सोताङ र पिल्मोङलाई किन ‘कुलुङकरण’ ?

द्वारा प्रकाशित गरिएको हो |
January 10th, 2021
अनुमानित पढ्ने समय : 4 मिनेट
फाईल तस्विर

यो पुस्तकको परिचय होइन, ‘किराती कुलुङ–२०७४’ पुस्तकमा उल्लेखित केही विषयप्रति असहमति हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, ललितपुरले प्रकाशन गरेको यो पुस्तकको लेखक हुन् इन्द्र बहादुर कुलुङ । उनले यसमा ‘कुलुङ’ सम्बन्धी संक्षिप्त जानकारी दिने प्रयत्न गरेका छन् । केही विषयमा भने उनमा अन्योल देखिन्छ । यहाँ उनको अन्योल हटाउने र भ्रम चिरेर यथार्थ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
असहमति १ः
पुस्तक पढ्दा थाहा हुन्छ– लेखक स्वयम् राई भन्न अनिच्छुक छन् । तर, राईभित्र पर्ने एउटा समुदाय हो कुलुङ ।
असहमति २ः
पृष्ठ २३१ मा रावाखोलाबाट राताप्खु, खप्दुलु, छेम्सी र ताम्सी गरी चार पुर्खाहरू हुँगा उपत्यका प्रवेश गरी विभिन्न स्थानमा बसे भन्ने उल्लेख गरिएको छ । पृष्ठ २०६ मा छेम्सी बसेको भूमिको नाम छेम्सी, ताम्सी बसेको भूमिको नाम छेस्खाम, खप्दुलु बसेको भूमिको नाम पिल्मोङ र राताप्खु बसेको भूमिको नाम सोत्तो उल्लेख गरिएको छ । त्यसो भए कुलुङ बसेको भूमि चाहिँ कुन ? पुस्तक मौन छ ।
पृष्ठ २३६ मा छेम्सी र छेस्खामलाई ‘कुलुङ’ अनि चारै पुर्खाहरू बसोबास गरेको समग्र भूमिलाई ‘महाकुलुङ’ नामले चिनिन्छ भनेर लेखिएको छ । त्यस्तै पृष्ठ २३७ मा छेम्सी, ताम्सी, पिल्मो, सोत्तोका सन्तानहरूको भाषा, संस्कृति ‘कुलुङ’ नै हो लेखिएको
छ । पुस्तकमा उल्लेखित विवरणले सोताङ, पिल्मोङ र कुलुङ तीन छुट्टाछुट्टै ठाउँको नाम हो भन्ने स्पष्ट हुन्छ । यी तीनै ठाउँको नाम मात्र फरक भएपनि कुनै कारणविना नै पिल्मोङ र सोताङलाई कुलुङभित्रको थरका रूपमा प्रस्तुत गर्न खोजिएको छ । पिल्मोङ र सोताङको नामबाट भाषा र संस्कृतिको नाम रहनु नहुने लेखकको मनसाय बुझिन्छ । ‘कुलुङ’को नामबाट भाषा र संस्कृतिको नाम ‘कुलुङ’ रहनुपर्ने लेखकको अडान स्पष्ट
देखिन्छ । तर, पिल्मोङले किन पिल्मोङ हुन नपाउने र सोताङले किन सोताङ हुन नपाउने ? उनीहरूकै नामबाट किन पिल्मोङ भाषा–संस्कृति र सोताङ भाषा–संस्कृति भन्न नपाइने ? उनीहरूलाई किन जबरजस्ती ‘कुलुङकरण’ गर्न खोज्दैछन् लेखक ? सोताङ र पिल्मोङ राईको अस्तित्वलाई किन कुलुङभित्र गाभ्न खोजिदै छ ? आफ्नो अस्तित्व बोध हुनेले अरूको अस्तित्वको पनि सम्मान गर्नुपर्दछ ।
सोताङ, कुलुङ र पिल्मोङ तीनै पुर्खाको जन्मथलो रावाखोला भएको पुस्तकमा उल्लेख छ । त्यसो भए पिल्मोङ र सोताङ राईको दोष केही नदेखाई उनीहरूको अस्तित्व समाप्त गर्न कुलुङभित्र किन समेटिनु पर्ने हो ? के कारणले एकै ठाउँबाट आएका पुर्खामध्ये कुलुङलाई महान् अनि सोताङ र पिल्मोङलाई चाहिँ तुच्छ मान्नुपर्ने
भयो ? सोताङ र पिल्मोङले आफ्नो अस्तित्व मेटेर कुलुङ हुनुपर्ने कुनै कारण लेखकले खुलाएका छैनन् । यथार्थमा कुलुङ, पिल्मोङ र सोताङ कोही ठूलो र कोही सानो होइनन् । यी तीन समुदाय परापूर्वकालदेखि आपसमा मिलेर बस्दै आएका छन् । भविष्यमा पनि सँगसँगै अघि बढेर आपसमा परम्परागत सम्बन्ध कायम राख्नुपर्ने आवश्यकता छ ।
असहमति ३ ः
लेखकले रावाखोलाबाटै सोताङ र पिल्मोङ पुगेर बसोबास गर्नेको भाषा र संस्कृति चाहिँ समाप्त भएर कुलुङको भाषा र संस्कृतिमा जीविका चलाइरहेको देखाउन खोजेका छन् । रावाखोलाबाट हुँगाखोला उपत्यकाभित्र कुलुङ, सोताङ र पिल्मोङ सँगसँगै पुगेको प्रमाण आपसमा भूमि साटासाट गरेको पुस्तकको पृष्ठ १६ मा उल्लेखित विवरणले पुष्टि गर्दछ । सोताङ, पिल्मोङ र कुलुङको किपट अहिले पनि अघोषित रूपमा प्रयोग भइरहेको छ । ‘तेरो मेरो किपट’ भन्ने शब्द प्रयोग नगरे पनि व्यवहारिक रूपमा पिल्मोङ, सोताङ र कुलुङले घाँस, दाउरा, मालिङ्गो इत्यादि प्राकृतिक स्रोत परापूर्वकालदेखि आआफ्नै किपटबाट उपभोग गर्दै आएका
छन् । आआफ्नो पुर्खाको किपटमा बसोबास गरेर आपसी सद्भाव कायम गरिरहेका छन् । उनीहरूबीच तेरो भाषा र मेरो संस्कृति भनेर कहिल्यै झैझगडा भएको छैन ।
सोताङले बोल्ने भाषाको नाम सोत्तोरिङ हो । कुलुङले बोल्ने भाषाको नाम कुलुरिङ हो । पिल्मोङले बोल्ने भाषाको नाम इरिङ हो । तर, लेखकले यस्तो वास्तविकताभित्र छिर्ने इच्छा र आँट गरेको देखिँदैन । बरु उल्टै लेखकले यस्तो सन्देश प्रवाह गर्न खोजेका छन्– ‘पिल्मोङको भाषा छैन, त्यसैले कुलुङको भाषा बोल्दछ । सोताङको भाषा छैन, त्यसैले कुलुङको भाषा बोल्दछ । उनीहरूको संस्कृति छैन, त्यसैले कुलुङको संस्कृति चलाउँछन् । ‘यसरी सोताङ र पिल्मोङ राईलाई कुलुङ बनाउनु खोजेको
देखिन्छ ।
सबैको अस्तित्व समान हो भन्ने भावना त्यागेर कुलुङलाई शिरोपर गर्दै सोताङ र पिल्मोङलाई लेखकले होच्याउन खोजेका छन् । कुलुङको पक्षमा उभिएर पिल्मोङ र सोताङको अपमान गर्नु लेखकको विभेदकारी चिन्तन हो । यो अर्को अधिनायकवादी चिन्तन हो । ‘कुलुङ भएर बस्छौ भने बस बस्दैनौ भने पिल्मोङ र सोताङलाई उठिबास लगाइन्छ’ भन्ने ढङ्गले लेखक प्रस्तुत भएका छन् । एकअर्काको अस्तित्वलाई सम्मान गरेर अघि बढ्नुपर्छ भन्नुको सट्टा सोताङ र पिल्मोङले कुलुङको हाँगा भएर बस्नुपर्छ भन्ने सोचले पुस्तकको प्रायः पाना भरिएको छ । पुस्तकमा कुलुङ मूल हो, पिल्मोङ र सोताङ शब्दले केही अर्थ राख्दैन भन्ने सूचना प्रवाह गर्न खोजिएको छ । जबकि रावाखोलाबाट हुँगाखोला उपत्यका प्रवेश गर्नुपूर्व न कोही सोताङ थिए, न कोही कुलुङ थिए, न कोही पिल्मोङ थिए । रावाखोलाबाट हुँगाखोला उपत्यकाभित्र प्रवेश गर्नुअघि सबै रावाखोले थिए भन्ने सोचले एकताको गाँठोमा कसिनु आवश्यक छ ।
असहमति ४ः
पृष्ठ १४८ मा अन्तरजातीय विवाहमा समाज राखी दालभात चलाएर बुहारीलाई परिवारको वैधानिकता दिने परम्परागत चलन भएको उल्लेख छ । लेखकले अन्य कुनै समुदायमा त्यस्तो प्रथा देखेर वा सुनेर लेखेका होला । तर यो प्रथा सोताङ, कुलुङ र पिल्मोङ समाजले अङ्गालेको देखिएको छैन । सम्बन्धित समाजमा नभएको कृत्रिम संस्कृति जोडेर अन्योल सिर्जना गर्नु आफैले आफ्नो महत्व घटाउनु हो ।
यो पुस्तकमा यस्ता थुप्रै मनगढन्ते विषयवस्तुले स्थान ओगटेको छ । पृष्ठ १६३ मा विक्रम संवत् २००७ सालअघि कुलुङ समुदायको मृत्यु संस्कारमा घुँडा खुम्चाएर गाड्ने चलन थिएन । तर महामारीबाट मृत्यु हुन रोकिन्छ कि भनेर २००७ सालदेखि घुँडा खुम्चाएर गाड्न थालिएको उल्लेख
छ । त्यसो भए २००७ सालभन्दा अगाडि नै नेपालबाहिर निस्केका कुलुङहरूले मृतकको घुँडा खुम्चाएर किन गाड्ने प्रथा चलाइरहेका छन्
त ? यस्तो विरोधाभासले लेखक आलोचनाको पात्र बनेका छन् ।
पुत्ला जलाउन नपरोस् !
पिल्मोङ र सोताङले कुनै पनि हालतमा कुलुङ नभैकन धर पाउने छैनन्, कुलुङको विकल्पमा सोताङ र पिल्मोङ शब्दको कुनै औचित्य छैन भन्ने मनशाय पुस्तकमा व्यक्त भएको छ । सोताङ र पिल्मोङ राईले भाषा र संस्कृतिको कुरा उठाउँदा ‘तिमीहरू कुलुङ नै हो, यसको कतै सुनुवाइ हुन सक्दैन’ भन्ने लेखकको मनशाय
देखिन्छ । पूर्वाग्रही भएर लेखकले पिल्मोङ र सोताङ शब्द सुन्ने धैर्यतासमेत गुमाउनुको अतिरिक्त पिल्मोङ र सोताङ राईको अस्तित्वप्रति दमन, घृणा र द्वेष भावना फैलाउन खोजेको स्पष्ट छ ।
कुलुङ भन्ने भूमिको नाम माप्य खालिङले राखेको भन्ने लेखकले आफ्नो पुस्तकको पृष्ठ १७ मा उल्लेख गरेका छन् । तर पिल्मोङ र सोताङ भूमिको नाम कसरी रहन गयो भन्ने विषयमा लेखकको ध्यान केन्द्रित भएको देखिँदैन, आश्चर्य यसमा छ ! रावाखोलाबाटै फरक फरक परिवार भएर हुँगाखोला उपत्यका आएको हुनाले सोताङ, कुलुङ र पिल्मोङ तीन समुदायमा विभाजित भएका हुन् । लेखकले उनीहरूबीच कस्तो भाषिक र सांस्कृतिक भिन्नता वा एकता छ भनेर अध्ययन गर्ने प्रयत्न समेत गरेको देखिएको छैन । सोताङ र पिल्मोङ समुदायको अध्ययन अलि टाढै राखौ, उनीहरूको भूमि टेकेर हिंडदासमेत कसैले नदेखोस् भन्ने पूर्वाग्रहयुक्त दृष्टिकोण लेखकमा
देखियो ।
सोताङ र पिल्मोङ समुदायले कुलुङ समुदायमा गाभिएर आफ्नो इतिहास खाल्डोभित्र पुर्न तयार हुन्छन् कि हुँदैनन्, भविष्यले नै बताउने
छ । सोताङ र पिल्मोङले कुलुङको पाइतालामुनि कुल्चिएर आफ्नो पहिचान समाप्त गर्न चाहन्छन् कि चाहँदैनन् भन्ने पनि भविष्यले नै बताउने
छ । अहिलेलाई यति चाहिँ भनिराखौं– लेखक आफ्नो पूर्वाग्रह र कुलुङकरणको सोचबाट मुक्त नहुने हो भने पुस्तक र लेखकको पुत्ला जलाउने दिन नआउला भन्न सकिँदैन । भोलि हुने सम्भावित जातीय विभेदको खतरा स्वयम् लेखकले नै बेहोर्नु पर्नेहुन्छ । यो लेखकलाई सुझाव मात्र
हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार