दलित उत्थानको नाममा अरबौं–अरब खर्च

द्वारा प्रकाशित गरिएको हो |
January 19th, 2021
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

रिठ्ठे झाँक्री
काठमाडौं । छसस । मुलुकमा प्रत्येक परिवर्तनहरु पश्चात सामाजिक कुरितिलाई मध्य नजर गर्दै नियम, कानूनहरु तर्जुमा नभएका होइनन् तर ती कानूनहरु व्यवहारमा परिवर्तन हुँदै भएनन् । जसले गर्दा समाजबाट जातपात, छुवाछुत, उचनिच जस्ता विभेद यथावत नै रहिरह्यो एक इन्च पनि तलमाथि हुन सकेन । जातपात छुवाछुत अन्त्यको लागि अब नियम कानून निर्माण गर्ने तहमा बस्नेहरुले नै व्यवहारमा प्रस्तुत हुनुको विकल्प देखिदैन । नियम कानूनमात्र बनाएर हुँदैन त्यसलाई व्यवहारमा पनि परिणत गराउनु पर्छ । होइन भने सदियौ जडा गाडेर बसेको दुषित निचउचको विभेद नेपाली समाजबाट निराकरण हुन सक्दैन ।
दलित उत्थान र थिचोमिचो जस्ता विभेद निराकरण गर्ने नाममा यहाँ च्याउँझै संघसंस्थाहरु नउम्रेका भने होइनन् । हरेक वर्ष दाताहरुले दलित उत्थानको नाममा नेपालमा अरबौं अरब लगानी गरिरहेका
छन् । यसरी दाताबाट प्राप्त भएका रकमहरु कहाँ–कहाँ कुन–कुन विषयमा खर्च भइरहेका छन् सरकारी र सम्बन्धित निकायबाट प्रभावकारी रुपबाट अनुगमन समेत हुन सकिरहेको छैन । यसरी संघसंस्था खोलेर डलर खेती गर्नेहरुको होड नै चलिरहेको छ नेपालमा । महिनाको ५० हजार भन्दा माथि घरभाडा तिरेर कार्यालय सञ्चालन गर्ने यी दलितका नाममा संस्था खोल्नेहरुको आर्थिक हैसियत सबैलाई थाहै भएको कुरा हो । सयौका संख्याको दलित एनजिओहरुले दलित मुखि काम गर्छाै भन्दै दातृ निकायहरुसँग करोडौं करोड रकम लिने गरेका छन् । दलितका नाममा खोलिएका संस्थाले दाताकै पैसाले मोजमस्ति गरिरहे पनि सम्बन्धित निकायले आँखा चिम्लिदिने काम गरिरहेको छ । यसरी दलितको नाममा संघसंस्था खोलेर नाजायज फाइदा लिनेहरुमा पूर्वमन्त्री देखि वर्तमान सभासदहरु समेत सक्रिय छन् । नेपालमा दलितको लागि भनेर छुट्टै बजेट छुटाउने काम डेनिडाको मानव अधिकार तथा असल शासन इकाइ हुगो र एक्सन एड नेपालले विगतदेखि नै सुरु गरिरहेको छ । विदेशी संस्थाले दलित उत्थानको लागि बजेट छुट्याएको पैसा दलित समुदायको लागि भने कागलाई बेल पाके सरह हुन पुगेको छ । यसरी दलित उत्थानको लागि विदेशीले पैसा दिएको बर्षाै बितिसक्यो । नेपालमा झण्डै दुई अरब रकम भित्रियो दलितको नाममा । यही पैसाले काठमाडौंको तारे होटलहरुमा दलित उत्थानको गफ चुट्दै गोष्ठी र सेमिनारहरुमा मस्त देखिन्छन् । उनीहरुको दस्ताबेज हेर्ने हो भने अधिकांश यस्ता कार्यक्रमहरु कैलाली, आछाम, डोटी, रुपन्देही, धनुषा र सप्तरी जिल्लाका विकट ठाउँहरुमा गरेका देखाउँछन् । यथार्थमा भन्ने हो भने माथि भनिएझै काठमाडौंका तारे होटलहरुमा दलितको नाममा आएका रकमले भोज खाने र मोजमस्ति गर्ने र रकम बाँडफाँड गर्ने गर्दछन् । यो परिपार्टी जहिलेसम्म चल्दछ र नेपालको नीति नियमहरु व्यवहारमा परिणत जबसम्म हुँदैन तबसम्म छुवाछुत जातपात नेपाली समाजबाट निमिट्यान्न हुनै
सक्दैन । यो कुरा ठोकुवाको साथ गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार