सुरक्षाकर्मी कटौतीको स्वागत

द्वारा प्रकाशित गरिएको हो |
February 15th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । देश र जनताको सेवामा खटिनुपर्ने कर्मठ सुरक्षाकर्मीहरु पूर्व पदाधिकारीहरुको निमित्त तरकारी किन्ने देखि लिएर नानीहरुलाई स्कुल पुर्याउने र ल्याउने, कपडा धोइदिनेसम्मका क्रियाकलापहरु गर्दै आएकोमा ती सुरक्षाकर्मीहरु सरकारले कटौती गर्ने निर्णय गरेकोमा यस निर्णयको चौतर्फी स्वागत भएको छ ।
सरकारले पूर्व विशिष्ट व्यक्तिहरुको सुरक्षा मापदण्ड बनाई सुरक्षाकर्मी कटौती गरी फिर्ता बोलाउन लागेको छ । गृहमन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदले उक्त प्रस्तावसम्बन्धि कार्यविधि पारित गरिसकेको छ । सो कार्यविधि अनुसार अब पूर्वराष्ट्रपतिले २१ जना, पूर्वप्रधानमन्त्रीले १८ जना, पूर्वराजाले १६, पूर्व उपराष्ट्रपतिले ११ र पूर्वगृहमन्त्रीले २ जना सुरक्षाकर्मी पाउनेछन् । पूर्वप्रधानन्यायधीश र पूर्वप्रहरी महानिरिक्षकले भने २÷२ जना पाउनेछन् । पूर्व विशिष्ट व्यक्तिहरुलाई कति सुरक्षाकर्मी राख्नदिने भन्ने यकिन गरी बढी भएकोलाई फिर्ता बोलाइनेछ । सोही बमोजिम सम्बन्धित निकायमा निर्देशन पनि दिइसकेको छ । नयाँ कार्यविधि पारित भइसकेपछि नेपाल प्रहरीतर्फबाट पूर्व भीआइपीको सुरक्षामा खटिइदै आएका करिब १०० जना र सशस्त प्रहरी बल तर्फबाट ९१ जना सुरक्षाकर्मीहरु फिर्ता भइसकेका छन् । दुवै प्रहरी संगठनबाट गरी जम्मा ४०० को हाराहारीमा फिर्ता बोलाउने तयारी रहेको बुझिएको छ ।
अनावश्यक रुपमा हाल पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा ६० जना भन्दा बढी सुरक्षाकर्मी, र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा ३० जनाभन्दा बढी सुरक्षाकर्मी खटिदै आएका छन् । यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालर झलनाथ खनालको सुरक्षामा समेत ठूला संख्यामा कार्यविधिविपरीत सुरक्षाकर्मी राखिएको छ ।
यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले १ सय जना सुरक्षाकर्मी राख्दै आएका छन् । तर, नयाँ कार्यविधिअनुसार उनले समेत १६ जना सुरक्षाकर्मी पाउनेछन् ।
पूर्वराजाका स्वकीय सचिव सागरप्रसाद तिमल्सिनाले नयाँ कार्यविधिअनुसारका सुरक्षाकर्मीले अपुग हुने भन्दै पुर्नविचार गरिदिन बिहीबार मात्रै गृहमन्त्रालयमा पत्र नै पठाएका छन् । पत्रमा हाल कायम रहेका सुरक्षाकर्मी सशस्त्र प्रहरीतर्फबाट ९९ जना रहेको उल्लेख छ । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा गत शुक्रबार बसेको सुरक्षा प्रमुखसहितको बैठकले कार्यविधिविपरीत हुने सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो । नयाँ कार्यविधिअनुसार पूर्वराजा, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति र पूर्वप्रधानन्यायाधीशलाई आजीवन, पूर्वगृहमन्त्रीलाई १० वर्षसम्म सुरक्षाकमी दिइने उल्लेख छ । यसैगरी, पूर्वप्रहरी महानिरीक्षकलाई समेत बाचुञ्जेल २ जना सुरक्षाकर्मी दिइने कार्यविधिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार