लोकतन्त्रलाई मागी खाने भाडो नबनाऔं ।

द्वारा प्रकाशित गरिएको हो |
August 2nd, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

सम्पादकीय

लोकतन्त्रको नाममा देशमा ब्रह्मलुट मच्चिएको छ । भागशान्ति, जय नेपालमा दलहरु तल्लीन छन् । न्यायलय समेतमा अंशबण्डा लाग्दो छ । दलका ठूला नेता र नातागोताहरुमा लोकतन्त्र आए पनि आम नेपाली भने गणतन्त्र कुन चरीको नाम हो ठम्याउन सकेका छैनन् । ०६२÷०६३ को जनआन्दोलन पश्चात नेपालमा लोकतन्त्रको स्थापना भएको घोषणा गरियो तर घोषित लोकतन्त्र स्थापित र संस्थागत भने अझै हुन सकेको छैन । इतिहास साक्षी छ देश दशकै अघिदेखि हजारों नेपालीहरुले लोकतन्त्रको चाहनामा बलिदानी बन्दै आएका छन् । रोजी रोटीको कुनै प्रवाह नै नगरी हजारौं हजार कर्मचारी देखि लिएर बुढाबुढी बालबालिकाहरुले लोकतन्त्र स्थापना गर्नमा आफ्नो, पराया कोही नठानी यसको उसको नेतृत्व नभनीकन वा मेरो काम बित्यो या मेरो समय खेर गयो नभनीकन लोकतन्त्र बहालीका लागि युद्धरत रहे । सबैको यसप्रकारको युगान्तकारी योगदान स्वरुप मुलुक लोकतन्त्र गणतन्त्रमय भयो । कतिपयले त यसमा तरसम्म मार्न पाए भने जनताहरु अझै लोकतन्त्रको अनुभूतिसम्म गर्न पाएका छैनन् । राष्ट्रवादी सचेत नेपालीहरु पत्रकार, बौद्धक समुदाय, नागरिक समाज कस्तो गणतन्त्र ल्याइएछ भनेर पुर्पुरोमा हात राख्न बाध्य भएका छन् । र लोकतन्त्रको नाममा जेमन्त गरिएकोमा दूर्भाग्य ठानेका छन् । ०६२ सालदेखि आजको दिनसम्ममा जनताले गणतन्त्र आएको अनुभूतिसम्म गर्न पाएका छैनन् । सत्तामा बस्नेहरु यस अवधिलाई आआफ्नो अनुकूल बनाए अथवा आफु खुशी लोकतन्त्रलाई अर्थाए पनि तर उनीहरुले जनता सन्तुष्ट हुनेखाले कुनै पनि काम आजको मितिसम्म गर्न सकेका छैनन् । दल र त्यसका नेताहरुको यस्ता सदाबहार गलत र अविवेकी क्रियाकलापका कारण राष्ट्र आज गम्भीर रुपमा चलिरहेको छ । राजनैतिक पार्टीहरु र यसका सञ्चालन गर्ने व्यक्तिहरुको मानसिकता सबै सत्ता हत्याउने प्रवृत्ति, संकीर्ण मनस्थिति, षड्यन्त्र, अप्राकृतिक गठबन्धन र गणितिय जोड घटाउ आदि इत्यादिको निहुँमा स्वार्थी खेलहरु खेल्न छाडेका छैनन् । यस्ता राजनीतिक अन्यौलता र जटिलताले देश कहाँली लाग्दो मोडमा पुगिसकेको छ । लोकतन्त्र माथि आँच पुग्न थालेको छ । यतिबेला यो मुलुक दिशाबिहिन चौबाटोमा उभिएको छ । यस्तो जोखिमपूर्ण अवस्था जनताले व्यहोर्नु परिरहेको छ । वर्तमान राजनीतिक अवस्थाले कस्तो दुर्घटना निम्त्याउने हो बुझ्न कठिन छ । हरपल, हररात विभिन्न देशीविदेशी शक्तिकेन्द्रहरुबाट मुलुकमा सुनुयोजित रुपमा षड्यन्त्रहरु हुन छाडेका छैनन् । विदेशी प्रभुहरुबाट आर्शिवाद प्राप्त जनघाति, देशघातिहरु उनीहरुकै निर्देशनमा छेपारोले रंग फेरेझै फेरीरहेका छन् । कठित ठूला दलका शीर्ष नेताहरुका ताण्डव नृत्य हेर्दा सडकमा नचाहिने बाँदरको नाँच जस्तो लाग्छ । जो आआफ्नो निहित स्वार्थ सिद्ध गर्न र मालिकको नूनको सोझो गर्नुमा मात्र तल्लिन देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार