महँगीसँगै आयो दशै गाउँघरमा

द्वारा प्रकाशित गरिएको हो |
October 5th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । मुलुकको सबैभन्दा ठूलो चाड, दशै, तिहार र छठको आगमन सँगसँगै गठबन्धन सरकारले गरी खाने सर्वसाधारण नागरिकको थाप्लोमा मूल्य वृद्धिको भार थपिदिएको छ । रोजगारीको सुनिश्चितता नभएकाहरुका लागि त झनै यो मूल्य वृद्धिको भार थेग्दै नसन्े बोझ भएको छ । पेट्रोलियम पदार्थ देखि लिएर दैनिक उपभोग्य सामाग्रीहरुमा मूल्य वृद्धि सहनै नसक्ने गरी मूल्य वृद्धि भएको छ । महँगा मूल्य तिर्दा पनि सहज रुपमा अत्यावश्यक सामाग्रीहरु उपभोक्ताहरुले पाउन सक्ने अवस्था छैन । कालो बजारीयाको बिगबिगी बढ्दो छ । यस्तो चरम मूल्य वृद्धि र बेथितिको बारेमा राजनीतिक दलहरु भने बेखबर छन् ।
कोरोना महामारीको कारण उद्योग धन्दा, कलकारखानाहरु राम्रोसँग चल्न सकेका छैनन् । रोजगारीका नयाँ अवसरहरु केही छैन । यावत समस्याहरुको समाधान खोज्नुपर्नेमा राजनीतिक दलहरु सत्ता लुछाचुडीमै व्यस्त छन् । यस्तो राजनीतिक परिणामको संकीर्णताले देश कहाँ पुग्ला यसै भन्न सकिने अवस्था छैन । अरु कुरा छाडौं अहिले कृषि प्रधान देश नेपालले भोग्नुपरेको ठूलो समस्या भनेको दशैको मुखमा हरिया तरकारीकै समस्या हो । मुलुकको अधिकांश उद्योगी, व्यापारी घरानाहरुले अरबौ राजश्व घोटाला गरे पनि त्यस्ताहरुलाई कार्वाही गर्न राज्य निरिह देखिन्छ । अधिकांश व्यापारी घरानाले नक्कली भ्याटबिलबाट राज्यलाई अरबौं रुपैयाँ नोक्सान पु¥याई रहेको देख्दा पनि राज्य यसरी निरिह देखिनु बिडम्बनाकै विषय बनेको छ । नाम मात्रको कार्वाही गरे जस्तो देखाउने काम बाहेक सरकारले अरु केही गर्न सकेको छैन । १० अर्ब भ्रष्टाचार गरेको भनि अख्तियारद्वारा सप्रमाण विशेष अदालत बुझाइएका राजश्व मारा चुडामणि शर्मा अपत्यारिलो ढंगले मात्र ५० लाख धलौटमा छुटाएको यसको पछिल्लो उदाहरण हो । कर फछ्र्याैट आयोगका पूर्व सदस्य सचिव समेत रहेको चुडामणि शर्मा हालै ५० लाख धलौट राखी छुटेका छन् । भ्रष्टहरुको रवैया यस्तो छ भने जनताहरुलाई भने महँगाई अभाव भन्ने कुरा दाल, भातझै सामान्य भैसकेको छ । चुडामणि शर्माहरु जस्तालाई भ्रष्टाचारसँग खेल्ने बानी परेझै नेपाली जनतालाई महँगाईसँग खेल्ने बानी परिसकेको छ । नागरिकहरु राज्यबाट पाउनुपर्ने शान्ति सुरुक्षा, मौलिक अधिकारबाट विमुख छन् । देशमा दिनहँु जघन्य घटनाहरु घटिरहेका छन् । यहाँ जसले जे गरे पनि हुने अवस्था छ । राजनैतिक नेताहरुबाटै सरकार जग्गा हडप्ने यो मुलुकमा सर्वसाधारणहरुले पनि यस्तै विद्रोह नगर्ला भन्न सकिन्न । समयको क्रम सँगसँगै पहिलापहिलाका जघन्य अपराध, जनविरोधी क्रियाकलापहरु सबै ओझेलमा पर्दै गइरहेका छन् । राज्यमा हाली मुहाली गर्ने नेतृत्व तहबाट हुने अकर्मन्यताका कारण जनता राज्यविहिन अवस्थाबाट गुज्रिरहेका छन् । सत्ता सञ्चालकहरुबाट देश र जनताप्रतिको आफ्नो उत्तरदायित्व के हो भन्ने कुराको बोध नगर्दा आज देश र जनताले अनेकौ हण्डर खान परिरहेको छ । नेपालीको शिरमा झनै विदेशी ऋणको भार थामि नसक्नु भइसकेको समयमा महँगीको भारले शिखर चुमेको छ । विचौलियाहरु र कालाबजारीयाहरु दिन दुई गुणा र रात चौ गुणाले फड्को मार्दैछन् । बहुसंख्यक नेपालीहरु दशैको मुखमा ‘नाना, खाना र थाना’ विहिन छन् । बिहान, बेलुकी हातमुख जोड्न समस्याले ग्रस्त छन् ।
देशको यस्तो कहाली लाग्दो अवस्थामा राज्य बेखबर छ । कालाबजारीया र बिचौलियाहरुले कृत्रिम अभाव खडा गर्दै यसपटक पनि दशै तिहार छठमा कहाली लाग्दो अवस्था सिर्जना गरिरहेका छन् । अधिकांश खाद्य सामाग्री लगायत हरियो तरकारी, फलफूलहरुका मूल्यमा जथाभावी वृद्धि गरेर जनतालाई महँगीको मारमा पारीरहेका छन् । विविध समस्याको कारण जनजीवन नै तहसनहस भएको बेला उपभोक्ताको ढाड सेक्ने गरी मूल्य वृद्धि हुँदा समेत अनुगमन हुन सकेको छैन । खाद्यान्नको मूल्य वृद्धिको हवाला दिँदै विचौलियाहरुले आफुखुशी मूल्य बढाई रहेका छन् । सर्वसाधारणले यसलाई उपभोक्ता माराको संज्ञा दिएका छन् । हुन पनि दशै तिहार, छठ पर्व अघि ४० रुपैयाँमा बिक्रि वितरण भैरहेको गोलभेडा आजको मितिसम्ममा आईपुग्दा १५० सम्म आइपुगेको छ । त्यसैगरी बन्दगोभी, भण्टा, मोटरकोशा, सिमी, तितेकरेली, लौका, पर्वर, हरियो प्याज, लसुन, गाँजर, धनिया र सागलगायत तरकारीको भाउ छुनै नसक्ने अवस्थामा पुगेको छ । यसैले नेपाली जनताहरुले भन्ने गरेका छन् २०७८ सालको महान् दशै, तिहार, छठ महँगीको ढोल बजाउँदै नेपालीको घरघरमा छिरिसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार