
काठमाडौं । छसस । संविधानमा आआफ्नो धर्मप्रति आस्था राख्ने, मान्ने अधिकार सुरक्षित रहेको उल्लेख गरिएको छ । एक धर्म होइन बहुधर्म अर्थात धर्म निरपेक्ष राज्य घोषित पनि गरिएको छ । तर लिखितममा एउटा कुरा, व्यवहारमा विरोधावास कुरा रहन गएको छ । धर्मनिरपेक्ष मुलुकमा गाईलाई राष्ट्रिय जनावर बनाएर गाई, गोरुको मासु खान नपाउने र मार्न नपाउने पुरानै थिती अंगालिएको छ । जसले गर्दा अझै यहाँ कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखाको नीति राज्यले अख्तियार गर्दै आएको देखिन्छ । धर्म निरपेक्ष राज्य भनिएको छ तर गाई र गोरुको मासु खान बन्देज गरिएको छ । गाईको रक्षा नै हिन्दुत्वको रक्षा हो भन्ने हिन्दुमात्र होइनन् गाईको मासु खान पाउँनै पर्छ यो हाम्रो जन्मसिद्ध अधिकार हो भन्ने धर्मावलम्वीहरुको जमात पनि यहाँ ठूलो छ । यही जमातले गाई, गोरु काट्ने गर्दछन् र खाने पनि गर्छन् । तर गणतान्त्रिक सरकारले धर्मनिरपेक्षताको नाम जप्दै त्यसको प्रतिकार गर्छ । हालै पनि काठमाडौं उपत्यकाको शंखरापुर नपा–३, ढोक्शाङमा गोरुको मासु भाग लगाउँदै गरेका केही युवाहरु गणतान्त्रिक प्रहरीको फन्दामा परेका छन् । समाचार अनुसार काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकासँगै सिमा जोडिएको उक्त स्थानमा पाँच स्थानीयवासीलाई प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको कुरा काठमाडौं प्रहरी प्रवक्ताले पुष्टि गरेको छ ।
यसरी यहाँ हिन्दुधर्मलाई काखा र अन्य धर्मलाई पाखा गर्ने कार्य भइरहेकाले धर्म निरपेक्ष राज्यमा यस्तो असमान व्यवहार हुनु गणतन्त्रकै उपहास भएकोले यस्तो विरोधाभासपूर्ण अधुरो गणतान्त्रिक संविधानलाई सच्याई साच्चिकै गणतान्त्रिक संविधान निर्माणमा जुट्नु परेको आजको अवस्था हो ।