैंले भनें – त्यसो हो भने म फर्कन्छु । तर महासचिव कुमार योञ्जनले भन्नुभयो तिनीहरूले भनेरमात्र हुँदैन, उहाँ जानुहुन्न र अब बन्ने कमिटिको टप फाइभमै
बस्नुहुन्छ । आलेजीले भन्नुभयो – त्यसो हैन बैठकमा बसौं तर कमिटिमा नरहने । यही सहमति अनुरूप भेला सकेर फर्कनासाथ पार्टी नेता क. कमलले अर्को आश्चर्य ब्यक्तगर्दै भने कि –आलेजीले यो के
गर्नुभयो ? तपाईं त नेतृत्वमा रहने भनेको हो । अब तपाईंले मलाई नकारात्मक सोच्नुहोला । मैंले भने तपाईंहरूको के नाटक हो म बुझ्दिन । पछि माथिल्लो कमिटीका अर्का कमरेडसँग बुझ्दा आलेजीलाई त्यस्तो निर्देशन भएकैरहेछ । पछि क. कमलले नाटक देखाएकै
रहेछन् । ममाथि कारबाहीको थालनी हुँदै रहेछ । यो बुझेपछि तुरुन्तै दिल्लीमा बैठक बोलाइएको थियो तर म गइन । आलेजीले त हामीमाथि सिआइडी खटाइएको छ भन्थे पहिले नै । चाँडै नै अ ने ज सं नै बिघटन गरी आलेजीहरूलाई पनि भूमिगत जाने फर्मान जारी गरे । बाहिर बसेर धेरैको सम्पर्कमा रहेपछि धेरैखाले बिचार आउने र बहस हुनेरहेछ । यो नेतृत्वको टाउको दुखाइको बिषय बन्नेरहेछ । त्यसैले सबैलाई भित्र लगेर जोत्ने नीति बनेछ । म त पहिलेदेखि नै भूमिगत भएपनि अलिक खुल्ला गतिविधि गरिरहेको थिएँ । यो नेतृत्वलाई पचेको रहेनछ । बादलको मुद्धामा अडान लिएपछि त असह्य हुने नै भयो । मलाई पनि आँखाको कसिङगार बनिरहने चाहना नभएर नै सम्पर्कमा नजाने निर्णय गरें ।
ठीक त्यसै बेला म गम्भीरढङ्गले बिरामी परें । यसअवधिमा ब्यक्तिगत तवरले धरानका क. पर्वत कोइराला (जो पछि इटहरीका क. ओम ढकालसँगै शहीद भए भनौं नक्कली मुडभेडमा सेनाले पक्रेर हत्या ग¥यो) बाहेक कोही पनि पार्टीका कमरेडहरूले भेट्ने कष्ट गरेनन् । म अलिक तङ्ग्रिएपछि झापाका कमरेड चतुरमान राजबंसी पूर्वी कमाण्ड इञ्चार्ज क. प्रबेश सीपी गजुरेलको सन्देश लिएर आए । उनीसँग जातीय नीति, बादलप्रकरण त्यसपछि ममाथि गरिएको ब्यवहारबारे लामो छलफल भयो । उनीसँग अन्तरङ्ग कुरा पनि भए । पार्टीको सम्पर्कमा नजाने निर्णय सुनाउँदै उनी मेरो पुराना मित्र पनि भएकाले अलि बढी खुलेर भनें “अब यी उच्चजातीय नेतृत्वमा रहन सकिन्न होला ।” तर मित्रले सबै पार्टीमा पु–याएछन् । यो मेरो भनाइलाई लिएर पोलटब्यूरोमा हङ्गामा भएछ । यो कुरा पछि एउटा भेटमा सुरेश ओलेले सुनाउनु
भयो । उहाँसँगको भेटमा मैंले प्रस्तव गरें “क. बादलले खुट्टा टेकेनन् तपाईं आँट गर्नोस्, हाम्रो अलिक हाइट पुग्दैन, हामी पछाडि छौं, बिद्रोह गरौं ।” यो सुनिसकेपछि आलेले भन्नुभयो– यी ब्राह्मणहरूको नसा नसामा ब्राह्मणवादी रगत बगेको छ तर, नेतृत्वबाट मेरो अझै आश मरिसकेको
छैन । त्यसैले हामी तपाईंहरूको जस्तो टुङ्गोमा पुगिसकेका छैनौं । यो उहाँको अभिब्यक्तिले मलाई अलिक एग्रेसिप बनाएछ र भनिदिएँ दाइ ! यो देशका शासकले सबभन्दा पहिले मगरलाई दास बनाएको रहेछ, त्यो दास मानसिकता तपाईंमा अझै बाँकी रहेछ । उहाँले भन्नुभयो त्यो होला….। यसपछि आलेजीसँग आजसम्म भेट भएको छैन ।
केही समयपछि खासगरी भोजपुरका कामरेडहरू सम्मलित एउटा सानो भेला गरियो । त्यसमा कतिले पार्टीबाट बिद्रोह गरेर बस्ने, कसैले जस्तो भएपनि पार्टी नै बनाउने बिचार राखे तर, बहुसङ्ख्यकबाट पार्टीभित्रै अन्तर्सङ्घर्ष गर्दै अघिबढ्ने बिचार आएकाले त्यही टुङ्गोमा पुगेर पार्टीको काममा लाग्ने निर्णय भयो । तर हाम्रो त्यो निर्णय लिग भएछ । त्यसैले यो टीमलाई छिन्नभिन्न पार्ने उद्देश्यले धेरैलाई सुनसरी, केहीलाई मात्र भोजपुर, राजनबिक्रमलाई सिन्धुली र पदमलाई ताप्लेजुङ खटाईएको खवर लिएर राजनबिक्रम आइपुगे । तर मलाई कुनै जिम्मेवारी थिएन । म त फिल्डमा जाँदैछु तपाईंलाई पनि आउँछ होला सबै लागौं भने राजनले । मैंले भनें ठीकै छ तर मलाई एकिन भैसकेको थियो कि म कारबाहीमा परिसकें । केही दिनमा नै फेरि राजन आएर भने कि मलाई त काबाही स्वरूप सिन्धुली पठाइएको रहेछ, त्यहीँ सिध्याउने वा सिद्धियोस् भनेर । मैंले जिज्ञासा राखें, यो कसरी थाहा भयो ? गोपाल खम्बूबाट आएको हो । प्रचण्डसँग भेटका लागि दिल्ली जाँदा यात्राको क्रममा कमलले लिग गरेको रहेछ । यो राजनबिक्रमको बनावटी कुरा थियो वा गोपालको काइते रणनीति वा कमलले झुटको खेती गरेका या यथार्थ वकलेका थिए, आजसम्म रहस्यकै गर्भमा छ । ती सबै कमरेडहरू आ–आफ्ना क्षेत्रमा माहिरै हुन् । त्यतिबेला गोपालजी माओवादी बन्न खुट्टा उचाल्दै नेताहरूसँगको भेट बाक्लो बनाउदै थिए । किनभने हामी बाहिरिदैछौं वा लखेटिदैछ भन्ने भित्रैबाट सुइको पाइसकेका थिए उनले । हाम्रो भेलाको बारेमा चाहिं पदमबाट पार्टीमा पुगेको आशङ्का छ किनभने हाम्रो बहिर्गमनपछि तुरुन्तै भोजपुरमै उनलाई स्थापित गरियो र हामीसँग कहिल्यै भेट गर्न चाहेनन् उनले । कित्ता छुट्टियो । हामी भने पार्टीबाट अलग भयौं । यहीबेला साथीहरूले सम्पर्क गर्ने भन्दाभन्दै एकदुइ दिन ढिलो हुँदा खोटाङमा ठूल्कुमार श्रेष्ठ मारिनु भो बचाउन सकिएन । यसपछि मेरो पनि जेलयात्रा शुरुभयो । नीतिगत असहमति बादलप्रकरणका बारेमा क. बादल र गोपालको उत्थान र पतन लेख्नेक्रममा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार