भ्रष्टाचारमा सबै दल माहिर

द्वारा प्रकाशित गरिएको हो |
September 21st, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । ठूला राजनैतिक दलहरुका गैर जिम्मेवारी भूमिकाको कारण मुलुक आक्रान्त र संवेदनशील घडीबाट गुज्रिरहेको छ । भ्रष्टाचार, महँगी, फरियावाद, नातावाद, कृपावाद, हैकमवाद जस्ता अराजक गतिविधिको कारण नेपाली जनताले गणतन्त्रको अनुभूतिसम्म गर्न सकिरहेका छैनन् । जनआन्दोलन २०६२÷०६३ पछि राजनैतिक नेतृत्वमा रहेका नेताहरु संलग्न भ्रष्टचारहरुमा ‘तै चुप, मै चुप’को अवस्थामा छन् । तलदेखिमाथिसम्म भागशान्ति जय नेपालको नाममा भ्रष्टाचार र अनियमितता बढेको छ । ३० किलो सुन तस्करी, वाइडबडी प्रकरण, गोकर्णको २९७१ रोपनी जग्गा प्रकरण होस् की प्रधानमन्त्री निवाससँग जोडिएको ललिता निवास प्रकरण जस्तामा नै किन नहोस् राजनैतिक दलहरुको संलग्नतामा मुलुकमा कुन तहसम्मको भ्रष्टाचार हुँदो रहेछ भन्ने दृष्टान्त पाइएको छ । मन्त्रिपरिषदको निर्णयमा अख्तियारले मुद्दा चलाउन नपाउने व्यवस्थाको कारणले गर्दा राजनैतिक दलका शीर्ष नेताहरु यस्ता भ्रष्ट प्रकरणबाट जोगिदै आएका छन् । ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्न सकिने सीआईबीको निष्कर्ष हुँदाहुँदै उनीहरुलाई सरकारले कार्वाहीको दायरामा ल्याएन जसले गर्दा बालुवाटारस्थित ललिता निवास परिसरको हिनामिना प्रकरण जस्ता भ्रष्टचारमा शीर्ष नेताहरुलाई कार्वाही गर्न सरकार नै बाधक बनेको देखिन्छ । सत्ता गठबन्धनमै संलग्न दलका शीर्ष नेताहरुमाथि नै मुद्दा चलाउनुपर्ने सीआईबीको प्रतिवेदनलाई समेत सरकारले वेवास्ता गरेको छ । ‘मन्त्रिपरिषदको नीतिग निर्णयमा क्षेत्राधिकार नेपर्ने’ भन्दै पूर्व प्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई सरकारले नै जोगाए पछि अरु कसको के लाग्छ र ? अख्तियारले सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने निर्णय गर्ने यी दुई पूर्व प्रम विरुद्ध मुद्दा दर्ता नगर्नाले अख्तियारलाई ठूलै दबाब परेको हुनसक्छ । नेपाल सरकारको केन्द्रीय अनुसन्धान ब्यूरोले ललिता निवास जग्गा हिनामिनामा संलग्न मन्त्रालयदेखि मालपोत, भूमि सुधार, नापी, गुठी र समरजंग कम्पनीमा कार्यरत कर्मचारी, तत्कालिन भोगाधिकारी, जग्गा हत्याउन भूमिका निर्वाह गर्ने भूमाफिया र नक्कली मोही समेतलाई तत्कालिन मुलुकी ऐनको किर्ते महलको दफा एक र दुई तथा
त्यही ऐनको ठगी महलको एक र दुई अनुसार कार्वाही गर्न सिफारिस
गरिसकेको छ । यसरी सिआईबीले वर्षाै लगाएर गरेको अनुसन्धानलाई सरकारी रवैयाको कारण ललिता जग्गा प्रकरण जस्ता दर्जनौं भ्रष्टाचार प्रकरण ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार