जाति भाषाको सम्बन्ध भूमिसँग

द्वारा प्रकाशित गरिएको हो |
July 19th, 2021
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

कुमार सोताङ राई
पूर्व नेपालको सोलुखुम्बु जिल्लाको सोताङ गाउँमा आदिमकालदेखि बसोबास गरिआएको राईहरू राताप्खु पुर्खाको सन्तान हुन् । राताप्खुका सन्तानको उद्गम थलो सोताङ गाउँ हो । सोताङ भूमिको नामकरण राताप्खुले गरेको हो । राताप्खु पुर्खाले सोताङ भूमिमाथि पाइला टेक्ने क्रममा सत्तो शब्द प्रयोग गरेका थिए । सत्तो शब्द कालान्तरमा अपभ्रंश भएर सोत्तो भयो । सोत्तो शब्दलाई नेपालीकरण गर्दा सोताङ भनिएको हो । सोताङ राई जातिको भाषामा अहिले पनि सोताङ शब्दलाई सोत्तो नै भन्ने गरिएको छ । सोताङ इलाकामा रहेको बन फाडेर मानव बसोबास र खेतीपाती गर्न योग्य भूमि बनाउने पहिले व्यक्ति राताप्खु थिए । उनले रा चालेइ (धानको बीउ) ल्याएर धानको खेती गर्ने सुरुवात गरेका थिए भन्ने श्रुति इतिहस पाइन्छ । सोताङ जातिले पुज्ने कुलदेवता र रीतिथिति राताप्खुले सिर्जना गरेका थिए । सोताङ जातिमा राताप्खु शीर्ष पुरुष थिए । सोताङमा विकास भएको राई जातिको संस्कार संस्कृतिलगायत सम्पूर्ण कुरा सोताङमा सृष्टि गरिएको मानिन्छ । तथापि सोताङवासी राईले आफ्नो परिचय सोताङ नभनेर नाछिरिङ भन्ने गर्दछन् । रावाखोलाबाट बसाइँ सरेर राताप्खु वर्तमान सोताङ गाउँ आएको मौखिक इतिहास रहेको छ । तर रीतिथिति सम्पन्न गर्दा बखान गरिने रिसिवामा रावाखोला भूमिलाई पुकार्ने गरिएको पाइँदैन । नागी र अन्य कुलदेवताको पुजाआजामा सोताङ क्षेत्रको भूभागमा पर्ने बिदेल्खु र सोबोलु बिचमा अवस्थित ठाउँहरू मात्र पुकार्ने गर्दछन् । यसको अर्थ संस्कार संस्कृतिमा बखान गरिने रिसिवाले सोताङ राईको कुलदेवता रावाखोलामा उत्पत्ति भएर रावाखोलाबाट मान्दै ल्याएको देखिदैन । सोताङ जातिले सोताङमा बसोबास गर्दा नाछिरिङ भन्ने गर्दछन् । सोताङ गाउँ छाडेर लाखा पाखा लागेपछि नाछिरिङको सट्टा सोताङ भन्ने गर्दछन् । यसरी उद्गम भूमि सोताङ भएको राई जातिले नाछिरिङ र सोताङ दुईटा शब्द प्रयोगमा ल्याउने गरेको पाइन्छ । सोताङ गाउँमा रीतिथिति गर्दा सोताङ र नाछिरिङ दुवै शब्द प्रयोग गर्ने गरिएको पाइँदैन । बरु सोताङ र नाछिरिङ शब्दको सट्टा पुरुषलाई नास्मी र स्त्रीलाई योक्मा भनेर रीतिथितिमा पुकार्ने गर्दछन् । नास्मी शब्दको प्रयोगले सोताङ राई जातिको सृष्टि पुर्खा नास्मी भएको पुष्टि गर्दछ । सोताङ र नाछिरिङ मध्ये कुन शब्दले वास्तविक पहिचान दर्शाउछ ? यस विषयमा सोताङ–सोताङबिच बहस गर्न आवश्यक रहेको देखिन्छ ।
सोताङ, पिल्मोङ, राखाली, पाराली, बाङदेल, दिम्माली आदि नाछिरिङको सन्तान भएको मानिन्छ । राई, लिम्बू, सुनुवार किरातको सन्तान हो । तर कोही आफ्नो पहिचान किरात लेख्न तयार भएको पाइँदैन । प्रायः भाषा र जातिको सम्बन्ध भूमिसँग जोडिने गर्दछ । जातिले बसोबास गरेको थातथलोको नामलाई आधार बनाएर भाषा र जातिको नामकरण गरिएको पाइन्छ । यसको उदाहरण केही शब्दहरू लिऔ– बङ्गाल थातथलो हुनेले बङ्गाली, ब्रिटेन थातथलो हुनेले ब्रिटिश, असाम थातथलो हुनेले असामी भन्छन् । भाषा पनि इङल्याण्डमा बोलिने इङग्लिश नेपालमा बोलिने नेपाली, बङ्गालमा बोलिने बङ्गाली हुन्छ । राखाली, पाराली, पिल्मोङ, सोताङ, दिम्माली, बाङदेल आदि नाछिरिङको सन्तान भएपनि युगौयुग अघि आपसमा छुट्टिएर बेग्ला बेग्लै ठाउँमा वंश विकास भएको समुदाय हो । फरक–फरक ठाउँमा बसोबास गरेर वंश विकास गर्ने क्रममा भाषा र संस्कृतिको संरचनामा भौगोलिक भिन्नता आएको हो । नाछिरिङको सन्तानहरू बिच भावनात्मक एकता रहेपनि उनीहरूको भाषा, संस्कृति र उद्गम थलो भिन्नाभिन्नै भएको कारण एकतामा अनेकता थपिन पुगेको हो । युगौँयुगसम्म आपसमा भाषिक र सांस्कृतिक सम्पर्क विच्छेद हुँदा नाछिरिङको सन्तानहरूको भाषा र संस्कृतिमा आएको भिन्नताले विविध रूप धारण गरेको छ । नाछिरिङ केवल सबै जातिको साझा पुर्खा अथवा आदिम पुर्खा मात्र मान्न सकिने अवस्था रहेको छ । नाछिरिङको सन्तानहरू विभिन्न स्थानमा विकास भएको हुनाले उनीहरूको उद्गम भूमि एवं विकास थलो नै जातिको रूपमा परिणत भईसकेको अवस्था छ । भाषा र संस्कृति फरक रहेको परिस्थितिमा नाछिरिङका सन्तानहरू नाछिरिङ शब्दको छातामुनि अटाउन सकिने अवस्था क्षीण रहेको छ भने वैज्ञानिक आधार पनि देखिएको छैन । भाषा र संस्कृतिमा रहेको एकरूपताले विविध समुदायलाई जोडेर एकताको गाँठोमा कसेर राख्ने गर्दछ । भाषा र संस्कृति नै भिन्न भएपछि जातीय एकताको पहल निरर्थक हुन्छ । मानव सभ्यताको सुरुवातमा दाजुभाइ छुटिएर बेग्ला बेग्लै स्थानमा बसोबास गर्न पुग्नु भाषा भिन्नताको कारक तत्व हो । फरक–फरक स्थानमा बसोबास गरेका दाजुभाइका सन्तानहरू फरक परिवेशमा हुर्किदै फैलिदै जाँदा भाषा र संस्कृतिको संचरना परिवर्तन भयो । भाषा र संस्कृति भिन्न भएकै कारण नाछिरिङको सन्तानहरू सोताङ, पिल्मोङ, राखाली, पाराली, बाङदेल, दिम्माली आदि समुदायमा विभाजन हुनु परेको हो । दिस्मीका सन्तानहरू माप्य, खप र योङलिहाङ भए । माप्यका सन्तान खालिङ भए । खपका सन्तान कुलुङ भए । योङलिहाङका सन्तानहरू थुलुङ र बाहिङ भए । दिस्मीको सन्तानहरू विभिन्न जातिमा विभाजित छन् । नाछिरिङका सन्तानहरूले युगौँयुगदेखि कायम गर्दै आएको जातीय एकतालाई जीवन्त राख्ने इच्छा हुँदाहुँदै पनि पृथक जाति र संस्कृतिमा विभाजन हुनुको विकल्प नरहेको
देखिन्छ । पुस्तौपुस्ता अघि आआफ्नो पुर्खाले सिर्जना गरेर एकपछि अर्को पुस्ताले मौखिक रूपमा जीवित राख्दै ल्याएको मौलिक भाषा र संस्कृतिको अस्तित्व गुमाएर कसैले आफ्नो जातिको ऐतिहासिक धरोहर मेटाउनु
हुँदैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार