
काठमाडौं । छसस । १ नं. प्रदेशमा सरकारी कामकाजी भाषामा मैथली र लिम्बु भाषा पर्नु स्वागतयोग्य कुरा हो भने देशको पूर्वी भेगका अधिकांश आदिवासी किरात राईहरुले बोल्ने २४ भन्दा बढी भाषाहरुमध्ये कुनै पनि भाषा नपर्नुले आदिवासी किरात राई भाषीहरुले खेद प्रकट जनाएका छन् ।
देशमा आदिवासी किरात राई भाषाहरुको संख्या २४ भन्दा बढी छ र अझै थपिने क्रम जारी छ । २०५८ को जनगणनाले किरात राई जातिहरुको भाषाहरु २२ रहेको देखाएको छ । यता २०४८ सालमा भएको किरातहरुको एक भेलाले २८ वटा राई भाषा भएको अनुसन्धान गरी सार्वजनिक गरेको थियो । तर भाषा संरक्षणको अभावका कारण २४ वटा मात्र भाषा रहेको देखियो । एक अध्ययनले देखाए अनुसार किरात राई भाषामा– आठ पहरिया, कुलुङ, थुलुङ, कोयु÷कोई, मेवाहाङ्, साम्पाङ, वाम्वुले, लोहरुङ, याम्फु, मुगाली, खालिङ, चाम्लिङ, छिलिङ, छिन्ताङ, जेरो÷जेरुङ, तिलुङ, दुङमालि, दुमि, नाछिरिङ, युमा, बान्तावा, बाहिङ, बुङ्लावा, बेल्हारे र नेवाहाङ आदि रहेका छन् ।
एक समाचार अनुसार किरात राई बान्तावा खिम इटहरीले १ नं. प्रदेशले सरकारी कामकाजी भाषामा राई भाषालाई नपार्नु अन्याय गरेको भनि दुःख प्रकट गरेको छ । बान्तावा खिमले इटहरीमा एक पत्रकार सम्मेलनको आयोजना गरेर विगतको जनगणनाको समयमा समेत भाषाको विषयमा जानकारी नहुने गणकहरुलाई पठाएर तथ्यांक संकलन गरी राई भाषीको संख्या घटाइएको तथा अहिले १ नं. प्रदेशको सरकारी कामकाजी भाषामा नसमेटी राई भाषीमाथि अन्याय गरेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ ।