भागबण्डाले देउवा र प्रचण्डलाई तनाव

द्वारा प्रकाशित गरिएको हो |
July 26th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । कोरोनाको दोस्रो लहर र बाढी पहिरोबाट मुलुक लथालिंगको अवस्थाबाट गुज्रिरहेको छ । कोरोना संक्रमण रोकथामको आवश्यक व्यवस्था छैन । हिजो गणतन्त्र प्राप्तिमा हार्षाेल्लासका साथ सरिक हुने तिनै जनता अहिले भोक र रोगले ग्रस्त छन् । तर आफुलाई गणतान्त्रिक भन्न रुचाउने राजनैतिक दलहरुलाई यसको कुनै मतलब छैन । देशमा गणतन्त्र कुन चरीको नाम हो थाहा छैन । यदि गणतन्त्र आएको भए, जनताको पीडा, राष्ट्रको पीडा हो भनि ठान्नु पथ्र्याे । तर यहाँ कुनै पनि दलहरुलाई जनताको पीडा महसुस गरेको पाइन्न । बरु जनताको यस्तो पीडामा दलहरु “कुकुर हड्डीमा झुण्डिएझै’ सत्ता छिनाझम्टि र भागबण्डामा लुछाचुडि गरिरहेका छन् जो सर्वविदितै छ ।
नेकपा एमालेका ओली समुहलाई पदच्युत गरि कांग्रेस सभापति देउवालाई कुर्सीमा आसिन गराइएको छ । तर अझै यत्रो दिन बितिसक्दा पनि भागबण्डा नमिलेकै कारण सरकारले पूर्णता पाउन सकेको छैन । गठबन्धन दलहरुबीच सरकारमा सहभागिता जनाउने विषयमा भागबण्डा मिल्न नसकेको कारण मन्त्रि परिषद् विस्तारमा विलम्ब हुन गएको हो । यद्यपी गठबन्धनमा आबद्ध नेताहरु सरकारले अब पूर्णता छिटै पाउने बताइराखेका छन् । १६५ सांसदको समर्थन सहित विश्वासको मत प्राप्त गरेका प्रम देउवाले गठबन्धन दलहरु सबैलाई समेटेर एकैचोटी मन्त्रिमण्डल विस्तार गर्ने विचार गरेका छन् । सत्ता गठजोडका एक घटक जसपाका उपेन्द्र यादवले भने भागबण्डा नमिलेकै कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको स्वीकार गरेका छन् । उनले अब भागबण्डाको विषय छिटै टुंगीने पनि बताएका छन् । उपेन्द्र यादव पक्षले सात मन्त्रि र एक राज्यमन्त्री गरी आठ जनाको सहभागिताको माग दाबि गरिरहेको बुझिएको छ । त्यसैगरी माओवादी ८, नेपाल समुहले ६ मन्त्रालयमा दाबी गरिरहेको छ । देउवाकै दल कांग्रेसले पनि पौडेल समुहले ४ वटा मन्त्रालयमा आफ्नो समुहको सहभागिता रहनुपर्ने दबाब देउवामाथि छ । निचोडमा देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नुमा फलामकै चिउरा चपाउनु सरह भएको छ । देउवालाई मात्र होइन माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पनि आफ्नो पार्टी भित्रका मन्त्रिका आकांक्षीहरुबाट दिक्क लागिसकेको कुरा स्वयं दाहालले नै सार्वजनिक गरिसकेका छन् । आफ्नो दलभित्रको लफडा बारे अध्यक्ष प्रचण्ड स्वयंले एक कार्यक्रममा भनेका छन्– ‘हाम्रा सांसद सबैलाई मन्त्रि चाहिएको छ । यस्तै दबाब मलाई छ । हामीले खुबै पाउने सात जनाको कोटा न हो, अब मैले ककस्लाई मन्त्रि बनाउने ? म मानसिक तनावमा छु । मलाई न रातमा निन्द्रा छ, न दिनमा भोक नै छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार