सहिदको अपमान नगरौं

द्वारा प्रकाशित गरिएको हो |
February 1st, 2021
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

काठमाडौं । छसस । माघ दश गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा सहिदहरुको स्मरण गरी सहिद दिवस मनाउने नेपालमा प्रचलन छ । यो पटक पनि मनाइयो सहिद दिवस । आम नेपालीलाई थाहा छ सहिदको लाइनमा पछिल्लो समयमा आएर राजनैतिक आस्थाका आधारमा राजनैतिक दल र तिनका नेताहरुले मुठभेदमा ज्यान गुमाएकाहरु देखि लिएर अन्य विविध घटनाक्रममा ज्यान गुमाएका र झुक्किएर गोली लागि ज्यान गुमाएकाहरुलाई समेत सहिदको पंक्तिमा राखिने क्रमले खास सहिदहरुको अवमूल्यन भएको छ ।
जनता र मुलुकको निमित्त निरंकुश र तानाशाही शैलीका विरुद्ध आवाज उठाउने क्रममा सहादत प्राप्त गरेका सहिदहरुका स्मरणमा जे जति रुपमा सहिद सप्ताह मनाउनु पर्ने हो त्यो नभई केवल झारा टार्ने काम मात्र यहा हुने गरेको छ । सहिदहरुका सालिकमा फूलमाला लगाउँदैमा एक मिनेट मौन धारण गर्दैमा र एक दुई(गल्ली परिक्रमा गर्दैमा मात्रै बास्तविक रुपमा सहिद दिवसको अर्थ हुँदैन । सहिदहरुका बलिदानीको अर्थ र औचित्य के हो ? त्यसको निक्र्याैल निकाल्दै उनीहरुको सदिक्षा के थियो सोही अनुरुपको कार्य गरेर मात्र सहिद दिवसले सार्थकता पाउँदछ । यसका अतिरिक्त सहिद परिवारलाई सम्मान दिनु पनि सक्नु पर्दछ जनगुनासाहरु यही छन् । सहिदहरु प्रति साँच्चिनै सम्मान गर्ने हो भने सहिदहरुले कस्तो अवस्थामा बलिदानी दिएका थिए, उनको लक्ष्य के थियो ? त्यसको समेत लेखाजोखा गरेर उनीहरुले देखाएको मार्ग दर्शनलाई अवलम्वन गर्दै अगाडि बढेमा मात्र साँचो अर्थमा सहिदप्रति सम्मान र सहिद दिवस मनाएको सार्थकता हुन्छ । तर लोकतन्त्र आएपछि त सवारी साधन दुर्घटनामा परिमरेका, व्यक्तिगत झगडामा मरेका, लेनदेन व्यवहारमा परि मरेकाहरुलाई समेत राजनैतिक आस्थाका आधारमा, सहिद घोषणा गरिने क्रममा जारी छ । यस्ता क्रियाकलापले वास्तविकतामाथि तुवालो लाग्ने काम भएको छ ।
स्मरणीय छ, तानाशाही राणाशासन विरुद्ध आवाज बुलन्द पार्नका अतिरिक्त नेपाल भाषामा व्याकरण र पाठ्यसामाग्री लेखेर प्रचार प्रसार गरेकै कारण शुक्रराज जोशी(शास्त्री)लाई सन् १९९७ माघ १० गते टेकूस्थित खरीको रुखमा यातना दिदै झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । त्यसपछि क्रमश माघ १३ गते सिफलमा धर्मभक्त माथेमा र माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथचन्द्र ठकुरीलाई शोभाभगवतीमा गोली हानी हत्या गरिएको थियो । यी नै सहिदहरुका सम्झनामा हरेक सालको माघ १० देखि १६ गतेसम्म नेपाल सरकारले पनि साताव्यापी रुपमा झारा टार्नको लागि मात्र सहिद सप्ताह मनाउँदै आएको छ । नेपाल सरकारले यसरी एक दिन झारा टार्ने काम गर्दछ र वर्षैभरी सहिद र सहिदको बलिदानीलाई चटक्कै बिर्सिदिने काम गर्दछ, यो नै सहिदप्रतिको ठूलो अपमान भएको जन गुनासाहरु छन् ।
छिन्ताङकाण्डा सहिद ओझेलमा
यसैगरी विभिन्न स्थान र मितिमा घटेका घटनाक्रमहरुमाझै २०३६ सालको कार्तिकमा घटित प्रसिद्ध धनकुटाका छिन्ताङकाण्ड आम नेपालीको निमित्त थाहा भएकै हुनुपर्छ । तत्कालिन पञ्चायति शासनको कालरात्रीमा घटित त्यो जघन्य घटनाले खम्बूहरुको बाहुल्यता रहेको खम्बुवानको पूर्वी भूभागको धनकुटा छिन्ताङमा एकाएक १५ जना खम्बूहरुको नाम नेपाली शहीदको सचिमा सामेल गर्यो । पञ्चायती कालरात्रीमा हुने गरेको जातीय र वर्गीय असमानताको विरुद्ध आवाज उठाउँदा यसरी खम्बुवानका नागरिकहरुले आफ्नै घर दलानमा वीरताकासाथ रगतले हस्ताक्षर गरे । जुन नामावली यसप्रकार छन्ः गोपाल आनन्द राई, लाखमान साधु राई, रणध्वज राई, गंगाबहादुर तुप्रिहाङ राई, केसरमान राई(१३ वर्षीय), भैरव राई, झगेन्द्र राई, हाङखीम(साइली) राई, पुत्रमान राई, चन्द्रबहादुर दमाई, गुम्ने दमाई, टंक विश्वकर्मा, गणेश बहादुर विश्वकर्मा, धनविरे दमाई, बलबहादुर खत्री रहेका छन् । यी शहीदहरुले केका लागि कस्तो अवस्थामा आफ्ना जीवनको आहुति दिए, गम्भीरताका साथ लिने गरौं । राजनैतिक आस्थाका आधारमा, हचुवाको भरमा शहीदको सूचीमा नाम थपेर सँधै शक्ति र कुर्सी केन्द्रीत राजनीतिमा रमाएर सहित दिवस मनाउनु भनेको वास्तविक सहिदको अपमान गर्नु नै हो । सच्चा सहिद दिवस त त्यो दिनलाई मान्न सकिन्छ, जुन दिन सहिदले देखाएको बाटोमा राजनैतिक दलका नेताहरु हिड्ने छन् । आदर्शको नारा दिएर मात्र सहिदको सम्मान हुन सक्दैन । हामीले लखन थापा देखि राणाकाल हुँदै पछिल्लो समयमा धनकुटाको छिन्ताङकाण्डमा मारिएका सहिदहरुका साच्चै सम्मान र उनीहरुको सपनालाई साकार तुल्याउने प्रण गर्ने हो भने उनीहरुले जुन सपना देखेर आफुलाई बलिबेदीमा चढाए, त्यही सपना पुरा गर्ने दिशामा गणतान्त्रिक नेतृत्वतहले ध्यान दिनुपर्छ । साथै कुनै पनि कारणबाट मारिने र मर्नेलाई आन्दोलन वा यातायात अवरोधको बलमा केवल राजनैतिक आस्थाको आधारमा शहीद घोषणा गर्ने परिपार्टीलाई निरन्तरता दिँदै, सहिद शब्दको गरिमाकै अवमूल्यन नगरौं । यस बारे गम्भीर हुन गणतान्त्रिक दलहरुलाई आम नेपाली आग्रह गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार