चाक्चाकूर पर्वमा उठेको भ्रम निवारण

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2021
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

(१३ पुष २०७७ को छहरा साप्ताहिकमा प्रकाशति ‘चाक्चाकुरको नाममा भ्रमको खेती नगरौं ं’ शिर्षक लेखको सन्दर्भमा उठेका प्रश्नहरुको सम्बन्धमा जिज्ञासा मेट्दै किरात कुलुङद्वारा भ्रम निवारण गर्दै संस्थाका अध्यक्ष चन्द्रसिंह कुलुङ यसो भन्छन् । स.)

चन्द्रसिंह कुलुङ

चाक्चाकुर शब्द कुलुङ पुर्खाहरुले उहिल्यै सृजना गरेको हो । यो केवल २०६३ सालमा फुत्त आएको शब्द होइन । यस शब्दसँग सांस्कृति ऐतिहासिकता गाँसिएको छ । कुलुङका पुर्खाहरुका पौरखले उत्पादन गरी भण्डारण गरिएका अन्नहरुमा सह रहोस भनी प्रकृतिलाई न्वागी भाग चढाई आराधना गरी नयाँ पाकेको बाली अन्य सदस्यहरुमा वितरण गरी खानपीन गरी खुशीयाली मनाउने परम्परा रहेको थियो । जसलाई कुलुङ भाषामा ‘मीनारी दाचाम् चासूम्लो’ भनिन्छ । उक्त कार्य पुष महिनामा पर्ने हुुनाले कुलुङहरुले आफ्नो भाषामा चाक्चाकुर पनि भन्ने गर्दछन् । पुष महिनाको मध्येभाग अर्थात पुष १५ का दिन कुलुङका पुर्खाहरु भेला भई भोजभतेर गर्ने हुनाले यसलाई ङायूखा अर्थात वनभोज पनि भन्ने गरिन्छ । पुष १५ मा रात लामो हुने भएको र त्यसपछि क्रमिकरुपमा रात छोटो र दिन लामो हुने विश्वास कुलुङहरुमा रहेकोले नयाँवर्षको आरम्भ हुने ठान्दछन् । नयाँ वर्षलाई कुलुङहरुले नीङदोङ भन्ने गरेका छन् । कुलुङहरुको पुष १५ देखी उभौली आरम्भ हुने गर्दछ । पुष १५ मा चिसो लामो रात हुने भएकाले कुखुराको चल्ला मर्ने सम्भावन बढी हुने भएकाले अण्डा कोरण गर्ने कार्य सकभर गराउन हुँदैन भन्ने जनविश्वास छ । तर पुष महिनाका सबै दिन अशुभ भन्ने कुरामा सत्यता छैन । कुलुङहरुले मनाउने चाड चाक्चाकुरको पुरा नाम ‘मीनारी दाचाम् चासूम्लो नीङदोङ चाक्चाकूर’ हो । तर जनजिब्रोमा सहजताकालागि उक्त चाडलाई चाक्चाकुर भनेर संक्षिप्तमा बुझने गरिएको छ । त्यसैले चाक्चाकुर शब्दले पुष महिनामात्रै नजनाई कुलुङहरुको पुर्खाहरुले स्थापित गरेको धरोहरको प्रतिककारुपमा स्थापित साँस्कृतिक ऐतिहासिकता बोकेको परम्परागत चाडपर्वसँग सम्बन्ध रहेको बुभ्mन सबैलाई आग्रह गर्दछौं ।
विगतमा एक जाति, एक भाषा, एक धर्मको नीतिद्वारा निर्देशित शासक प्रशासकहरुले अन्य विविध जातिहरुका परम्परागत संस्कार मनाउन बन्देज गराएका कारण चाक्चाकुरलाई अभ्यासमा ल्याउन सकिएको थिएन । नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस्खम्) ले २०६१ को चैत्र महिनाको २०–२७ सम्म नेपालभरका कुलुङ पुर्खाहरुको राष्ट्रिय सम्मेलन धरान, सुनसरीमा गराई उक्त सम्मेलनबाट पुष १५ लाई कुलुङहरुको नयाँ वर्षको रुपमा मनाउने र १५, १६ र १७ पुषलाई समग्र ‘मिनारी दाचाम चासूम्लो नीङ्दोङ् चाक्चाकूर’ पर्वलाई पुनस्र्थापित गरी पर्वको रुपमा मनाउन सर्वसम्मतीबाट पारित गरेकोले प्रारीम्भक चरणमा संस्थागतरुपमा मार्गनिर्देश मात्र गरेको
हो । कसैलाई अनिवार्य र वाध्यकारीरुपमा गरिएको थिएन र छैन पनि । तर जहाँ जहाँ कुलुङहरु रहेकाछन् त्यहाँ त्यहाँ स्वस्फूर्तरुपमा चाक्चाकूर पर्व मनाउने क्रम विस्तार हुँदै गइरहेकोले यस पर्वको प्रमाणिकीकरण स्वयं जिवन्त कुलुङ जातिनै हुन् । शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिकरुपमा धेरै पछि रहेका कुलुङ समुदायहरुको परम्परागत संस्कार संस्कृतिहरुको दस्तावेजिकरण भइसकेको छैन । तर प्रारम्भ भने भएको पाइन्छ । निकट भविष्यमा राज्यको स्रोतमा पहुँच पुगेमा स्तरिय दस्तावेजीकरण हुने अपेक्षा गर्न सकिन्छ । चाक्चाकुरलाई अनिवार्यरुपमा मान्नै पर्दछ भनी कहिल्यै भनिएको छैन तर कुलुङको पुर्खाहरुको साँस्कृतिक धरोहरको प्रतिक हो भन्ने जागरण मात्र कुलुङ संघले गर्दै आएको छ ।
कुलुङहरुले मान्ने परम्परागत संस्कार संस्कृतिमा भूमी पुजन अर्थात कुलुङ भाषामा तोस् भनिने पुजाको कार्यलाई महत्वपूर्णरुपमा मनाइन्छ । विशेष गरी कुलुङहरुले फागुन÷चैत्रको वीचमा याऊ तोस्, ज्येष्ठमा येनाम तोस् र असोजमा थोतोस् मनाउने अभ्यास गर्दै आएको छ । तोस् पूजामा कुलुङ समुदायका प्रमुख तीन समूहहरु सोत्तो, पील्मो र कूलूको प्रतिनिधित्व हुने गरी स्थापित तीन ढुंगाबाट निर्मित विशिष्ट शक्तिको स्रोत ‘सूक्तूलू’ मा विधिवत पुजा आजा गरी चारी तोस्खम् (भूमी पुजास्थान) मा समेत पुजा अर्चना गरी सुखशान्ति र समृद्धिको कामना गरिन्छ । तर चाक्चाकूर मनाउन ‘सूक्तूलू’ मै पुज्नु पर्ने वाध्यता छैन कहिँ पनि प्रकृतिको प्रार्थना गरी मनाउन सकिन्छ ।
पछिल्लो समयमा किराती एकताकालागि १९६३ वर्षभन्दा बढी नेपाल उपत्यकामा शासन गरेका किराती शासकहरुको स्मरणमा मनाइने वर्ष पुष महिनाको लगत्तै १ माघमा मनाइने भएकाले चाक्चाकूरको पछि येले दोङ (यलम्बर सम्वतको वर्ष) पनि जोड्ने गरिएको छ । कुलुङहरुले मनाउने चाक्चाकूरको व्यानरमा ‘मीनारी दाचाम् चासूम्लो नीङदोङ चाक्चाकूर येले दोङ’ भनी लेख्ने अभ्यास भइरहेको छ । चाक्चाकूर पर्वको अवसरमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका र संखुवासभाको शिलिचोङ गाउँपालिकाले तीन दिन सरकारी विदानै दिने गरेको छ । प्रदेश नं. १ को सरकार प्रमुखबाट चाक्चाकुरको अवसरमा शुभकामना दिएको नजिर छ । आमसञ्चार माध्यमले चाक्चाकुरका बारेमा प्रचार प्रसार गर्ने गरेकाछन् । जसबाट चाक्चाकूरको बारेमा सार्वजनिकरुपमै सम्प्रेष्ण भैरहेको ठान्दछौं ।
समयको माग अनुसार नयाँ पुस्ताकाहरुले विविध क्रियाकलापहरुको आयोजना गरी चाक्चाकुर मनाउने
गर्दछन् । जसले गर्दा चाक्चाकुरप्रति नयाँ पुस्ताको संलग्नता बढेको पाइन्छ । परम्पराको संवाहकनै युवा पुस्ता भएकाले तिनीहिरुको संलग्नताले चाक्चाकुर पर्वको दिगोपना र निरन्तरतालाई सुनिश्चि गरेको छ भन्दा अत्युक्ति नहोला ।
चाक्चाकुर पर्व मनाउन विधि विधान सरल भएकाले पनि यसमा नयाँ पुस्ताको संलग्नता बढी पाइन्छ । यस पर्वमा खासगरी पाकेको नयाँ अन्नवाली आम कुलुङहरुले खानुभन्दा अघि प्रकृतिलाई चढाउन गरिने विधिनै प्रमुख हो । वर्तमान अवस्थामा सकेसम्म पुर्खाहरुले प्रयोग गरेका प्राकृतिक साधनहरुको प्रयोग गरी खाद्य सामग्रीका परिकारहरु बनाइन्छन् । खासगरी बाँसको ढुंग्रोभित्रै कोदोको ढिंडो, सिस्नु, फापरको तरकारी, मासुमंसा, दी आदिका परिकारहरु बनाउने प्रचलन छ । कुलुङ पुर्खा वा कुलुङ संस्कृतिसम्बन्धीका ज्ञाताबाट कुलुङहरुले प्रार्थना गर्ने प्रकृति भूमि, जल, वायु, आकास, वनजंगल, जिवजन्तु, भिर पाखा पखेरु आदि सबैलाई नमन गरी प्रकृतिलाई खाद्यसामग्रीको केही अंश अर्पण गरी कुलुङ पुर्खाहरुलाई प्रारम्भिकरुपमा नयाँ बालिको खाद्य सामग्री खान दिइन्छ । पुर्खाहरुले पनि खानु अघि प्रकृतिले जीवन निर्वाहका लागि अन्नबाली उब्जाउन दिएकोमा धन्यवाद दिंदै आगामी वर्षहरुमा पनि अन्नवाली भरीपूर्ण होस्, रोगव्याधी नलागोखस्, अन्नको सह रहोस् भनी कामना गर्दै खाद्यसामग्रीका केही अंश प्रकृतिलाई अर्पण गरी खान शुूरु गर्दछन् । त्यसपछि सबै सहभागिहरुलाई खानपीनको कार्यक्रम आरम्भ गरिन्छ । उक्त अवसरमा लामो समय नभेटिएका इष्टमित्र, चेलीबेटी, आफन्त संग दुःख सुख साटासाट गरिन्छ । कुलुङ पुर्खाहरुले सहभागिहरुलाई सरसल्लाह दिने गर्दछन् । आगामी दिनमा गर्नुपर्ने महत्वपूर्ण कार्यहरुको बारेमा ज्ञान दिने
गर्दछन् । आफुलाई लागेका कुराहरुको आदान प्रदान गर्दछन् । ति सबै कुराहरुलाई टिपोट गरी वर्तमान अवस्थामा कुलुङ संस्थाले वार्षिक योजना निर्माणमा समावेश गर्दछन् ।
चाक्चाकूर पर्वलाई कहिल्यै दसैं हो भनेर भनिएको छैन । किनभने दशैं पनि कुनै समुदायको पर्व हो । मिश्रित समुदायमा एक अर्काको चाडपर्वमा सरिक हुने परम्परा रहदै आएको छ । जस्ले सामाजिक सदभाव कायम गरीरहेको छ । नेपालमा १२५ जाति र १२३ भाषागत समुदाय भए तापनि आपसी सद्भाव कायम हुनुमा सबै जात जाति, सम्प्रदायले आफ्नो मौलिक तथा परम्परागत रीतिरिवाज, संस्कार संस्कृति, धर्म कर्म गर्न निर्वाध रुपमा पाएकैले सम्भव भएको हो । नेपालको संविधान, कानून, नीति, नियम, निर्देशिका तथा मार्गदर्शन, कार्यविधि आदि सवैले आफ्नो जाति वा समुदायको पहिचान झल्कने संस्कार संस्कृतिको संरक्षण गर्ने अवसर प्रदान गरिरहेको छ । यसो भए तापनि जातीय पहिचानका मौलिक संस्कार संस्कृतिको संरक्षणमा नलाग्ने हो भने त्यस जाति वा समुदायको मौलिक तथा ऐतिहासिक पहिचान हराएर जाने सम्भावना प्रबल बन्दछ । जो अन्य समुदायको संस्कार, संस्कृतिमा मात्रै रमाउँछन् र केवल आफ्नो क्षणिक स्वार्थपूर्तिमा मात्र नतमस्तक भई आफ्नो जाति वा समुदायको अस्तित्वप्रति बेवास्ता गर्दछन् उ आफ्नो समुदायबाट स्वयं टाढा हुँदै जाने हुन्छ । त्यसैले ‘मीनारी दाचाम् चासूम्लो नीङदोङ् चाक्चाकूर’ पर्वलाई कुलुङ पुर्खाहरुले धेरै पहिला सृजना गरेको साँस्कृतिक ऐतिहासिक सम्पदाका साथ समस्त मुलुक र विश्वसम्पदाकै अभिन्न अङ्गकोरुपमा बुझिदिनुहुन सबैलाई आग्रह गर्दछौं । साथै चाक्चाकुर सम्बन्धी थप जिज्ञासाहरु भएमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका पदाधिकारीहरुसँग सम्पर्क गर्नुहुन समेत आग्रह गर्दछौं ।
सम्पर्क नं. ९८४१३७५४१९÷९८५११५८०१२
ओलोनूवः धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार