नेपाल कम्युनिष्ट पार्टी सत्ता देखि सडकसम्म

द्वारा प्रकाशित गरिएको हो |
February 8th, 2021
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

बर्तमान अस्थिर राजनितिको अबस्था लाई विश्लेषण गर्दा प्रष्ट चित्र के आउँछ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सत्ता देखि सडक सम्म छ्यापछ्याप्ती छ । दिनहुुँ जसो कहि न कहि सभा जुलुस भए कै छन् र एक÷अर्कालाई कटांक्ष गर्न पनि तल्लो स्तरसम्म ओर्लिएकै छन् । यहि मेसोमा सत्ता बाहिरका प्रमुख राजनितिक शक्तिहरु पनि संविधानको रक्षाका लागि भनी सडक मै देखिएका छन् । यस्तो अबस्थामा प्रधानमन्त्री के.पी.शर्मा ओलीले गर्ने भनिएको मध्याबधी निर्बाचन पनि हुन सक्ने स्थिति देखिदैन । लोकतन्त्रवादी शक्तिहरु सिद्धान्ततः संविधानवाद, विधिको शासन र कानुनी राज्यमा बिश्वास गर्ने हुदा लिकबाट चिप्लिएको संविधानलाई ट्रयाकमा ल्याउनको लागि सडक आन्दोलन गर्नु स्वभाबिक ठहर्छ । तर कम्युनिष्ट पार्टी चाहे सत्तारुढ हुन् या सत्ता बाहिर जहाँ हुन् उनिहरुको राजनैतिक र सैद्धान्तिक धरातल हेर्दा कम्युनिस्ट र कम्युनिस्ट नै हुन् ।उनिहरु सिद्धान्तः अलोकतान्त्रिक, अधिनायकवादि, सर्बसत्ताबादी नै हुन । अझ एक कदम अगाडि बढेर भन्ने हो भने कम्युनिस्टहरु निरंकुश र तानाशाह नै हुन् । यसमा कुनै द्विबिधा नै छैन् । हाल फुटको मुखमा रहेको नेकपा(नेकपा) एकता पूर्व कोहि माओवादप्रति आकर्षित देखिन्थे भने कोहि जनताको बहुदलिय जनबादको वकालत गर्दै गर्दथे । जब ती दुई कम्युनिस्ट पार्टी माओबादी केन्द्र र एमाले एकीकृत भए त्यसबाट उत्साहित भएर जनतामा सपना बाँड्न सफल भए । २०७४ को प्रतिनिधिसभाको चुनाबमा झण्डै दुई तिहाई बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जनतामा बाँडेको अश्वासन पूरा गर्नुको सट्टा भ्रष्टाचारमा लिप्त देखियो । भ्रष्टाचारका एक पछि अर्को शृङ्खला दिनहुँ जसो बाहिरन थाल्यो । त्यो भ्रष्टाचारको शृङ्खला अझै रोकिए को छैन । ट्रान्सप्यारेन्सि इन्टरनेशनल को प्रतिबेदन बाट के बुझिन्छ भने नेकपा सरकार को भ्रष्टाचारको पाइला रोकिनुको सट्टा झन उकालो लागेको
प्रष्टिन्छ । सुखी नेपाली समृद्ध नेपालको सपना मन भित्र थुप्रो ईष्र्या र डाहा बोकेर प्रत्यक बिहानमा गायत्री मन्त्र जपे जस्तै हुन गयो । यसबाट के बुझ्न सजिलो हुन्छ कि कम्युनिष्टहरु गरिब, किसान, मजदुर अनि शोषण र उत्पीडनमा परेका जाति वर्ग र क्षेत्रको उत्थानको मन्त्र जप्दै देश लुट्दै गरेको अवस्था घाम जस्तै छर्लङ्ग छ । यति हुँदाहँुदै पनि नेपालीमा अझै पनि चेतना र जागरणको कमि देखिन्छ । यद्यपि यसो भनी रहदा कसैकसैको भावनामा ठेस पुग्ला तर यथार्थतता त्यही हो । कमि कमजोरी सबैमा होला, छैन भनेर जिद्दी गर्नु पनि ब्यर्थ छ तर मात्रात्मक रुपमा पक्कै पनि भिन्नता छ । तथापी हालैको ताजा राजनितिक घटनाक्रमले सबै सचेत नागरिकहरुको ध्यान सत्तारुढ दल नेकपा (नेकपा) तिरै तानिएको छ अब के हुन्छ भन्ने जस्ता कतै उत्साह कतै चिन्ता र चासो का साथ ।
माओबादी चिन्तनको धङधङी बोकेका र झण्डै संसदीय अभ्यासमा अभ्यस्त भइ सकेका दुई कम्युनिस्ट पार्टीको एकताले साच्चै भन्ने हो भने कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समुन्द्रमा हराएको डुंङ्गा जस्तो सैद्धान्तिक बिचलनमा फसेको हो कि जस्तो देखिदै गरेको भान हुन्छ । प्रचण्ड ओलिले एकता गर्दा उनीहरुमा जुन रुपले सैद्धान्तिक र बैचारिक बहस र छलफल हुनु पथ्र्याे, त्यो हुन नसक्दाका कारण आज यो स्थिति देखा पो परेको हो कि भन्ने अनुमान पनि स्वभाबिक ठहर्छ । तर आजभोलि प्रचण्ड भन्दै छन्, एकताको बेला एकीकृत नेकपाको राजनैतिक, बैचारिक र सैद्धान्तिक आधार माक्र्सवाद र लेनिनबाद नै मार्ग निर्देशक सिद्धान्त
थियो । द्वैद मनस्थिति मा बिभक्त सत्तारुढ दल नेकपा(नेकपा) को बर्तमान नेपालको सम्बिधान २०७४ लाई माक्र्सवाद र लेनिनबादी दृष्टिकोणबाट बिचार गर्दा कम्युनिस्टहरु संविधानबादमा अटल बिश्वास राख्ने राजनितिक शक्ति होइनन् । तथापी विश्व राजनितीकमा देखा परेको लोकतान्त्रिक लहरबाट अछुतो रहन सकेनन् र अन्ततः लोकतन्त्रको मुलधारमा समाहित हुन करै लाग्यो । आजको दुनियाँ केही अपबाद बाहेक लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा टेकेर आ–आफ्ना राज्य संचालित छन् । तथापी यदाकदा कम्युनिस्टहरुमा शब्दमा मात्रै किन नहोस् त्यो पुरानो धङधङीले अझै छोडेको देखिदैन । सत्तारुढ दल भित्रको आपसी वैमनश्यता र अन्तरसंघर्षले सरकारको नेतृत्व गरेको दल मात्रै प्रभाबित होइन कि सिङ्गो मुलुक नै अन्धकारमय बनाएको छ । साह्रा संबैधानिक मूल्य र मान्यतालाई कुल्चिएर गरिएको संसद विघटनले नेपाली समाजको हर क्षेत्रलाई प्रभावित पारेको छ । सचेत र जागरुक नेपालीहरुलाई कतै प्रधानमन्त्री ओलिको दम्भ र अहंकारले देशको भबिष्य अन्धकारमय हुने हो कि भन्ने चिन्ता र चासोले पिरोलेको अनुभव गरिदै छ । यसो हेर्दा सिङ्गो मुलुक एका तिर छ भने प्रधानमन्त्री के.पि.शर्मा ओलि र उन्को पछि देखिने एउटा झुण्ड मात्र एकातिर देखिन्छ । यति हुदाहुदै पनि स्वतन्त्र न्यायपालिका र त्यहाका न्यायमुर्ति प्रती देखिएको अबिश्वासले प्रबुद्ध बर्ग ज्यादै चिन्तित देखिनु बिडम्बना नै हो । यदि यस्तो चिन्ता सत्य साबित भयो भने निःसन्देह देशले धेरै घात प्रती घात र पिडादायी अबस्था नचाहेर पनि ब्यहोर्न बाध्य हुने स्थितीका पुर्ब संकेतहरु देखिदै छ्न । यसर्थ यो अनिश्चय को तुयालो चिर्नको लागि एक मात्र सहज बिकल्प सर्बोच्च अदालतको संबैधानिक इजलासको हातमा छ । धेरै राजनितिक बिश्लेषकहरुको आशंका छ प्रधानमन्त्री के.पि.शर्मा ओलिले संसद विघटन त्यसै गरेका छैनन् । सम्बन्धित सबै तहमा सेटिङ्ग मिलाएर मात्र प्रतिनिधिसभा भङ्ग गरेका हुन भन्ने अनुमान र आशंका आशा गरौ फगत अनर्गल हल्ला मात्रै होस् । हुन त मनको बाघल्े मात्रै खाएको पनि हुन सक्छ तर प्रधानमन्त्री ओलिको आत्मबिश्वास युक्त अभिब्यक्तीले अझै मानिसहरुमा संसयको बादल मडारी राखेको छ । तसर्थ यस्ता अँधेरा कुनामा देश र जनता प्रती गरिने षड्यन्त्र बिरुद्ध खबरदारी गर्न चुक्न हुदैन । नेपाली काङ्ग्रेस जस्तो संविधानबाद र आबधिक निर्बाचनमा बिश्वास गर्ने पार्टी पनि सडक मै उत्रिएको छ । यस मानेमा कांङ्ग्रेस सडकमा ओर्लिएको हो कि संसद पुर्नस्थापना पनि नहुने र तोकिएको समयमा चुनाब पनि नहुने लक्षणले एउटा लोकतान्त्रिक र जिम्मेवार पार्टीको हैसियतले खबरदारी गर्न सडकमा उत्रिएको छ । बिद्यमान राजनितिक परिस्थितीको बारेमा जनतालाई सुसुचित, सचेतना र जागरण गराउनु पनि आर्को कर्तव्य हो प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस को।त्यसै ले नेपाली कांङ्ग्रेस पनि ठूलो बलिदानीबाट निर्माण भएको संघयि लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षार्थ देशब्यापी रुपमा जागरण अभियानमा जुटेको छ । नागरिक समाजका अगुवाहरु पनि संवैधानिक सर्बोच्चता र बिधिको शासनबाट मुलुक बाहिर नचिप्लियोस भनि सचेत गराइराखेका छन् । अहिले कानुनी राज्य र बिधिको शासनको पक्षमा एउटा ठूलो जनमत तयार भएको छ अपबादको रुप प्रधानमन्त्री ओलिको एउटा झुण्ड बाहेक । यस्तो जनमतलाई संवैधानिक इजलासका न्यायमुर्तीहरुबाट अन्यथा होला भन्न सकिँदैन । तथापी प्रधानमन्त्री ओलिको चुरिफुरी हेर्दा ढुक्क हुने अबस्था पनि छैन । तसर्थ जनतामा सुसुचित गराउने चेतना र जागरण अभिबृद्वि गर्ने कार्यमा सचेतता पुर्बक निरन्तर लागि रहनु पर्ने टडकारो आबस्यकता छ ।
अब फेरि पछाडी फर्केर सत्तारुढ दल भित्र कै दुई चरित्र र दुई रुप बारे केही चर्चा तिर लागौ । अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिधिबत रुपमा फुटिसकेको अवस्था छैन । पार्टी विधानतः अझै उनीहरु एकै ठाउँमा भएको प्रष्ट छ । केबल मन फाटेको र फुटेको मात्र हो । प्रचण्ड माधब समूह र ओलि समूह दुबै अहिले सडकमा छन् । अझ प्रष्ट भाषामा भन्ने हो भने सरकारी नेकपा र गैरसरकारी नेकपा सडकमा भेटिन्छन् । त्यही नेपालको संविधान २०७२ को व्याख्या ठिक बिपरित ढङ्गले गरि रहेको सुनिन्छ । मानौ जस्ले जुन आँखाले हेर्यो त्यही देखि राखेको छ । तर यथार्थ त्यस्तो होइन रहेछ भन्ने कुरा संविधानबिद्हरुका बहसहरुले प्रष्ट गर्छ । संविधान जस्तो देशको मुल कानुनलाई संरक्षण गर्नु सम्पुर्ण जागरुक र सचेत नागरिकको दायित्व पनि हो । अहिलेको यो तरल र अस्थिरताको भुमारीबाट जोगाउदै सुनिश्चित भबिष्यको लागि कुनै पनि सचेत नागरिक निरपेक्षरुपमा बस्न मिल्दैन । यो असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले संविधानको अपब्याख्याका साथ गरिएको संसद विघटनलाई बदर गर्दै सार्बभौमसत्ता नेपालीको चहाना माथि खेलबाड र कुठाराघात गर्ने प्रधानमन्त्री ओलि प्रवृत्तिलाई निरुत्साहित गर्नुको बिकल्प छैन । देशका प्रमुख राजनितिक शक्तिहरु लिकबाट उछिट्टिएको संविधानलाई पुनःसहि बाटोमा ल्याउन समाजका सबै प्रबुद्ध बर्गको जिम्मेवारी हो । अहिले सडकमा देखिएका नेपाली काङ्ग्रेस, नेकपा कै प्रचण्ड नेपाल समूह, राजपा, अन्य सानादल र नागरिक समाजको संवैधानिक सर्बोच्चता, बिधिको शासन र कानुनी राज्य मान्यता कायम गराउने एक मात्र बिकल्प हो बिघठित संसदको पुर्नस्थापना । यसमा अब कुनै दुबिधामा नपरिकन राजनितिक र नागरिक जागरणको आबश्यकता छ । सरकारी र गैरसरकारी कम्युनिष्टहरुको आन्तरिक शक्ति संघर्षले सिङ्गो मुलुकलाई निस्पष्ट अन्धकारमा धकेल्ने अधिकार कसैलाई छैन । अतः सरकार देखि सडक सम्मका गतिबिधीलाई मनन गर्दै सहज निकासको बाटो खोज्न सर्बोच्चको न्यायपुर्ण भुमिका अपेक्षित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार