उही, पुरानै “हाउभाउ” नयाँ नेपालमा

द्वारा प्रकाशित गरिएको हो |
August 25th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । राणा र पञ्चायतको कुरै छोडौं वर्तमान कालमा समेत यहाँ कथित ठुला जातीय शासकहरुको हावी छ । यस अवधि भित्र जनराहत र विकासका सवालहरुमा समेत बिर्काे लागेको छ । अब देश र जनताको राहत र विकासको लागि भ्रष्टाचार उन्मुलन गर्ने र सुशासनको प्रत्याभुति दिने सक्षम, योग्य र इमान्दार व्यक्तिको देशलाई खाचो भएको छ । अहिले देशमा झांगिएको विकृति, विसंगति, भ्रष्टाचारको अन्त्य हुनुपर्ने जनभावना छ । त्यही भएर जनताको चाहनालाई प्रतिनिधित्व गर्ने कुशल, इमान्दार, कर्मठ नेतृत्वको खाँचो खड्किएको हो । नुनको सोझो गर्ने जाति भूमिपुत्र अब यो देशको प्रमको कुर्सीमा आशिन भएको देशबासीले हेर्न चाहेका छन् । मौजुदा राष्ट्रिय राजनीतिक दलहरु वैज्ञारिक रुपमा देश र जनताप्रति वफादार नभएकै कारण आज देश संकटमा परेको छ । नीति योजना विचार र कार्यक्रम सिद्धान्तमा गणतान्त्रिक व्यवस्थामा पनि पार्टी र त्यसका नेताहरु गम्भीर र जिम्मेवारी छैनन् । तसर्थ देशमा विकृति, विसंगति, व्यभिचार र भ्रष्टाचारले संस्थागत रुप लिएको हो । आज देश र जनताको अवस्थाको वास्तविक मूल्यांकन गर्ने दल र व्यक्तिको अभाव यहाँ खड्किएको छ । तसर्थ देशमा सक्षम, इमान्दार, व्यक्तित्व जसले हजारौं भ्रष्टहरुलाई जेलनेलको भागिदार बनाउन सकोस् त्यस्ता नैतिक बल भएका कार्यकारीणि प्रमुख देशलाई चाहिएको
हो ।
विडम्बना घोषित गणतान्त्रिक व्यवस्थामा मुलुकलाई नयाँ नेपाल घोषणा गरे पनि शासकहरुको हाउभाउ र देशको वस्तुस्थितिमा पुरानै नेपाल भन्दा एक् इन्च पनि दायाँबाँया भएको पटक्कै छैन । वर्तमान सरकार माओवादी केन्द्र र माधव नेपाललाई वैशाखी बनाएर मुलुकको प्रम बने पनि देशवासीको निमित्त भने ‘कागलाई बेल पाके सरह’ नै छ । पद, प्रतिष्ठा र लाभको बाँडफाँडमा पुरानै हाउभाउ
देखिन्छ । समानुपातिक प्रतिनिधित्व र समावेशीकरणको सवालमा सबै दलहरु ‘मुखमा रामराम, बगलीमा छुरो’ लाई चरितार्थ गरिरहेका छन् । देखावटी रुपमा आदिवासीहरु त्यसमा पनि आफ्ना झोले र बुखेचाहरुमध्ये दुई चार जनालाई कहिकतै नियुक्ति गरिहाले पनि सत्ता उपयोगगको अवसरमा भुमिपुत्रहरुलाई खासै महत्व दिइएको पाइन्न । अर्थात गणतन्त्रको अनुभुति नेपाली जनता, आदिवासी, भूमिपुत्र, मधेसी, सिमान्तकृत समुदायले पटक्कै पाउन सकेको छैन । पञ्चायति व्यवस्थाताका गाइएका जनताको गीत ‘कोइ त भने जहाजमा हरर, कोइत भने पसिना धरर, हाम्रै नेपालमा’ । अहिले पनि उतिकै सान्दर्भिक देखिन्छ, जतिको सान्दर्भिक पञ्चायति कालमा देखिन्थ्यो । अहिले पनि हाम्रो नेपालमा शोषक, सामन्ती वर्ग त्यतिकै हावी छन् जतिको हावी राणाकाल र पञ्चायतीकालमा थियो । एकातर्फ आफ्नै मुखमा भन्किने झिंगा धपाउन समेत नोकर चाहिने मुठिभर मानिस यही छन्, अर्काेतर्फ दिनरात हड्डी घोटेर पनि एकछाक खान नपाउने लाखौं जनता पनि यही छन् । रुघाखोकी लाग्दा उपचार गर्न विदेशी, खर्चिलो अस्पतालमा पुग्नेहरु नयाँ नेपालमानै छन् अनि आफ्नो बिमारी नानीहरुको निमित्त सय रुपैयाँको औषधी किन्न नसकेर छटपटाईरहेका निरिह आमाहरु पनि यही छन् । गणतान्त्रिक नेपालले लाखौं नेपाली जनताको पक्ष्ँमा राहत हुने खालको राजनीति गरेको भए यसप्रकारको असमानता अहिले निकै कम हुने थियो । आआफ्नो बल, बुद्धि, जाँगर र सीप जनताको भलाईको निमित्त अर्पण गर्दै गफ र उखान टुक्का मात्र नछाटेका र दिलोज्यान लगाएर भनेका कुरा व्यवहारमा परिणत गरेको भए देश र जनताको लागि साच्चि नै राजनीति गरेको भए पञ्चायती कालखण्डपछि वर्तमान लोकतान्त्रिक युगमा आकाश–पातालको फरक भइसक्ने
थियो । विदेशी दातृराष्ट्रहरुबाट नेपाली जनताका लागि विभिन्न शीर्षकमा आएको अनुदान यिनै लोकतान्त्रिक नेताहरुले भागबण्डा लगाइ नखाएको भए, औषधी उपचारको नाममा राष्ट्रिय ढुकुटी स्वाहा नगरेको भए गरिबीको रेखा निकै कम भइसक्ने थियो । पञ्चायती राजमा वनमारा घारीमा हुर्किएका नेताहरु र चुडिन लागेको चप्पलमा हिड्ने, काठमाडौंको चिसो छेडिमा डेरा गरी बस्ने व्यक्तिहरु भने अहिले डिनर र लन्च गर्ने भइसके तर स्वाभिमानी नेपाली जनताहरु भने अहिले पनि एक आङ ढाक्न र एक गाँस खान धौधौमा नै छन् । पञ्चायती व्यवस्थाको अन्त पछि पनि गणतान्त्रिक दलहरुको अहंकारी सोच र जेमन्तकै कारण मुलुक ‘लथालिंग देशको भताभुंगे चाला, जजसले पाउला उउसले खाउला’को अवस्थाबाट गुज्रिरहेको छ । यही कारण मधेसी, आदिवासी, सिमान्तकृत जनसमुदायले गणतन्त्रको प्रत्याभुति दिने खालको संविधान चाहेका हुन् । यसतर्फ गम्भीर बनौं । नत्र दोस्रो जनयुद्धका विगुल नबज्ला भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार